Skip to content
Opens in a new window
Listen to this chapter • 3:05

[1] अनि भाइहरू हो, मैले तिमीहरूसँग आत्मिक मानिसहरूसित बोलेझैँ बोल्न सकिनँ, तर शारीरिक मानिसहरू अर्थात् ख्रीष्‍टमा बालकहरूसित बोलेझैँ बोलेँ ।

[2] मैले तिमीहरूलाई दूध खुवाएँ, मासु होइन, किनकि तिमीहरू मासु खानको लागि तयार थिएनौ ।

[3] किनभने तिमीहरू अझै सांसारिक नै छौ । यदि तिमीहरूका माझमा डाह र झगडा छँदै छ भने के तिमीहरू सांसारिक तवरले जिइरहेका छैनौ र ? वा के तिमीहरू मानवीय मापदण्डअनुसार जिइरहेका छैनौ र ?

[4] किनकि जब एक जनाले “म पावललाई पछ्याउँछु” भन्‍छ र अर्कोले “म अपोल्लोसलाई पछ्याउँछु” भन्‍छ भने के तिमीहरू सांसारिक तरिकाले जिइरहेका हुँदैनौ र ?

[5] त्‍यसो भए अपोल्लोस को हो ? अनि पावल को हो ? सबै परमेश्‍वरका सेवकहरू हुन्, जसले परमेश्‍वरले दिनुभएका कामहरूअनुसार गरे र त्‍यही माध्‍यमद्वारा तिमीहरूले विश्‍वास गर्‍यौ ।

[6] मैले रोपेँ, अनि अपोल्लोसले पानी हाले, तर परमेश्‍वरले नै बढाउनुभयो ।

[7] त्‍यसैले, रोप्‍ने र पानी हाल्ने केही होइन । तर परमेश्‍वर जसले बढाउनुहुन्‍छ, उहाँ नै महान् हुनुहुन्‍छ ।

[8] अब रोप्‍ने र पानी हाल्ने एकै हुन्, ती हरेकले आफ्नो कामको परिश्रमअनुसार ज्‍याला पाउनेछन् ।

[9] किनकि हामीहरू परमेश्‍वरका सहकर्मी हौँ । तिमीहरू परमेश्‍वरका बगैँचा र उहाँका भवनहरू हौ ।

[10] परमेश्‍वरको अनुग्रहअनुसार उहाँले मलाई दिनुभएको कारिगरको क्षमतालाई प्रयोग गरेर मैले जग बसालेँ, र अर्कोले त्‍यसमाथि घर बनाउँदै छ । तर हरेक व्यक्‍तिले कसरी बनाउँदै छ भन्‍ने बारेमा सावधान रहनुपर्छ ।

[11] किनकि जुन जग बसालिएको छ, त्‍यो बाहेक कसैले पनि अर्को जग बसाल्न सक्दैन, जुन जग ख्रीष्‍ट हुनुहुन्‍छ ।

[12] यदि त्‍यस जगमाथि कसैले सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, वा परालको प्रयोग गरेर निर्माण गर्छ भने

[13] उसको काम दिनमा प्रकट गरिनेछ, किनकि दिनको उज्‍यालोले त्‍यो प्रकट गर्नेछ । किनकि त्‍यो आगोमा प्रकट हुनेछ । हरेकको कामको गुणस्तरलाई आगोद्वारा जाँचिनेछ ।

[14] यदि कसैले गरेको काम रहिरह्यो भने त्‍यसले इनाम प्राप्‍त गर्नेछ ।

[15] तर यदि कसैको काम जलेर नष्‍ट भयो भने त्‍यसले नोक्सानी भोग्‍नुपर्नेछ । तर ऊ आफैँचाहिँ आगोबाट फुत्केझैँ बचाइनेछ ।

[16] के तिमीहरूलाई थाहा छैन, कि तिमीहरू परमेश्‍वरका मन्‍दिर हौ, र पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्‍छ ?

[17] यदि कसैले परमेश्‍वरको मन्‍दिरलाई नाश गर्छ भने उहाँले त्‍यसलाई पनि नाश गर्नुहुनेछ । किनकि परमेश्‍वरको मन्‍दिर पवित्र छ, र तिमीहरू पनि त्‍यस्तै छौ ।

[18] कसैले आफैँलाई धोका नदेओस् । यदि तिमीहरूमध्‍ये कसैले आफूलाई यस युगमा बुद्धिमान् सम्झन्‍छ भने त्‍यसले आफूलाई “मूर्ख” सम्झोस्, र त्‍यो बुद्धिमान् हुनेछ ।

[19] किनकि संसारको ज्ञान परमेश्‍वरको निम्ति मूर्खता हो । किनकि यस्तो लेखिएको छ, “उहाँले ज्ञानी मानिसहरूलाई तिनीहरूकै चलाखीमा पक्रनुहुन्‍छ ।”

[20] धर्मशास्‍त्रमा यस्तो पनि लेखिएको छ, “परमेश्‍वर जान्‍नुहुन्‍छ कि संसारमा भएका ज्ञानीहरूको तर्क व्‍यर्थ छ ।”

[21] त्‍यसैले, तिमीहरू मानिसहरूका निम्ति घमण्ड नगर ! किनकि सबै कुरा तिमीहरूकै हुन्,

[22] चाहे पावल वा अपोल्लोस वा केफास वा संसार वा जीवन वा मृत्‍यु वा वर्तमानका कुराहरू वा आउने कुराहरू सबै तिमीहरूकै हुन्,

[23] अनि तिमीहरूचाहिँ ख्रीष्‍टका हौ, र ख्रीष्‍टचाहिँ परमेश्‍वरका हुनुहुन्‍छ ।

कोरिन्‍थीहरूलाई पावलको पहिलो पत्र — Chapters