Skip to content
Opens in a new window
Listen to this chapter • 4:12

[1] परमेश्‍वरको इच्‍छाद्वारा येशूका प्रेरित हुन बोलाइएका पावल र हाम्रा भाइ सोस्थेनसबाट ।

[2] कोरिन्‍थमा भएको परमेश्‍वरको मण्डलीलाई, ख्रीष्‍ट येशूमा समर्पित गरिएका र पवित्र जनहरू हुनको लागि बोलाइएकाहरूलाई । हामी हरेक ठाउँमा प्रभु येशू ख्रीष्‍टको नाउँ लिनेहरू सबैलाई पनि लेखिरहेका छौँ, जो तिनीहरू र हाम्रा प्रभु हुनुहुन्‍छ ।

[3] हाम्रा परमेश्‍वर पिता र ख्रीष्‍ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्‍ति ।

[4] ख्रीष्‍ट येशूले तिमीहरूलाई दिनुभएको परमेश्‍वरको अनुग्रहको निम्ति म परमेश्‍वरलाई सधैँ धन्‍यवाद दिन्‍छु ।

[5] उहाँले तिमीहरूलाई सारा बोली र ज्ञानमा हर प्रकारले धनी बनाउनुभएको छ ।

[6] ख्रीष्‍टको विषयमा भएको गवाही सत्‍य छ भनेर तिमीहरूका माझमा पुष्‍टि भएको छ,

[7] ताकि तिमीहरूले उत्सुकतासाथ हाम्रा प्रभु येशू ख्रीष्‍ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा आत्मिक वरदानहरूको अभाव नहोस् ।

[8] तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्‍टको दिनमा निर्दोष हुन सक भन्‍ने हेतुले उहाँले तिमीहरूलाई अन्‍तिमसम्म नै सुदृढ राख्‍नुहुनेछ ।

[9] परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्‍छ, जसले तिमीहरूलाई उहाँका पुत्र येशू ख्रीष्‍ट हाम्रा प्रभुको सङ्‌गतिमा बोलाउनुभयो ।

[10] अब भाइहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँद्वारा म तिमीहरूलाई आग्रह गर्छु, कि तिमीहरू सबै सहमत होओ र तिमीहरूका माझमा फाटो नहोस् । म आग्रह गर्छु कि तिमीहरू एकै मनको र एउटै उद्देश्यका साथ एकजुट होओ ।

[11] किनकि तिमीहरूका माझमा गुटबन्‍दी छ भन्‍ने कुरा क्लोएका मानिसहरूले मलाई बताएका छन् ।

[12] मेरो भनाइको अर्थ यही हो कि तिमीहरूमध्‍ये कसैले “म पावलको हुँ”, कसैले “म अपोल्लोसको हुँ”, कसैले “म केफासको हुँ” र कसैले “म ख्रीष्‍टको हुँ” भन्‍छौ ।

[13] के ख्रीष्‍ट बाँडिनुभएको छ र ? के पावल तिमीहरूका निम्ति क्रुसमा टाँगिए र ? के तिमीहरूले पावलको नाउँमा बप्‍तिस्मा लियौ र ?

[14] म परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छु कि मैले क्रिस्पस र गायसबाहेक अरू कसैलाई पनि बप्‍तिस्मा दिइनँ ।

[15] तिमीहरूले मेरो नाउँमा बप्‍तिस्मा लियौ भनी कसैले भन्‍न सक्दैन ।

[16] (मैले स्तिफनसको परिवारलाई पनि बप्‍तिस्मा दिएँ । त्‍यो भन्‍दा बढी अरू व्यक्‍तिलाई मैले बप्‍तिस्मा दिएको मलाई सम्झना छैन ।)

[17] किनकि येशूले मलाई बप्‍तिस्मा दिनलाई होइन, तर प्रचार गर्नलाई पठाउनुभयो । ख्रीष्‍टको क्रुस शक्‍तिहीन नबनाइयोस् भनेर उहाँले मलाई मानवीय बुद्धिका वचनहरूद्वारा प्रचार गर्न पठाउनुभएन ।

