Skip to content
Opens in a new window
Listen to this chapter • 4:07

[1] अबीमेलेकको मृत्युपछि इस्साखारका एक जना मानिस, अर्थात् दोदोका नाति, पुवाका छोरा तोला इस्राएललाई बचाउनका निम्ति खडा भए। तिनी एफ्राइमको पहाडी मुलुकको शामीरमा बस्थे।

[2] तिनले तेईस वर्षसम्म इस्राएलमाथि नेतृत्व गरे, तब तिनी मरे, र शामीरमा गाडिए।

[3] तिनीपछि गिलादी याईर आए, जसले इस्राएलमाथि बाइस वर्षसम्म नेतृत्व गरे।

[4] तिनका तीस जना छोराहरू थिए, जो तीस वटा गधामाथि सवार हुने गर्थे। तिनीहरूले गिलादमा तीस वटा सहरहरूमाथि अख्तियार चलाउँथे, जसलाई आजको दिनसम्म हव्वोत-याईर भनिन्छ।

[5] याईर मरेपछि तिनी कामोनमा गाडिए।

[6] फेरि पनि इस्राएलीहरूले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। तिनीहरूले बाल तथा अश्तोरेतका आकृतिहरू, अराम, सीदोन, मोआब, अम्मोनी र पलिश्तीहरूका देवी-देवताहरूको सेवा गरे। इस्राएलीहरूले याहवेहलाई त्यागेर उहाँको सेवा गर्न छाडेका कारण,

[7] उहाँ इस्राएलीहरूसित रिसाउनुभयो। उहाँले तिनीहरूलाई पलिश्ती र अम्मोनीहरूका हातमा बेचिदिनुभयो।

[8] त्यस वर्ष तिनीहरूले इस्राएलीहरूलाई दमन गरेर सताए। तिनीहरूले अठार वर्षसम्म सारा इस्राएलीहरूलाई यर्दनको पूर्व एमोरीहरूको देश गिलादमा थिचोमिचो गरे।

[9] अम्मोनीहरू पनि यहूदा, बेन्यामीन र एफ्राइमका घरानासित लडाइँ गर्न यर्दन तरे; अनि इस्राएल ठूलो सङ्कष्‍टमा पर्‍यो।

[10] तब इस्राएलीहरूले यसो भनेर याहवेहको पुकार गरे, “हामीले हाम्रा परमेश्‍वरलाई त्यागेर बाल-देवताहरूको सेवा गरेर तपाईंको विरुद्धमा पाप गरेका छौँ।”

[11] याहवेहले जवाफ दिनुभयो, “जब इजिप्टियन, एमोरी, अम्मोनी, पलिश्ती,

[12] सीदोनी, अमालेकी, र माओनीहरूले तिमीहरूलाई सताए, र तिमीहरूले सहायताका निम्ति मलाई पुकार्‍यौ, तब के मैले तिमीहरूलाई तिनीहरूका हातबाट रक्षा गरिनँ र?

[13] तर तिमीहरूले मलाई त्यागेर अरू देवी-देवताहरूको सेवा गर्‍यौ। यसकारण अब म फेरि तिमीहरूलाई छुटाउनेछैनँ।

[14] जाऊ र तिमीहरूले रोजेका देवी-देवताहरूलाई पुकार। तिमीहरू विपत्तिमा पर्दा तिनीहरूले नै तिमीहरूलाई बचाऊन्!”

[15] तर इस्राएलीहरूले याहवेहलाई भने, “हामीले पाप गरेका छौँ। तपाईंलाई जे ठिक लाग्छ, हामीसित त्यही गर्नुहोस्! तर दया गरी अहिले हामीलाई छुटाउनुहोस्।”

[16] तब तिनीहरूले तिनीहरूसित भएका विदेशी देवी-देवताहरू फालिदिए, र याहवेहको सेवा गरे। अनि उहाँले इस्राएलको कष्‍ट अरू सहन सक्नुभएन।

[17] जब अम्मोनीहरूलाई हतियार भिर्ने आह्वान भयो र तिनीहरूले गिलादमा छाउनी हाले, तब इस्राएलीहरूचाहिँ भेला भएर मिस्पामा छाउनी हाले।

[18] गिलादका मानिसहरूका अगुवाहरूले आपसमा भने, “जसले अम्मोनीहरूमाथि पहिले आक्रमण गर्ला, त्यही नै गिलादमा बस्‍ने सबैको मुखिया हुनेछ।”

न्यायकर्ता — Chapters