Skip to content
Opens in a new window
Listen to this chapter • 4:10

[1] मेरो अनुकरण गर्नेहरू होओ, जसरी म ख्रीष्‍टको अनुकरण गर्दछु ।

[2] म तिमीहरूको प्रशंसा गर्दछु किनकि तिमीहरूले हरेक कुरामा मलाई सम्झन्‍छौ । म तिमीहरूको प्रशंसा गर्दछु, किनकि मैले सिकाएका शिक्षा तिमीहरूले कायम राख्छौ ।

[3] म तिमीहरूले यो बुझ भन्‍ने चाहन्‍छु कि येशू ख्रीष्‍ट प्रत्‍येक मानिसको शिर हुनुहुन्‍छ, मानिस स्‍त्रीको शिर हो, र परमेश्‍वरचाहिँ ख्रीष्‍टको शिर हुनुहुन्‍छ ।

[4] कुनै पुरुषले आफ्नो शिर ढाकेर प्रर्थना गर्छ अथवा अगमवाणी बोल्छ भने उसले परमेश्‍वरको अपमान गर्छ ।

[5] तर यदि कुनै स्‍त्रीले आफ्नो शिर नढाकी प्रार्थना गर्छे वा अगमवाणी बोल्छे भने उसले आफ्नो शिरको अपमान गर्छे । किनकि यसो गर्नु भनेको उसले आफ्नो केश खौरेको जस्‍तै हो ।

[6] यदि कुनै स्‍त्रीले आफ्नो शिर ढाक्दिन भने, उसले आफ्नो केश छोटो गरी काटोस् । यदि कपाल काट्नु उसको लागि शर्मको कुरा हो भने उसले आफ्नो शिर ढाकोस् ।

[7] पुरुषले आफ्नो शिर नढाकोस् किनकि ऊ परमेश्‍वरको प्रतिरूप र गौरव हो । तर स्‍त्रीचाहिँ पुरुषको गौरव हो ।

[8] किनकी पुरुष स्‍त्रीबाट बनिएको होइन, तर स्‍त्री पुरुषबाट बनिएकी हो ।

[9] न त पुरुष स्‍त्रीको निम्ति सृष्‍टि गरिएका हो, तर स्‍त्री पुरुषको निम्ति बनिएकी हो ।

[10] यसै कारणले स्वर्गदूतहरूका खातिर स्‍त्रीले आफ्नो शिरमा अधिकारको चिह्न लगाउनुपर्छ ।

[11] तापनि प्रभुमा स्‍त्री पुरुषबाट स्वतन्‍त्र हुन्‍न न त स्‍त्रीबाट पुरुष नै ।

[12] किनकि जसरी स्‍त्री पुरुषबाट आउँछे त्‍यसरी नै पुरुष पनि स्‍त्रीबाट आउँछ । र सबै कुरा परमेश्‍वरबाट आउँछन् ।

[13] तिमीहरू आफैँ विचार गरः के स्‍त्रीले आफ्नो शिर नढाकी परमेश्‍वरसँग प्रार्थना गर्नु उपयुक्त हो ?

[14] कुनै पुरुषले लामो केश पाल्नु उसको निम्ति शर्मको कुरो हो भन्‍ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र ?

[15] कुनै स्‍त्रीको लामो केश हुनु, उसको निम्ति गौरवको कुरो हो भन्‍ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र ?

