Skip to content
Opens in a new window
Listen to this chapter • 9:01

[1] एक दिन शिमशोन गाजामा गए; र त्यहाँ उनले एउटी वेश्यालाई भेटे। उनी त्यससित रात बिताउनलाई त्यसकहाँ गए।

[2] गाजाका मानिसहरूलाई “शिमशोन यहाँ आएका छन्” भनी सुनाइयो। यसकारण तिनीहरूले त्यस ठाउँलाई घेरे, र रातभरि सहरको मूलढोकामा तिनलाई ढुकिबसे। तिनीहरू रातभरि यताउति नगइकन “बिहानै हामी त्यसलाई मार्नेछौँ” भन्दै बसिरहे।

[3] तर शिमशोन त्यहाँ आधा रातसम्म मात्र ढल्किरहे। तब उनी उठे, र सहरको मूलढोका र त्यसका दुई वटा खम्बाहरू पक्रेर तिनीहरूका आग्लोसमेत ती सबैलाई उखेलिदिए। उनले ती आफ्ना काँधमा हालेर हेब्रोनतिर फर्केको डाँडामा बोकेर लगे।

[4] केही समयपछि उनी सोरेकको बेँसीमा भएकी दलीला नामकी स्त्रीसित प्रेममा परे।

[5] पलिश्तीहरूका शासकहरू उनीकहाँ गएर भने, “तिमीले उनलाई आफ्नो महान् शक्तिको भेद देखाउन र हामीले कसरी उनलाई जितेर बाँधीकन उनलाई अधीनमा ल्याउन सक्छौँ, सो प्रकट गर्न फकाउनू। हामी प्रत्येकले तिमीलाई चाँदीका एघार सय सेकेल सिक्‍का दिनेछौँ।”

[6] यसकारण दलीलाले शिमशोनलाई भनी, “कृपया मलाई भन्‍नुहोस्, तपाईंको महान् शक्तिको रहस्य केमा छ, र तपाईंलाई कसरी बाँधेर वशमा पार्न सकिन्छ?”

[7] शिमशोनले त्यसलाई भने, “यदि कसैले मलाई सात वटा नसुकाएका नयाँ धनुका ताँदाले बाँध्यो भने म अरू मानिसझैँ कमजोर भइहाल्नेछु।”

[8] तब पलिश्तीका शासकहरूले त्यसलाई नसुकाएका सात वटा ताजा ताँदा ल्याइदिए, र त्यसले उनलाई तिनैले बाँधी।

[9] त्यसले कोठामा मानिसहरूलाई लुकाइराखेकी थिई। तब त्यसले कराई, “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे!” तर उनले ताँदालाई ज्वालामा धागो हाल्दा चुँडिएझैँ सजिलैसित चुँडाइदिए। यसरी उनको बलको भेद थाहा पाउन सकिएन।

[10] तब दलीलाले शिमशोनलाई भनी, “तपाईंले मलाई मूर्ख बनाउनुभयो; तपाईंले मलाई ढाँट्नुभयो। कृपया, यस पटक मलाई भन्‍नुहोस्, तपाईंलाई कसरी बाँध्न सकिन्छ?”

[11] उनले भने, “यदि कसैले मलाई कहिल्यै प्रयोग नगरिएका नयाँ डोरीहरूले राम्रोसित बाँध्यो भने म अरू मानिसझैँ कमजोर भइहाल्नेछु।”

[12] यसकारण दलीलाले नयाँ डोरीहरू ल्याई, र ती डोरीहरूले उनलाई बाँधी। त्यसले कोठामा मानिसहरूलाई लुकाइराखेकी थिई। तब त्यसले कराएर भनी, “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे!” तर उनले ती पाखुराका डोरीहरूलाई धागोझैँ चुँडाइदिए।

[13] तब दलीलाले शिमशोनलाई भनी, “तपाईंले मलाई अहिलेसम्म मूर्ख बनाउँदै र ढाँट्दै हुनुहुन्छ। तपाईंलाई कसरी बाँध्न सकिन्छ? मलाई भन्‍नुहोस्।” उनले जवाफ दिए, “यदि तिमीले मेरा कपालका सात वटा लट्टाहरूलाई तानमा बुनेर किलामा बाँधिदियौ भने म अरू मानिसझैँ कमजोर भइहाल्नेछु।” यसकारण त्यसले उनी सुतेको बेला उनको कपालका सात वटा लट्टाहरू लिएर बाटी;

[14] तब त्यसलाई किलामा कसिदिई। त्यसले फेरि उनलाई बोलाई, “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे!” उनी निद्राबाट बिउँझेँ, र तानलाई किलासमेत उखेलिदिए।

[15] तब त्यसले उनलाई भनी, “तपाईंले ‘म तिमीलाई प्रेम गर्छु’ भनी कसरी भन्‍न सक्नुहुन्छ? जबकि तपाईंले मलाई भेद नै बताउन सक्नुहुन्‍न? तपाईंले मलाई मूर्ख बनाउनुभयो, र आफ्नो महान् शक्तिको भेद नबताउनुभएको यो तेस्रो पटक हो।”

