Skip to content
Opens in a new window
Listen to this chapter • 2:28

[1] “त्यस दिन दावीदको घराना र यरूशलेमका बासिन्दाहरूलाई पाप र अशुद्धताबाट शुद्ध गर्नलाई तिनीहरूका निम्ति एउटा पानीको मूल फुटेर निस्कनेछ।

[2] “त्यस दिन म देशबाट मूर्तिहरूका नामनिशानै मेटिदिनेछु, अनि कहिल्यै पनि तिनीहरूको सम्झना गरिनेछैन,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। “म देशबाट अगमवक्ताहरू र अशुद्धताको आत्मा दुवैलाई हटाइदिनेछु।

[3] यदि कसैले अझै अगमवाणी गर्छ भने त्यसलाई यो भनिनेछ, ‘तँ बाँच्नेछैनस्; किनकि तैँले याहवेहको नाममा झूट बोलेको छस्।’ जसले अगमवाणी गर्छ, त्यसका आफ्नै आमाबुबाले त्यसलाई छुरीले रोपिदिनेछन्।

[4] “त्यस दिन हरेक अगमवक्ता तिनीहरूका अगमवाणीको दर्शनको कारण शर्ममा पर्नेछन्। तिनीहरूले धोका दिनलाई अगमवक्ताको रौँको वस्त्र लाउनेछैनन्।

[5] हरेकले भन्‍नेछ, ‘म अगमवक्ता होइनँ। म एक किसान मात्र हुँ; किनकि युवाअवस्थादेखि नै मेरो जीविका जमिनबाट चलेको छ।’

[6] यदि कसैले तिनीहरूलाई सोध्यो भने, ‘तिम्रो शरीरमा भएका यी चोटहरू के हुन्?’ तिनीहरूले जवाफ दिनेछन्, ‘यी मेरो मित्रहरूको घरमा मलाई दिइएका चोटहरू हुन्।’

[7] “हे तरवार, मेरो गोठालाको विरुद्धमा उठ्; तिनीहरूको विरुद्धमा, जो मेरो नजिक छन्!” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। “गोठालोलाई प्रहार गर्, र भेडाहरू तितरबितर हुनेछन्; अनि म मेरो हात सानाहरूको विरुद्धमा फर्काउनेछु।”

[8] याहवेह घोषणा गर्नुहुन्छ, “सारा देशमा दुई तिहाइ मारिनेछन् र नष्‍ट हुनेछन्; तापनि त्यहाँ एक तिहाइ छोडिनेछन्।

[9] यस एक तिहाइलाई म आगोमा हालिदिनेछु; म तिनीहरूलाई चाँदीझैँ खार्नेछु, र तिनीहरूलाई सुनझैँ जाँच्नेछु। जब तिनीहरूले मेरो नाममा पुकार्नेछन्, तब म तिनीहरूलाई जवाफ दिनेछु; म तिनीहरूलाई भन्‍नेछु, ‘तिनीहरू मेरा प्रजा हुन्,’ र तिनीहरूले भन्‍नेछन्, ‘याहवेह हाम्रा परमेश्‍वर हुनुहुन्छ।’ ”

जकरिया — Chapters