[1] येशू ख्रीष्टको प्रेरित पत्रुसबाट, परमेश्वरका चुनिएका, परदेशीहरू, जो पोन्टस, गलातिया, कापाडोकिया, एशिया तथा बिथिनिया प्रदेशहरूमा छरिएर रहेका छन्,
[2] येशू ख्रीष्टको आज्ञा पालन र उहाँको रगतको छिट्काउको निम्ति पवित्र आत्माद्वारा शुद्ध भएर परमेश्वर पिताको पूर्वज्ञानअनुसार छानिएकाहरूप्रति: अनुग्रह र शान्ति प्रचुर मात्रामा तिमीहरूसँग होऊन्।
[3] हाम्रा प्रभु येशू ख्रीष्टका पिता र परमेश्वरलाई स्तुति होस्! उहाँको अपार कृपामा येशू ख्रीष्टको मृतकबाट फेरि पुनर्जीवित पारिनुभएकोले जीवित आशामा हामीलाई नयाँ जन्म दिनुभएको छ,
[4] र कहिल्यै नाश नहुने, नबिग्रने वा लोप नहुने उत्तराधिकार दिनुभएको छ। यो उत्तराधिकार तिम्रो लागि स्वर्गमा राखिएको छ;
[5] जुन पछिल्ला दिनमा तयार पारिएको मुक्ति प्रकाशित नगरिएसम्म विश्वासद्वारा परमेश्वरको शक्तिले हामीलाई सुरक्षित गरिएको छ।
[6] सबै किसिमका परीक्षाहरूमा तिमीहरूले अहिले केही समयको लागि दुःख सहनुपरे तापनि यसमा तिमीहरू खूबै रमाउँछौ।
[7] आगोबाट खारिने, तर नष्ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्वास मूल्यवान् छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस्, अनि येशू ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस्।
[8] यद्यपि तिमीहरूले उहाँलाई देखेका छैनौ, तर पनि तिमीहरू उहाँलाई प्रेम गर्दछौ; र तिमीहरू अहिले उहाँलाई देख्दैनौ, तापनि तिमीहरू उहाँमाथि विश्वास गर्दछौ; अनि तिमीहरू अवर्णनीय, र महिमित आनन्दले भरिएका छौ;
[9] किनकि तिमीहरूको विश्वासको अन्तिम परिणाम भनेको तिमीहरूका प्राणको मुक्ति हो।
[10] तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा, अगमवाणी बोल्ने ती अगमवक्ताहरूले यही मुक्तिको खोजी र छानबिन गरेका थिए।
[11] तिनीहरूभित्र हुनुभएका ख्रीष्टको आत्माले, ख्रीष्टका कष्टहरू र त्यसपछि आउने महिमाको भविष्यवाणी गर्नुहुँदा, देखाउनुभएको समय र परिस्थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए।
[12] उनीहरूले आफ्नो होइन, तर तिमीहरूको सेवा गरेको कुरा तिनीहरूलाई प्रकट गराए, जतिखेर तिनीहरूले स्वर्गबाट पठाइनुभएको पवित्र आत्माद्वारा तिमीहरूलाई सुसमाचार प्रचार गर्नेहरूले अहिले तिमीहरूलाई भनेका कुराहरूबारे बताएका थिए। स्वर्गदूतहरूले पनि यी कुराहरू उत्सुकताका साथ हेर्न चाहेका थिए।
[13] यसकारण तिमीहरू आफ्नो मनलाई तयार गर। पूर्ण आत्मनियन्त्रित होओ। तिमीहरूको आशा त्यो अनुग्रहमाथि राख; जो येशू ख्रीष्ट प्रकट हुनुहुँदा तिमीहरूले प्राप्त गर्नेछौ।
[14] आज्ञाकारी बालबालिकाहरू भएका हुनाले अबोध अवस्थामा हुँदा तिमीहरूसित पहिले भएको दुष्ट अभिलाषाअनुरूप नचल;
[15] तर तिमीहरूलाई बोलाउनुहुने पवित्र हुनुभएझैं, तिमीहरू पनि तिमीहरूले गर्ने सबै कुरामा पवित्र होओ!
[16] किनकि पवित्र धर्मशास्त्रमा यसरी लेखिएको छ: “पवित्र होओ, किनकि म पवित्र छु।”
[17] किनकि तिमीहरू हरेक मानिसको कामलाई निष्पक्ष न्याय गर्ने पितालाई पुकार्दछौ, तिमीहरू यहाँ आफ्ना जीवन परदेशीझैं भक्तिपूर्ण भयमा बिताओ;
[18] किनकि तिमीहरू जान्दछौ, तिमीहरूका पितापुर्खाबाट तिमीहरूले पाएको खोक्रो परम्परादेखि छुटकारा पाएका छौ, चाँदी वा सुनजस्ता नाशवान् वस्तुबाट होइन,
[19] तर दाग र खोट नभएको थुमा, ख्रीष्टको बहुमूल्य रगतले छुटकारा पाएका छौ।
[20] उहाँ संसारको सृष्टिभन्दा अघि छानिनुभएको थियो, तर तिमीहरूका निम्ति यी अन्तिम सयममा प्रकट हुनुभयो।
[21] उहाँद्वारा तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, जसले उहाँलाई मृतकबाट जीवित पार्नुभयो र उहाँको महिमा गर्नुभयो; यसर्थ तिमीहरूको विश्वास र आशा परमेश्वरमाथि छ।
[22] अब तिमीहरूले सत्यको पालना गरी आफूलाई शुद्ध बनाएका छौ; र यसैकारणले तिमीहरूसित एक-अर्काका निम्ति विशुद्ध प्रेम छ, तिमीहरू एक-अर्कालाई आफ्नो हृदयबाट नै गहिरो प्रेम गर।
[23] किनकि परमेश्वरको जीवित र रहिरहने वचन, नाशवान् होइन, तर अविनाशी बीउद्वारा तिमीहरूको नयाँ जन्म भएको छ।
[24] पवित्र धर्मशास्त्रले भन्दछ: “सबै मानिसहरू घाँसझैं छन्, र तिनीहरूका सम्पूर्ण महिमा मैदानका फूलझैं छन्, घाँस ओइलाउँछ र फूल झरिहाल्छ,
[25] तर प्रभुको वचन सदा-सर्वदा रहिरहन्छ।” अनि यही वचन नै तिमीहरूलाई प्रचार गरिएको थियो।