Skip to content
Opens in a new window
Listen to this chapter • 4:51

[1] हे मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, हाम्रा महिमित प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्नेहरू भएकाले पक्षपात नगर।

[2] मानौं, तिमीहरूको सभामा एकजना मानिस सुनको औँठी र सुन्दर वस्त्र लगाएर आयो, अनि थाङ्ने वस्त्र लगाएको गरिब मानिस पनि आयो;

[3] यदि तिमीले सुन्दर वस्त्र लगाएको त्यस मानिसलाई विशेष ध्यान दिएर “तपाईंको लागि यहाँ असल ठाउँ छ” भन्छौ र त्यस गरिब मानिसलाई चाहिँ “तिमी त्यहीं उभ” अथवा “भुइँमा मेरो पाउनिर बस” भन्छौ भने,

[4] के तिमीहरू आपसमा पक्षपात गरेर दुष्‍ट विचारले न्याय गर्नेहरू भएनौ र?

[5] मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरूहो, ध्यानसित सुन! के संसारको नजरमा गरिब भएकाहरूलाई परमेश्‍वरले विश्‍वासमा धनी हुनालाई, अनि उहाँलाई प्रेम गर्नेहरू सबैलाई प्रतिज्ञा गर्नुभएको राज्यको उत्तराधिकारी हुनालाई चुन्‍नुभएको होइन र?

[6] तर तिमीहरूले त गरिबहरूलाई अपमान गर्‍यौ। के तिमीहरूलाई शोषण गर्ने धनीहरू नै होइनन्? के तिमीहरूलाई अदालतमा घिसारेर लाने तिनीहरू नै होइनन्?

[7] के तिनीहरूले त्यही आदरणीय नाउँको निन्दा गर्दैनन्, जुन नाउँले तिमीहरू बोलाइएका छौ?

[8] यदि “आफ्ना छिमेकीलाई आफूलाई झैं प्रेम गर” भन्‍ने पवित्र धर्मशास्त्रमा पाइने राजकीय आज्ञा तिमीहरूले पालन गर्दछौ भने तिमीहरूले ठीक गर्दैछौ।

[9] तर तिमीहरूले पक्षपात गर्‍यौ भने तिमीहरूले पाप गर्दछौ, र व्यवस्थाले तिमीहरूलाई व्यवस्था उलङ्घन गरेको दोष लगाउँछ।

[10] किनकि जसले व्यवस्थाका सबै कुरा पालन गर्दछ, तर एउटै कुरामा पनि चुक्यो भने त्यो सम्पूर्ण व्यवस्था उलङ्घन गर्नेजस्तै दोषी हुनेछ।

[11] किनकि जसले “व्यभिचार नगर्नू” भन्‍नुभयो, उहाँले “हत्या नगर्नू” पनि भन्‍नुभयो। यदि तिमीहरू व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरू व्यवस्था उलङ्घन गर्नेहरू भयौ।

[12] स्वतन्त्रता दिने व्यवस्थाद्वारा तिमीहरू जाँचिनेछौ भनेर त्यही किसिमले बोल र काम गर;

[13] किनकि दयालु नहुने हरेकलाई दयाविना न्याय गरिनेछ। दयालुले न्यायमाथि विजय गर्छ।

[14] हे मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, यदि कुनै मानिसले मसँग विश्‍वास छ भनी दाबी गर्छ, तर कामहरूचाहिँ गर्दैन भने, के फाइदा भयो र? के त्यस्तो विश्‍वासले तिनीहरूलाई बचाउन सक्छ र?

[15] मानौं, कोही दाजुभाइ-दिदीबहिनीहरूलाई वस्त्र अनि दैनिक भोजनको खाँचो छ,

[16] अनि तिमीहरूमध्ये कसैले तिनलाई “म तिम्रो भलो चिताउँछु, जाऊ अनि न्यानो बस, अघाउने गरी खाऊ” भन्यो, तर तिनका शारीरिक खाँचोहरूचाहिँ पुर्‍याइदिँदैन भने, त्यसबाट के फाइदा हुन्छ र?

[17] यस्तै किसिमले कामविनाको विश्‍वास पनि मरेतुल्य हुन्छ।

[18] तर कसैले भन्ला, “तिमीसँग विश्‍वास छ, तर मसँग कामहरू छन्।” कामविनाको तिम्रो विश्‍वास मलाई देखाऊ, र म तिमीलाई मेरो कामद्वारा आफ्नो विश्‍वास देखाउनेछु।

[19] परमेश्‍वर एक मात्र हुनुहुन्छ भनी तिमी विश्‍वास गर्छौ; यो असल कुरो हो! दुष्‍ट आत्माहरूले पनि त्यो विश्‍वास गर्छन् र काँप्‍तछन्।

[20] ए मूर्ख मानिसहो, के कामविनाको विश्‍वास व्यर्थ हो भनेर तिमी बुझ्दैनौ?

[21] आफ्नो पुत्र इसहाकलाई वेदीमा अर्पण गर्दा के हाम्रा पुर्खा अब्राहाम तिनका कामहरूद्वारा धर्मी ठहरिएका होइनन् र?

[22] तिमी देख्दछौ, तिनको विश्‍वास र काम एकसाथ मिलेर काम गर्दैथिए, अनि तिनले जे गरे, त्यसबाट तिनको विश्‍वास पूरा भयो।

[23] “अब्राहामले परमेश्‍वरमाथि विश्‍वास गरे, अनि यो उनको निम्ति धार्मिकता गनियो” भन्‍ने पवित्र धर्मशास्त्र पूरा भयो; र तिनी परमेश्‍वरका मित्र कहलिए।

[24] तिमीहरू देख्छौ, कि विश्‍वासले मात्र होइन, तर मानिसले जे गर्छ, त्यसबाट ऊ धर्मी ठहरिन्छ।

[25] यस्तै किसिमले राहाब वेश्या पनि, तिनले ती जासूसहरूलाई आश्रय दिएर अर्को दिशातिर पठाइदिएको कामबाट धर्मी ठहरिएकी थिइनन् र?

[26] जसरी शरीर आत्माविना मरेतुल्य हुन्छ, त्यसरी नै विश्‍वास पनि कामविना मरेतुल्य हुन्छ।

याकोब — Chapters