[1] तब एफ्राएमीहरूले गिदोनलाई सोधे, “तपाईंले हामीसित किन यस्तो व्यवहार गर्नुभयो? तपाईंहरू मिद्यानसित लडाइँ गर्न जाँदा हामीलाई किन बोलाउनुभएन?” अनि तिनीहरूले उनीसँग अनेक विवाद गरे।
[2] तर उनले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूले जे गरेका छौ, त्यसको तुलनामा मैले के गरेको छु र? के एफ्राइमको अङ्गुरको शिला-बाला अबीएजेरको सम्पूर्ण दाख कटनीभन्दा असल छैन र?
[3] परमेश्वरले मिद्यानी शासकहरू ओरेब र जीबलाई तिमीहरूको हातमा सुम्पिदिनुभयो। तिमीहरूको तुलनामा त्यस्तो मैले के गर्न सकेँ र?” गिदोनले यसो भनेपछि उनको विरुद्ध तिनीहरूको गुनासो शान्त भयो।
[4] गिदोन र उनका तीन सय मानिसहरू यर्दनमा आइपुगे, र पारि तरे। तिनीहरू थाकेका थिए, तापनि आफ्ना शत्रुहरूलाई खेदिरहे।
[5] उनले सुक्कोतका मानिसहरूलाई भने, “मेरा सैन्यदललाई केही रोटी दिनुहोस्। तिनीहरू थाकिसकेका छन्। अहिले म मिद्यानका राजाहरू जेबह र सल्मुन्नालाई खेद्दै आइरहेको छु।”
[6] तर सुक्कोतका शासकहरूले भने, “के जेबह र सल्मुन्ना तिम्रो हातमा आइसकेका छन् र? तिम्रो सैन्यदललाई हामीले किन रोटी दिने?”
[7] तब गिदोनले जवाफ दिए, “त्यसो भए जब याहवेहले जेबह र सल्मुन्नालाई मेरो हातमा सुम्पिदिनुहुनेछ, तब म तिमीहरूका शरीरलाई उजाडस्थानको काँडा र घोच्ने काँडाले च्यातिदिनेछु।”
[8] त्यहाँबाट उनी पनीएलमा गए, र तिनीहरूसित त्यही बिन्ती राखे। तर तिनीहरूले सुक्कोतकै मानिसहरूले झैँ जवाफ दिए।
[9] यसकारण उनले पनीएलका मानिसहरूलाई भने, “म विजयी भएर फर्कँदा यस किल्लालाई भत्काइदिनेछु।”
[10] जेबह र सल्मुन्नाचाहिँ प्राय: पन्ध्र हजार सेनासित कार्कोरमा थिए। पूर्व देशको फौजबाट बाँचेकाहरू त्यति नै थिए। एक लाख बीस हजार तरवारधारी मानिसहरूचाहिँ मरिसकेका थिए।
[11] नोबह र योगबहाको पूर्वपट्टिको घुमफिर गरिहिँड्ने जातिको बाटो भएर गिदोन अगि बढेर गए। अनि उनीहरू सावधानी नभई बसेको बेलामा तिनी फौजमाथि जाइलागे।
[12] तब मिद्यानका दुई राजाहरू जेबह र सल्मुन्ना भागे। तर उनी तिनीहरूलाई खेद्दै गए; अनि तिनीहरूलाई पक्रे, र तिनीहरूका सम्पूर्ण फौजलाई पराजित गरे।
[13] त्यसपछि योआशको छोरा गिदोन लडाइँबाट हेरेसको घाटी भएर फर्के।
[14] उनले सुक्कोतका एक जना जवानलाई पक्रेर केरकार गरे। अनि त्यस जवानले सुक्कोतका सतहत्तर जना शासकहरू, सहरका प्रधानहरूका नाम लेखेर दियो।
[15] त्यसपछि गिदोन आए, र सुक्कोतका मानिसहरूलाई भने, “जेबह र सल्मुन्ना यहाँ छन्, जसको विषयमा तिमीहरूले ‘के जेबह र सल्मुन्ना तिम्रा हातमा आइसकेका छन् र? हामीले तिम्रा गलिसकेका मानिसहरूलाई किन रोटी दिने?’ ” भनेर मेरो उपहास गरेका थियौ।
[16] तब उनले सहरका प्रधानहरूलाई लिए, र तिनीहरूलाई उजाडस्थानका काँडा र घोच्ने काँडाहरूले दण्ड दिएर सुक्कोतका मानिसहरूलाई पाठ सिकाए।
[17] उनले पनीएलको किल्ला पनि भत्काइदिए र त्यस सहरका मानिसहरूलाई मारे।
