Skip to content
Opens in a new window
Listen to this chapter • 2:27

[1] त्यसपछि मैले माथि हेरेँ, र त्यहाँ मेरो अगाडि आफ्नो हातमा एउटा नाप्‍ने डोरी लिएका एक जना मानिस थिए!

[2] मैले सोधेँ, “तपाईं कहाँ जाँदैहुनुहुन्छ?” तिनले जवाफ दिए, “यरूशलेमलाई नाप्‍न, त्यसको लम्बाइ र चौडाइ कति रहेछ, सो हेर्न जाँदैछु।”

[3] जब मसँग कुरा गरिरहेका स्वर्गदूत जाँदैथिए, र अर्को स्वर्गदूत तिनलाई भेट्न आए,

[4] अनि तिनलाई भने: “कुदेर जा, र त्यस जवान मानिसलाई भन्, ‘धेरैको संख्यामा मानिसहरू र गाईबस्तुहरू भएको कारण यरूशलेम पर्खाल नभएको सहर हुनेछ।

[5] अनि म आफैँ नै त्यस सहरको चारैतिर आगोको पर्खाल हुनेछु,’ याहवेह घोषणा गर्नुहुन्छ, ‘अनि म त्यस भित्रको महिमा हुनेछु।’

[6] “आओ! आओ! उत्तरको देशबाट भागिहाल,” याहवेह घोषणा गर्नुहुन्छ, “किनकि मैले तिमीहरूलाई आकाशका चारै बतासतिर तितरबितर पारिदिएको छु,” याहवेह घोषणा गर्नुहुन्छ।

[7] “हे सियोन, आइज! तँ जो बेबिलोनकी छोरीकहाँ बस्छेस्, भाग्!”

[8] किनकि सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “त्यसपछि महिमित एक जनाले मलाई तिमीहरूलाई लुटपाट गर्ने राष्ट्रको विरुद्धमा पठाउनुभयो—किनकि जसले तिमीहरूलाई छुन्छ, त्यसले उहाँको आँखाको नानीलाई छुन्छ—

[9] म निश्‍चय नै आफ्नो हात तिनीहरूको विरुद्धमा उठाउनेछु, ताकि तिनीहरूका दासहरूले तिनीहरूलाई लुटपाट गरून्। त्यसपछि तिमीहरूले जान्‍नेछौ, कि सेनाहरूका याहवेहले नै मलाई पठाउनुभएको हो।

[10] “हे सियोनकी छोरी, चर्कोगरी करा र आनन्दित हो; किनकि म आउँदैछु, र म तिमीहरूको बीचमा बसोबास गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

[11] “त्यस दिन धेरै राष्ट्रहरू याहवेहसँग मिल्न आउनेछन् र मेरा मानिसहरू हुनेछन्। म तिमीहरूका बीचमा रहनेछु र तिमीहरूले जान्‍नेछौ, कि सेनाहरूका याहवेहले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।

[12] याहवेहले यहूदालाई पवित्र देशमा आफ्नो भागझैँ उत्तराधिकार बनाउनुहुनेछ, र यरूशलेमलाई फेरि चुन्‍नुहुनेछ।

[13] हे सबै मानव-जाति हो, याहवेहको सामु चुपचाप रहो; किनकि उहाँ आफ्नो पवित्र वासस्थानबाट आउँदैहुनुहुन्छ।”

जकरिया — Chapters