[16] तर यदि कोही यस विषयमा बहस गर्न चाहन्‍छ भने हामीसँग अर्को कुनै प्रथा छैन, न परमेश्‍वरको मण्डलीसँग छ ।

[17] यी निर्देशनहरू दिँदा म तिमीहरूको प्रशंसा गर्दिनँ । किनकि तिमीहरू असलको निम्ति होइन तर खराबको निम्ति भेला हुन्‍छौ ।

[18] पहिलो कुरा त तिमीहरू मण्डलीमा भेला हुँदा, तिमीहरूमा फाटो हुन्‍छ भन्‍ने म सुन्‍छु र म केही हदसम्म विश्‍वास पनि गर्छु ।

[19] तिमीहरूका माझमा स्वीकृत भएका व्यक्‍तिहरू चिनिनको लागि पनि तिमीहरूका माझमा गुटबन्‍दी हुनु आवश्यक छ ।

[20] तिमीहरू भेला भएर खाएको कुरा प्रभु-भोज होइन ।

[21] जब तिमीहरू खान्‍छौ, अरूले आफ्नो भोजन खानुअगि हरेकले आफ्नो खाना खान्‍छ । एक जना भोकै हुन्‍छ र अर्को मातेको हुन्‍छ ।

[22] के खान र पिउनको लागि तिम्रो आफ्नै घर छैन र ? के तिमीहरू केही नभएकाहरूलाई अपमान गर्छौ र परमेश्‍वरको मण्डलीलाई तुच्‍छ ठान्‍छौ ? म तिमीहरूलाई के भनूँ ? के तिमीहरूको प्रशंसा गरूँ ? यसको निम्ति म तिमीहरूको प्रशंसा गर्दिनँ ।

[23] मैले जे परमेश्‍वरबाट पाएँ त्‍यो मैले तिमीहरूलाई सुम्पिदिएँ, कि प्रभु येशू ख्रीष्‍टले धोका पाएको त्‍यो रात रोटी लिनुभयो ।

[24] धन्‍यवाद दिनुभएपछि उहाँले रोटी भाँच्‍नुभयो र भन्‍नु भयो, “यो मेरो शरीर हो; यो तिमीहरूको निम्ति हो । मेरो सम्झनाको निम्ति यो गर ।”

[25] त्‍यसरी नै खाइसक्‍नुभएपछि कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो । जब तिमीहरू पिउँछौ, मेरो सम्झना गर्ने गर ।”

[26] जब जब तिमीहरूले यो रोटी खान्‍छौ र कचौराबाट पिउँछौ, उहाँ नआउञ्‍जेलसम्म प्रभुको मृत्‍युको घोषणा गर्छौ ।

[27] यसकारण जसले अयोग्य रीतिले रोटी खान्‍छ र कचौराबाट पिउँछ, ऊ प्रभुको शरीर र रगतको दोषी हुनेछ ।

[28] कुनै व्यक्‍तिले पहिले आफैँलाई जाँचोस् र रोटी खाओस् र कचौरबाट पिओस् ।

[29] किनकि जसले शरीरको वास्ता नाराखीकन रोटी खान्‍छ र कचौराबाट पिउँछ, उसले खाएको र पिएको कारण आफूमाथि न्‍यायको दण्ड ल्याउँछ ।

[30] त्‍यसकारण, तिमीहरूमध्‍ये धेरै जना रोगी र बिमारी छन् र कोही त मरिसकेका छन् ।

[31] तर यदि हामीले आफैँलाई जाँच गर्‍यौँ भने हामी न्‍यायमा पर्नेछैनौँ ।

[32] तर जब हामी परमेश्‍वरबाट जाँचिन्‍छौँ हामी अनुशासित हुनेछौँ, र संसारसँगै दोषी ठहरिनेछैनौँ ।

[33] त्‍यसकारण, मेरा भाइहरू हो, जब तिमीहरू खानको लागि भेला हुन्‍छौ एकले अर्कालाई पर्ख ।

[34] यदि कोही भोकाएको छ भने त्‍यसले घरैमा खाओस्, ताकि तिमीहरू भेला हुँदा तिमीहरू न्‍यायमा पर्नेछैनौ । र तिमीहरूले लेखेका अन्‍य विषयहरूको बारेमा म आएपछि निर्देशनहरू दिनेछु ।

कोरिन्‍थीहरूलाई पावलको पहिलो पत्र — Chapters