[1] हे लेबनान, तेरा ढोकाहरू खोलिदे, ताकि तेरा देवदारुका रूखहरू आगोले भस्म पारोस्!
[2] हे धूपी सल्ला, विलाप गर्; किनकि देवदारु नष्ट भएको छ; सानदार रूखहरू नष्ट भएका छन्! बाशानका फलाँटका रूखहरू विलाप गर; घना जङ्गल काटेर ढालिएको छ!
[3] गोठालाहरूको विलाप सुन; तिनीहरूका हरिया खर्कहरू नष्ट भएका छन्! सिंहहरूका गर्जन सुन; यर्दनको बाक्लो घारी नष्ट भएको छ!
[4] याहवेह मेरो परमेश्वरले यसो भन्नुहुन्छ: “मारिनका निम्ति चिन्ह लगाइएको बगाललाई गोठालो गर।
[5] तिनीहरूलाई किन्नेहरूले तिनीहरूलाई मार्छन्, र तिनीहरूले दण्ड पाउँदैनन्। तिनीहरूलाई बेच्नेहरूले भन्छन्, ‘याहवेहको प्रशंसा होस्, म धनी छु!’ तिनीहरूका आफ्नै गोठालाहरूले पनि तिनीहरूलाई दया देखाउँदैनन्।
[6] त्यसरी नै अब उसो म यस देशका मानिसहरूमाथि दया देखाउनेछैनँ,” याहवेह घोषणा गर्नुहुन्छ। “म हरेक मानिसलाई तिनीहरूका छिमेकीहरू र तिनीहरूको राजाको हातमा सुम्पिदिनेछु। तिनीहरूले देशमाथि अत्याचार गर्नेछन्, तर म तिनीहरूलाई उनीहरूका हातबाट छुटाउनेछैनँ।”
[7] यसकारण काटिनका निम्ति चिन्ह लगाइएको बगाललाई, विशेष गरी अत्याचारमा परेको बगाललाई मैले गोठालो गरेँ। तब मैले दुई वटा लहुरो लिएँ; अनि एउटालाई अनुग्रह र अर्कोलाई एकता नाम दिएँ, र मैले बगाललाई चराएँ।
[8] एक महिनामा मैले तीन जना गोठालाहरूलाई निकालिदिएँ। त्यो बगालले मलाई घृणा गर्यो, र म पनि तिनीहरूसँग वाक्क भएँ,
[9] अनि मैले भनेँ, “म तिमीहरूका गोठाला हुनेछैनँ। मर्नेहरू मरून् र नाश हुनेहरू नाश होऊन्। जो बाँकी रहेका छन्, तिनीहरूले एक-अर्काका मासु खाऊन्।”
[10] तब मैले अनुग्रह नामको लहुरो लिएँ, र त्यसलाई भाँचिदिएँ र मैले सबै जातिहरूसित गरेको करार रद्द गरिदिएँ।
[11] त्यस दिन त्यो रद्द गरियो, र बगालका अत्याचारमा परेकाहरू, जसले मलाई हेरिराखेका थिए; तिनीहरूले यो याहवेहको वचन रहेछ भनी थाहा गरे।
[12] मैले तिनीहरूलाई भनेँ, “यदि तिमीहरूलाई यो उचित लाग्यो भने मेरो ज्याला मलाई देऊ; तर उचित लागेन भने आफैँ राख।” यसकारण तिनीहरूले मलाई तीस टुक्रा चाँदी दिए।
[13] अनि याहवेहले मलाई भन्नुभयो, “यस चाँदीलाई कुमालेको अगि फालिदे,” अर्थात् तिनीहरूले मेरो कदर गरेर दिएको बहुमूल्य ज्याला! यसकारण मैले त्यो तीस टुक्रा चाँदी लिएँ, र ती याहवेहको भवनभित्र भएका कुमालेकहाँ फालिदिएँ।
[14] त्यसपछि यहूदा र इस्राएल बीचको पारिवारिक सम्बन्धलाई तोडिदिन, मैले एकता नाम भएको अर्को लहुरो पनि भाँचिदिएँ।
[15] तब याहवेहले मलाई भन्नुभयो, “एउटा मूर्ख गोठालोका सामानहरू फेरि ली।
[16] किनकि म देशमाथि एउटा गोठालो खडा गर्न लागेको छु, जसले हराएकालाई वास्ता गर्दैन, न त सानाहरूलाई खोज्छ, न त चोट लागेकाहरूलाई निको पार्छ, न त स्वस्थलाई खुवाउँछ; तर असल भेडाहरूलाई तिनीहरूको खुर च्यात्दै तिनीहरूको मासु खानेछ।
[17] “धिक्कार त्यो काम नलाग्ने गोठालालाई, जसले बगाललाई छोडिदिन्छ! तरवारले त्यसको हात र दाहिने आँखामा प्रहार गरोस्! त्यसको पाखुरा पूर्ण रूपले सुकेर जाओस्; अनि त्यसको दाहिने आँखा पूर्ण रूपले अन्धो भइजाओस्!”