[18] तब गिदोनले जेबह र सल्मुन्नालाई सोधे, “तिमीहरूले तबोरमा मारेका मानिसहरू कस्ता किसिमका थिए?” त्यसपछि तिनीहरूले जवाफ दिए, “तिनीहरू तपाईंजस्तै थिए। हरेकको अनुहार राजकुमारको जस्तै देखिन्थे।”
[19] अनि गिदोनले जवाफ दिए, “तिनीहरू मेरा दाजुभाइहरू, मेरै आमाका छोराहरू थिए। जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, यदि तिमीले तिनीहरूका प्राण जोगाइदिएका भए म तिमीहरूलाई मार्ने थिइनँ।”
[20] तब आफ्नो जेठा छोरा येतेरतिर फर्केर तिनले भने, “यिनीहरूलाई मारिदे!” तर येतेरले आफ्नो तरवार थुतेन; किनकि ऊ सानै केटा थियो, त्यसकारण ऊ डरायो।
[21] तब जेबह र सल्मुन्नाले भने, “तपाईं आफैँ आएर यो गर्नुहोस्, ‘मानिसजस्तो छ, त्यसको बल पनि त्यस्तै हुन्छ।’ ” यसकारण गिदोनले अगि सरेर तिनीहरूलाई मारे, र तिनीहरूका ऊँटका घाँटीबाट गहनाहरू निकालेर लगे।
[22] इस्राएलीहरूले गिदोनलाई भने, “तपाईंले हामीलाई मिद्यानीहरूबाट बचाउनुभयो। यसकारण अब तपाईं हाम्रा शासक हुनुहोस्—तपाईंको छोरा र तपाईंको नाति।”
[23] तर गिदोनले तिनीहरूलाई भने, “म तिमीहरूमाथि शासन गर्नेछैनँ, न त मेरो छोराले तिमीहरूमाथि शासन गर्नेछ। याहवेहले नै तिमीहरूमाथि शासन गर्नुहुनेछ।”
[24] अनि उनले भने, “मेरो एउटा बिन्ती छ, तिमीहरू प्रत्येकले आफ्ना लुटको मालको भागबाट एउटा कुण्डल मलाई देओ।” (इश्माएलीहरूमा सुनको कुण्डल लगाउने रीति थियो।)
[25] तिनीहरूले जवाफ दिए, “हामी खुशीसाथ ती कुराहरू दिनेछौँ।” यसकारण तिनीहरूले एउटा लुगा ओछ्याए, र प्रत्येक मानिसले आफ्नो लुटका मालबाट त्यसमाथि एक-एक वटा गरी औँठी फ्याँकिदिए।
[26] उनले मागेका सुनका औँठीहरूको ओजन सत्र सय शेकेल थियो; जसमा गहनाहरू, मिद्यानका राजाहरूले लगाउने कर्णफूल र बैजनी वस्त्रहरू अथवा ऊँटहरूका घाँटीमा भएका सिक्रीहरूको त हिसाब नै थिएन।
[27] अनि गिदोनले ती सुनबाट एउटा एपोद बनाए, र त्यसलाई उनले आफ्नो सहर ओप्रामा राखे। सारा इस्राएलले त्यसलाई पुजेर त्यहाँ वेश्यासँग झैँ व्यभिचार गरे। अनि त्योचाहिँ गिदोन र तिनको परिवारका निम्ति एउटा पासो बन्यो।
[28] यसरी मिद्यान इस्राएलीहरूको अधीनमा आयो, र तिनीहरूले फेरि आफ्नो शिर उठाएनन्। गिदोनको जीवनकालभरि चालीस वर्षभरि देशमा शान्ति छायो।
[29] अनि योआशको छोरा यरूब-बाल आफ्नो घर फर्केर बस्न लागे।
[30] उनका धेरै पत्नीहरू भएको कारण उनका आफ्नै सत्तरी जना छोराहरू थिए।
[31] शेकेममा बस्ने उनकी उपपत्नीले पनि उनका निम्ति एउटा छोरा जन्माई, उनले उसको अबीमेलेक राखे।
[32] अनि योआशका छोरा गिदोन पूरा बुढेसकालमा मरे, र आफ्ना पिताको चिहानमा अबीएजरीहरूको ओप्रामा गाडिए।
[33] गिदोनको मृत्यु हुनसाथ इस्राएलीहरूले आफैँलाई बाल-बरीतहरूसित वेश्यासँग झैँ व्यभिचार गर्न थाले। तिनीहरूले आफ्नो देवतास्वरूप बाल-बरीतलाई खडा गरे।
[34] अनि चारैतिरबाट आफ्ना शत्रुहरूका हातबाट तिनीहरूलाई छुटाउनुहुने याहवेह तिनीहरूका परमेश्वर, जसलाई तिनीहरूले सम्झेनन्।
[35] तिनीहरूले यरूब-बाल (अर्थात् गिदोन) का परिवारलाई पनि तिनले इस्राएलका निम्ति गरेका असल कुराहरूको निम्ति पनि दया देखाएनन्।