Skip to content
Opens in a new window
Listen to this chapter • 3:36

[1] हे मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरूमध्ये धेरैजना शिक्षक नहोओ, किनकि हामी सिकाउनेहरूको न्याय झन् कडाइकासाथ गरिनेछ।

[2] हामी धेरै प्रकारले ठक्‍कर खान्छौं। यदि कसैले आफूले बोलेका कुराहरूमा कहिल्यै भूल गर्दैनन् भने, ऊ आफ्नो सम्पूर्ण शरीरलाई वशमा राख्नसक्ने सिद्ध मानिस हुन्छ।

[3] जब घोडाहरूले हाम्रो आज्ञा मानून् भनेर तिनीहरूका मुखमा लगाम लगाउँछौं, तब हामीले त्यसका सम्पूर्ण शरीरलाई काबूमा राख्न सक्छौं।

[4] अथवा उदाहरणको लागि जहाजलाई लिऔं—तिनीहरू यति ठूला अनि तेज बतासद्वारा चल्नेभए तापनि नाविकले एउटा सानो पतवारको सहारा लिएर जहाजलाई आफ्नो इच्छाअनुसार, जता मन लाग्छ, त्यतैतिर लैजान्छ।

[5] त्यस्तै किसिमले हाम्रो जिब्रो पनि शरीरको एउटा सानो अङ्ग हो, तर यसले धेरै घमण्ड गर्छ। आगोको सानो झिल्काले ठूलो जङ्गलमा डढेलो लगाउँछ भनी विचार गर।

[6] अनि जिब्रो पनि एउटा आगोजस्तै नै हो, शरीरका अङ्गहरूमध्ये दुष्‍टताको संसार नै हो। यसले सम्पूर्ण व्यक्‍तिलाई दूषित पार्छ; त्यसको जीवनको सम्पूर्ण प्रवाहमा आगो लगाइदिन्छ, र यो आफू पनि नरकको आगोमा जल्छ।

[7] सबै किसिमका जन्तुहरू, चराहरू, घस्रने प्राणीहरू र समुद्रका जन्तुहरूलाई तह लगाइन्छ, र मानिसद्वारा तह लगाइएका हुन्छन्;

[8] तर जिब्रोलाई कुनै मानिसले तह लगाउन सक्दैन। यो घातक विषले भरिएको एउटा चञ्चल दुष्‍ट हो।

[9] जिब्रोले हामी हाम्रा प्रभु र पितालाई प्रशंसा दिन्छौं, अनि यही जिब्रोले हामी परमेश्‍वरको स्वरूपमा बनिएका मानिसहरूलाई सराप्छौं।

[10] अनि यसरी एउटै मुखबाट प्रशंसा र श्राप निस्कन्छन्! हे मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, यस्तो हुनुहुँदैन।

[11] के एउटै मुहानबाट ताजा पानी र नुनिलो पानी निस्कन्छ र?

[12] हे मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, के अञ्जीरको रूखले जैतुन अथवा अङ्गुरको बोटले नेभारा फलाउन सक्छ र? न ता नुनिलो पानीको मुहानले ताजा पानी निकाल्न सक्छ।

[13] तिमीहरूमध्ये को बुद्धिमान् र समझदार छ? त्यसले आफ्नो असल जीवनद्वारा र बुद्धिबाट आउने नम्रतामा काम गरेर त्यो देखाओस्।

[14] तर यदि तिमीहरू आफ्ना हृदयमा तीतो डाह र स्वार्थपूर्ण अभिलाषा राख्छौ भने, बुद्धिको घमण्ड नगर अथवा सत्यतालाई इन्कार नगर।

[15] यस्तो “बुद्धि” स्वर्गबाट आएको होइन, तर यो ता सांसारिक र अनात्मिक हो, अर्थात् शैतानपट्टिबाटको हो।

[16] किनकि जहाँ तिमीहरूमा ईर्ष्या र स्वार्थपूर्ण अभिलाषाहरू छन्, त्यहाँ गडबडी र सबै किसिमका दुष्‍ट कामहरू पाइन्छन्।

[17] तर स्वर्गबाट आउने बुद्धिचाहिँ पहिले त शुद्ध हुन्छ, अनि शान्तिप्रिय, विचारशील, आज्ञाकारी, दया र असल फलले भरिएको पक्षपातरहित अनि निश्छल हुन्छ।

[18] शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन् र धार्मिकताको कटनी गर्छन्।

याकोब — Chapters