Skip to content
Opens in a new window
Listen to this chapter • 3:34

[1] तिमीहरूमा झगडा र लडाइँ के कुराबाट आउँछ? के ती तिमीहरूभित्र संघर्ष गर्ने स्वार्थी इच्छाहरूबाट आउँदैनन् र?

[2] तिमीहरू इच्छा गर्दछौ, तर पाउँदैनौ; त्यसैले तिमीहरू हत्या गर्दछौ। तिमीहरू लालच गर्दछौ, तर तिमीहरूले चाहेका कुराहरू पाउँदैनौ; त्यसैले तिमीहरू झगडा र लडाइँ गर्दछौ; तर पनि तिमीहरूले पाउँदैनौ, किनकि तिमीहरू परमेश्‍वरसित माग्दैनौ।

[3] तिमीहरू माग्दछौ, तर पाउँदैनौ; किनकि तिमीहरूले पाएका कुराहरू आफ्नो सुख-विलासमा खर्च गर्नलाई गलत उद्देश्य राखेर माग्दछौ।

[4] तिमी व्यभिचारी मानिसहरू, के संसारसितको मित्रता परमेश्‍वरतर्फको शत्रुता हो भनेर जान्दैनौ? जो संसारसित मित्र हुन चाहन्छ, ऊ परमेश्‍वरको शत्रु बन्छ।

[5] अथवा उहाँले हामीभित्र रहनदिनुभएको आत्माले धेरै डाहा गर्नुहुन्छ भनेर पवित्र धर्मशास्त्रले व्यर्थैमा भनेको हो भनी तिमीहरू ठान्छौ?

[6] तर उहाँले हामीलाई अझ बढी अनुग्रह दिनुहुन्छ। यसकारण पवित्र धर्मशास्त्रमा लेखिएको छ: “परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ।”

[7] यसकारण आफूलाई परमेश्‍वरकहाँ सुम्पिदेओ। शैतानको विरोध गर, अनि त्यो तिमीहरूदेखि भाग्नेछ।

[8] परमेश्‍वरको नजिक आओ र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ। हे पापीहरूहो, आफ्ना हातहरू शुद्ध पार! हे दोमनकाहो, आफ्ना हृदय शुद्ध पार!

[9] दुःखित होओ, शोकित होओ र रोओ! तिमीहरूका हाँसो शोकमा र तिमीहरूका आनन्द दुःखमा परिणत होस्।

[10] प्रभुको सामुन्‍ने आफूलाई नम्र तुल्याओ र उहाँले तिमीहरूलाई उच्‍च पार्नुहुनेछ।

[11] हे दाजुभाइ-दिदीबहिनीहरूहो, एक-अर्काको निन्दा नगर। जसले आफ्ना दाजुभाइ-दिदीबहिनीको विरुद्धमा बोल्छ वा उसलाई न्याय गर्दछ, उसले व्यवस्थाको विरुद्धमा बोल्दछ; र त्यसको न्याय गर्छ। जब तिमीहरूले व्यवस्थाको न्याय गर्छौ भने, तिमीहरूले त्यो पालन गरेका हुँदैनौ, तर न्यायकर्ता बनेर त्यसमाथि बसेका हुन्छौ।

[12] व्यवस्था दिने र न्यायकर्ता त एउटै मात्र हुनुहुन्छ, परमेश्‍वर जसले बचाउन र नाश गर्न पनि सक्नुहुन्छ; तर आफ्नो छिमेकीको न्याय गर्ने तिमीहरू को हौ?

[13] अब ध्यानसित सुन, तिमीहरू जो यसो भन्छौ, “हामी आज अथवा भोलि यस शहरमा, कि त्यस शहरमा जानेछौं, त्यहाँ एक वर्ष बिताउनेछौं, अनि व्यापार गरेर पैसा कमाउनेछौं।”

[14] तर भोलि के हुने हो, सो तिमीहरू जान्दैनौ। तिमीहरूको जीवन के हो? तिमीहरू त एकैक्षण देखा परेर लोप भइजाने तुवाँलो जस्तै हौ।

[15] यसको सट्टा तिमीहरूले “यदि प्रभुको इच्छा भएमा हामी बाँचेर यसो गरौंला, त्यसो गरौंला” भन्‍नुपर्नेथियो।

[16] तिमीहरू त अहङ्कारी योजनाहरूमा घमण्ड गर्छौ, यस्तो सबै घमण्ड दुष्‍टता हो।

[17] त्यसकारण जसले भलाइ गर्नुपर्छ भन्‍ने जानेर पनि त्यसो गर्दैन भने, त्यसले पाप गर्दछ।

याकोब — Chapters