[1] त्यसपछि मसँग कुरा गर्ने स्वर्गदूत फेरि आए, र सुतिरहेको मान्छेलाई बिउँझाएझैँ तिनले मलाई बिउँझाए।
[2] तिनले मलाई सोधे, “तिमी के देख्छौ?” मैले जवाफ दिएँ, “म ठोस सुनको एउटा सामदान देख्छु, जसको टुप्पोमा एउटा कचौरा र त्यसमा सात वटा बत्तीहरू छन्; अनि ती बत्तीहरूमा सात वटा नलीहरू गाँसिएका छन्।
[3] अनि त्यहाँ दुई वटा जैतुनका रूखहरू पनि छन्; एउटा रूख कचौराको दायाँपट्टि र अर्को बायाँपट्टि।”
[4] मसँग कुरा गर्ने स्वर्गदूतलाई मैले सोधेँ, “मेरा प्रभु, यी के हुन्?”
[5] तिनले जवाफ दिए, “के तिमी जान्दैनौ यी के हुन्?” मैले जवाफ दिएँ, “मेरा प्रभु, अहँ, म जान्दिनँ।”
[6] यसकारण तिनले मलाई भने, “यो यरुबाबेलको निम्ति याहवेहको वचन हो: ‘न शक्तिले, न त बलले, तर मेरो पवित्र आत्माले,’ सेनाहरूका याहवेह भन्नुहुन्छ।
[7] “ए शक्तिशाली पर्वत, तँ के होस्? यरुबाबेलको सामु तँ समतल भूमि हुनेछस्! तब त्यसले अन्तिम शिर ढुङ्गालाई निकालेर ल्याउँदा मानिसहरूले चिच्याउनेछन्, ‘परमेश्वरले यसलाई आशिष् देऊन्! परमेश्वरले यसलाई आशिष् देऊन्!’ ”
[8] त्यसपछि याहवेहको यो वचन मकहाँ आयो:
[9] “यरुबाबेलका हातहरूले यस मन्दिरको जग बसालेका छन्; अनि त्यसकै हातले यसलाई पूरा पनि गर्नेछन्। तब तैँले जान्नेछस्, कि सेनाहरूका याहवेहले नै मलाई तँकहाँ पठाउनुभएको हो।
[10] “सानो सुरुवातका दिनहरूलाई कसले तुच्छ ठान्न सक्छ? जबकि यी सात वटा याहवेहका आँखाहरू हुन्, जसले पृथ्वीभरि चारैतिर हेरिरहन्छन्; अनि यरुबाबेलका हातमा नाप्ने फित्ता देखेर मानिसहरू रमाउनेछन्।”
[11] त्यसपछि मैले स्वर्गदूतलाई सोधेँ, “सामदानका दायाँपट्टि र बायाँपट्टिका यी दुई जैतुनका रूखहरू के हुन्?”
[12] मैले स्वर्गदूतलाई फेरि सोधेँ, “सुनौलो तेल खन्याउने यी दुई सुनका नलीहरूका छेउमा भएका दुई वटा जैतुनका हाँगाहरू के हुन्?”
[13] तिनले जवाफ दिए, “यी के हुन्, तिमीलाई थाहा छैन?” मैले भनेँ, “मेरा प्रभु, अहँ, म जान्दिनँ।”
[14] यसैकारण तिनले भने, “यी ती दुई हुन्, जसलाई सारा पृथ्वीका प्रभुको सेवा गर्नलाई अभिषेक गरिएको छ।”