Skip to content
Opens in a new window
Listen to this chapter • 3:16

[1] यसरी कुनै व्यक्‍तिले हामीलाई ख्रीष्‍टका सेवकहरू र परमेश्‍वरको गोप्य सत्‍यताको भण्डारे ठान्‍नुपर्छ ।

[2] यस सम्बन्धमा, भण्डारेहरू विश्‍वासयोग्य हुन आवश्‍यक छ ।

[3] तर म तिमीहरूबाट र मानिसको अदालतबाट जाँचिनु मेरो निम्ति अति सानो कुरा हो । किनकि म आफैँ पनि मेरो जाँच गर्दिनँ ।

[4] मेरो विरुद्धमा कुनै अभियोग भएको मलाई थाहा छैन, तर यसको अर्थ म निर्दोष छु भन्‍ने चाहिँ होइन । परमेश्‍वरले नै मेरो न्‍याय गर्नुहुन्‍छ ।

[5] यसकारण समय आउनु भन्‍दा अगि वा येशू आउनु भन्‍दा अगि कुनै पनि कुराको बारेमा न्‍याय नगर । उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्‍योतिमा ल्याउनुहुनेछ, र हृदयका उद्देश्‍यहरू प्रकट गर्नुहुनेछ । त्‍यसपछि हरेकले परमेश्‍वरबाट आफ्नो प्रशंसा पाउनेछ ।

[6] अब भाइहरू हो, तिमीहरूका खातिर मैले र अपोल्‍लोसले यी सिद्धान्‍तहरू प्रयोग गर्‍यौँ, ताकि तिमीहरूले “जे लेखिएको छ, त्‍यो भन्‍दा बाहिर नजाऊ” भन्‍ने भनाइको अर्थ बुझ्‍न सकौला । तिमीहरू एउटाको पक्षमा लागेर अर्काको विरुद्धमा नलाग भनेर यो भएको हो ।

[7] किनकि कसले तिमीहरू र अरू मानिसहरूका बीचमा फरक देख्छ ? तिमीहरूसँग भएको कुन कुरा तिमीहरूले सितैँमा पाएका होइनौ र ? तिमीहरूले त्‍यो सितैँमा पाएका छौ भने तिमीहरूले त्‍यसरी नपाएको झैँ गरेर किन घमण्ड गर्छौ ?

[8] तिमीहरूले चाहने कुराहरू तिमीहरूले अगाडि नै पाइसकेका छौ ! तिमीहरू अगिबाटै धनी भएका छौ ! तिमीहरूले हामीविना नै शासन गर्न सुरु गरेका छौ ! वास्तवमा, तिमीहरूले शासन गर भन्‍ने म चाहन्‍छु ताकि हामी पनि तिमीहरूसँगै शासन गर्न सकौँ ।

[9] किनकि मलाई यस्तो लाग्छ कि परमेश्‍वरले हामी प्रेरितहरूलाई मृत्‍युदण्ड पाउन लागेका मानिसहरूलाई जस्‍तै मारिनेको भिडको पछिल्लो लहरमा प्रदर्शनमा राख्‍नुभएको छ । हामी संसार, स्वर्गदूतहरू र मानिसहरूका बीचमा तमाशा भएका छौँ ।

[10] हामी ख्रीष्‍टको निम्ति मूर्ख छौँ, तर तिमीहरू ख्रीष्‍टमा बुद्धिमानी छौ । हामी दुर्बल छौँ, तर तिमीहरू बलिया छौ । तिमीहरूले आदर पाएका छौ, तर हामीले अनादर पाएका छौँ ।

[11] यो वर्तमान घडीमा हामी भोकाएका र तिर्खाएका छौँ; हाम्रा कपडाहरू फाटिएका छन्; हामी नराम्ररी कुटिएका छौँ; हामी घरवारविहीन भएका छौँ ।

[12] हामी आफ्नै हातले कडा परिश्रम गर्दछौँ । मानिसहरूले गिल्ला गर्दा हामी तिनीहरूलाई आशिष्‌‌ दिन्‍छौँ । सतावटमा पर्दा हामी सहन्‍छौँ ।

[13] मानिसले हामीलाई निन्‍दा गर्दा हामी दयापूर्वक बोल्‍छौँ । हामी संसारले इन्‍कार गरेको फोहोर कुराहरू र सबै भन्‍दा घिनलाग्दा कुराहरूजस्‍ता भएका छौँ र अझ पनि हामीलाई यस्तै ठानिन्‍छ ।

[14] तिमीहरूलाई शर्ममा पार्न मैले यो कुरा लेखेको होइनँ, तर मेरा प्रिय बालकहरूको रूपमा तिमीहरूलाई सुधार गर्नको निम्ति लेख्छु ।

[15] किनकि ख्रीष्‍टमा तिमीहरूका दस हजार अभिभावक भए तापनि तिमीहरूका धेरै जना पिता छैनन् । किनकि सुसमाचारद्वारा म ख्रीष्‍टमा तिमीहरूका पिता बनेँ ।

[16] त्‍यसैले, मेरो अनुकरण गर्ने होओ भनी म तिमीहरूलाई आग्रह गर्छु ।

[17] यसकारण, मैले तिमीहरूकहाँ मेरा प्रिय र प्रभुमा विश्‍वासयोग्य बालक तिमोथीलाई पठाएँ । मैले हरेक स्थान र हरेक मण्डलीमा सिकाएबमोजिम ख्रीष्‍टमा मेरो जीवन कस्तो छ सो उनले तिमीहरूलाई सम्झना गराउनेछन् ।

[18] म फेरि तिमीहरूकहाँ आउँदिनँ भन्‍ने ठानेर तिमीहरूमध्‍ये कोही अहंकारी भएका छन् ।

[19] तर यदि परमेश्‍वरको इच्‍छा भयो भने म त्‍यहाँ चाँडै नै आउनेछु । त्‍यसपछि म ती अहंकारीहरूको कुरा मात्र होइन, तर तिनीहरूको शक्‍ति हेर्नेछु ।

[20] किनकि परमेश्‍वरको राज्‍य कुरामा होइन, तर शक्‍तिमा छ ।

[21] तिमीहरू के चाहन्‍छौ ? म तिमीहरूकहाँ कसरी आऊँ, छडी लिएर वा प्रेम र नम्रताको आत्मामा ?

कोरिन्‍थीहरूलाई पावलको पहिलो पत्र — Chapters