[16] यस्तो कचकचले दिनदिनै वाक्‍क पार्दा उनलाई दिक्‍क लाग्यो।

[17] यसकारण उनले सबै कुरा भनिदिए। उनले भने, “मेरो शिरमा कहिल्यै छुरा परेको छैन; किनकि म आमाको गर्भदेखि नै परमेश्‍वरको निम्ति अलग गरिएको एउटा नाजिरी हुँ। यदि मेरो कपाल खौरियो भने मेरो शक्ति मबाट गइहाल्नेछ, र म अरू मानिसझैँ कमजोर हुनेछु।”

[18] उनले आफूलाई सबै कुरा बताइदिएका थाहा पाएर दलीलाले पलिश्तीहरूकहाँ यसरी समाचार पठाई, “फेरि एकपल्ट फर्किआउनुहोस्; उनले मलाई सबै कुरा बताएका छन्।” यसकारण पलिश्तीका शासकहरू हातमा चाँदी लिएर आए।

[19] उनलाई आफ्नो काखमा सुताएर त्यसले कपाल खौरिनको निम्ति एक जना मानिसलाई बोलाई, र तिनलाई वशमा पार्न थाली। यसरी उनको शक्ति उनीबाट गइहाल्यो।

[20] तब त्यसले बोलाई “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे!” उनी आफ्नो निद्राबाट बिउँझेँ, र पहिलेझैँ बाहिर गएर आफूलाई स्वतन्त्र तुल्याउनेछु भनी सम्झे। तर आफूलाई याहवेहले त्यागिसक्नुभएको छ भनी उनलाई थाहै भएन।

[21] तब पलिश्तीहरूले उनलाई पक्रेर उनका आँखाहरू निकालिदिए, र उनलाई तल गाजामा लगे। उनलाई काँसोका साङ्लाहरूले बाँधेर तिनीहरूले झ्यालखानामा जाँतो पिँध्न लगाए।

[22] तर उनका खौरिसकेका शिरका केश फेरि बढ्न लाग्यो।

[23] अब आफ्नो देवता दागोनकहाँ एउटा महान् बलि चढाउन भनी पलिश्तीहरूका शासकहरू यसो भन्दै उत्सव मनाउन भेला भए, “हाम्रा देवताले हाम्रो शत्रु शिमशोनलाई हाम्रो हातमा सुम्पिदिनुभएको छ।”

[24] जब मानिसहरूले उनलाई देखे, तब तिनीहरूले यसो भन्दै आफ्ना देवताको प्रशंसा गरे, “हाम्रा देवताले हाम्रा शत्रुलाई हाम्रा हातमा सुम्पिदिएका छन्। हाम्रो देशलाई उजाड पारिदिने र हाम्रा धेरैलाई मार्नेलाई।”

[25] तिनीहरू साह्रै उत्साहित भएको बेला तिनीहरू यसो भनेर कराए, “हामीलाई खेलतमाशा देखाउन शिमशोनलाई ल्याओ।” यसकारण तिनीहरूले शिमशोनलाई झ्यालखानाबाट झिकाए, र उनले तिनीहरू सबैको सामु खेलतमाशा देखाए। तिनीहरूले उनलाई खम्बाहरूको बीचमा उभ्याए,

[26] अनि शिमशोनले आफ्ना हात समात्ने नोकरलाई भने, “मलाई मन्दिरलाई अडाउने खम्बाहरूमा राखिदे, र म त्यहाँ अडेस लाग्न सकूँ।”

[27] त्यो मन्दिरचाहिँ पुरुष र स्त्रीहरूले खचाखच भरिएको थियो। अनि पलिश्तीहरूका सबै शासकहरू पनि त्यहाँ थिए। छतमा चाहिँ प्राय: तीन हजार जति पुरुष र स्त्रीहरू शिमशोनको तमाशा हेरिरहेका थिए।

[28] तब शिमशोनले याहवेहसित प्रार्थना गरे, “हे प्रभु याहवेह, मलाई सम्झनुहोस्! हे परमेश्‍वर, मलाई एकैपल्ट मात्र सामर्थी तुल्याउनुहोस्! मेरा आँखाहरूका निम्ति पलिश्तीहरूलाई एकै प्रहारमा बदला लिन दिनुहोस्।”

[29] तब शिमशोन मन्दिरलाई थामिराख्ने दुई वटा खम्बाहरूका बीचमा पुगे। तिनीहरूमा बलियोसित अडेसिएर आफ्नो दाहिने हात एउटामाथि र देब्रे हात अर्कोमाथि राखे;

[30] अनि उनले भने, “मलाई पलिश्तीहरूसितै मर्न दिनुहोस्!” तब शिमशोनले आफ्नो पूरा शक्ति लगाएर ठेले, र मन्दिर ती शासकहरू र त्यसमा भएका मानिसहरूमाथि ढल्यो। यसरी उनले आफू बाँचेको समयको भन्दा झन् धेरै मानिसहरूलाई मारे।

[31] तब उनका दाजुभाइहरू र उनका बुबाका सम्पूर्ण परिवार उनलाई लिन तल झरे। तिनीहरूले उनको लास लगे, र सोरा र एश्तोलको बीचमा उनका बुबा मानोहको चिहानमा गाडे। उनले इस्राएलमाथि बीस वर्षसम्म नेतृत्व गरे।

न्यायकर्ता — Chapters