[18] किनकि क्रुसको सन्‍देश मरिरहेकाहरूका निम्ति मूर्खता हो, तर परमेश्‍वरले बचाइरहनुभएका मानिसहरूका लागि शक्‍ति हो ।

[19] किनकि यस्तो लेखिएको छ, “म बुद्धिमान्‌हरूको बुद्धि नष्‍ट गर्नेछु । म चतुरहरूको समझलाई बेकम्मा तुल्याउनेछु ।”

[20] बुद्धिमान् कहाँ छ ? शिक्षित कहाँ छ ? यो संसारको तर्क गर्ने कहाँ छ ? के परमेश्‍वरले संसारको ज्ञानलाई मूर्खतामा परिणत गर्नुभएको छैन र ?

[21] संसारले आफ्नो बुद्धिले परमेश्‍वरलाई चिनेन । यसको ज्ञानले उहाँलाई चिन्‍न नसकेको हुनाले विश्‍वास गर्नेहरूलाई प्रचारको मूर्खताद्वारा बचाउन परमेश्‍वरलाई उचित लाग्यो ।

[22] किनकि यहूदीहरू चिन्ह माग्छन्, र ग्रिकहरू ज्ञानको खोजी गर्छन् ।

[23] तर हामीचाहिँ क्रुसमा मर्नुभएका येशूको प्रचार गर्छौ, जुन यहूदीहरूका निम्ति ठेस लाग्‍ने ढुङ्‌गो हो, र ग्रिकहरूका निम्ति मूर्खता हो ।

[24] तर तिनीहरू अर्थात् यहूदी र ग्रिक दुवै जसलाई परमेश्‍वरले बोलाउनुभएको छ, तिनीहरूका माझमा हामी ख्रीष्‍टलाई परमेश्‍वरको शक्‍ति र बुद्धिको रूपमा प्रचार गर्छौं ।

[25] किनकि परमेश्‍वरको मूर्खता मानिस भन्‍दा बुद्धिमानी छ, र परमेश्‍वरको दुर्बलता मानिस भन्‍दा शक्‍तिशाली छ ।

[26] भाइहरू हो, आफ्नो बोलावटलाई हेर । तिमीहरूमध्‍ये धेरै जना मानिसको स्तरको मापमा बुद्धिमान् थिएनौ । तिमीहरूमध्‍ये धेरै जना शक्‍तिशाली थिएनौ । तिमीहरूमध्‍ये धेरै जनाको जन्‍म महान् थिएन ।

[27] तर परमेश्‍वरले बुद्धिमान्‌हरूलाई शर्ममा पार्नको लागि संसारका मूर्ख कुराहरूलाई छान्‍नुभयो । संसारमा भएका बलियालाई शर्ममा पार्नको निम्ति परमेश्‍वरले दुर्बल कुरालाई छान्‍नुभयो ।

[28] परमेश्‍वरले संसारमा भएको नीच र तुच्‍छ ठहरिएको कुरालाई छान्‍नुभयो । उहाँले नगण्य कुराहरू मूल्यवान् ठहरिऊन् भनेर नगण्य कुराहरूलाई छान्‍नुभयो ।

[29] उहाँको अगि कसैले पनि घमण्ड नगरोस् भनेर नै उहाँले यसो गर्नुभयो ।

[30] परमेश्‍वरले जे गर्नुभयो, त्‍यसैको कारण तिमीहरू अहिले ख्रीष्‍टमा छौ, जो हाम्रा निम्ति परमेश्‍वरबाट आउनुभएका बुद्धि बन्‍नुभयो । उहाँ हाम्रो धार्मिकता, पवित्रता र छुटकारा बन्‍नुभयो ।

[31] यसैले धर्मशास्‍त्र भन्‍दछ, “गर्व गर्नेले परमेश्‍वरमा नै गर्व गरोस् ।”

कोरिन्‍थीहरूलाई पावलको पहिलो पत्र — Chapters