[1] मैले फेरि हेरेँ, र त्यहाँ मेरो अगाडि उड्दै गरेको एउटा चर्मपत्र थियो!
[2] स्वर्गदूतले मलाई सोधे, “तिमी के देख्दैछौ?” मैले जवाफ दिएँ, “म बीस क्यूबिट लामो र दश क्यूबिट चौडा भएको एउटा उडिरहेको चर्मपत्र देख्दैछु।”
[3] अनि तिनले मलाई भने, “यो देशभरि आइपर्ने श्रापहरू हुन्: किनकि यसको एकातिर लेखिएअनुसार, देशबाट सबै चोरहरू निकालिनेछन्; अनि अर्कोतिर लेखिएअनुसार, झूटा शपथ खानेहरू सबै देशबाट निकालिनेछन्।
[4] सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘म यस श्रापलाई बाहिर पठाउनेछु र यो चोरको घरमा र मेरो नाममा झूटो शपथ खानेको घरमा पस्नेछ। यो श्राप त्यस घरमा रहनेछ; अनि यसले त्यस घरलाई त्यसका काठ र ढुङ्गाहरू दुवैलाई नष्ट गर्नेछ।’ ”
[5] तब मसित कुरा गर्ने स्वर्गदूत अगि आएर तिनले मलाई भने, “माथितिर हेर, र आइरहेको कुरो के हो, सो हेर।”
[6] मैले सोधेँ, “यो के हो?” तिनले जवाफ दिए, “यो एउटा डालो हो। अनि तिनले अझै भने, यो यहूदा देशभरिका मानिसहरूको अधर्म हो।”
[7] तब डालोको ढकनी उठाइयो, र त्यहाँ डालोभित्र एउटी स्त्री बसेकी थिई!
[8] तिनले भने, “यो दुष्टता हो,” अनि तिनले स्त्रीलाई डालोभित्रै घचेटिदिए, र त्यस डालोको ढकनी लगाइदिए।
[9] तब मैले मास्तिर हेरेँ—अनि त्यहाँ मेरो अगाडि तिनीहरूका पखेटाहरूमा बतास भएका दुईवटी स्त्रीहरू थिए! तिनीहरूसित सारसका जस्तै पखेटा थिए; अनि तिनीहरूले त्यस डालोलाई आकाश र पृथ्वीको बीचमा माथि उठाए।
[10] मसँग कुरा गर्ने स्वर्गदूतलाई मैले सोधेँ, “तिनीहरूले डालो कहाँ लगिरहेछन्?”
[11] तिनले जवाफ दिए, “बेबिलोनिया देशमा त्यसका निम्ति घर बनाउनलाई लगिरहेका छन्। जब त्यसको घर तयार हुन्छ, तब त्यो डालो त्यसको आफ्नै ठाउँमा राखिनेछ।”