[1] एहूद मरेपछि इस्राएलीहरूले फेरि याहवेहको दृष्टिमा दुष्टता गरे।
[2] यसकारण याहवेहले तिनीहरूलाई हासोरमा राज गर्ने कनानका राजा याबीनका हातमा बेचिदिनुभयो। तिनको फौजको सेनापतिचाहिँ हेरोशेत-हग्गोयिममा बस्ने सीसरा थियो।
[3] तिनीसित फलामका नौ सय वटा रथहरू थिए। अनि तिनले इस्राएलीहरूलाई निर्दयतासाथ बीस वर्षसम्म सताए; तब तिनीहरूले सहायताको निम्ति याहवेहलाई पुकारे।
[4] त्यस बेला इस्राएलको नेतृत्व लप्पीदोतकी पत्नी अगमवादिनी दबोराले गरिरहेकी थिइन्।
[5] दबोरा एफ्राइमको पहाडी मुलुक रामा र बेथेलको बीचमा खजूरको फेदमा बस्ने गर्दथिन्। इस्राएलीहरू आफ्ना झगडा मिलाउन तिनीकहाँ आउँथे।
[6] तब तिनले नप्तालीको केदेशबाट अबीनोअमका छोरा बाराकलाई बोलाइपठाइन् र भनिन्, “याहवेह इस्राएलका परमेश्वर तिमीलाई यसो भनी आज्ञा दिनुहुन्छ: ‘तँसित नप्ताली र जबूलूनका दश हजार मानिसहरूलाई तबोर डाँडामा लैजा।
[7] म याबीनका फौजको सेनापति सीसरालाई उसका रथहरू र फौजसहित कीशोन नदीमा ल्याउनेछु। अनि त्यसलाई तेरो हातमा सुम्पिदिनेछु।’ ”
[8] बाराकले तिनलाई भने, “यदि तपाईं मसित जानुभयो भने म जानेछु; तर तपाईं मसित जानुभएन भने म जानेछैनँ।”
[9] दबोराले भनिन्, “निश्चय नै म तिमीसँग जानेछु। तर तिम्रो यस्तो व्यवहारले गर्दा तिम्रो सम्मानचाहिँ हुनेछैन। किनकि याहवेहले सीसरालाई एउटी स्त्रीको हातमा दिनुहुनेछ।” यसरी दबोरा बाराकसित केदेशमा गइन्।
[10] तब बाराकले जबूलून र नप्तालीलाई केदेशमा बोलाए। अनि दश हजार मानिसहरू तिनका पछि लागे, र दबोरा पनि तिनीसँगै माथि गइन्।
[11] अब केनी हेबेरले अरू केनीहरू, अर्थात् मोशाका साला होबाबका सन्तानहरूलाई छाडेर केदेशको छेउमा सानन्नीममा भएको ठूलो रूखनिर आफ्नो पाल टाँगेका थिए।
[12] जब तिनले सीसरालाई अबीनोअमका छोरा बाराक तबोर डाँडामा उक्लेर गएको कुरा भनिदिए,
[13] तब सीसराले आफ्ना फलामका नौ सय रथहरू र सबै मानिसहरू एकसाथ भेला गराए। अनि तिनीहरू हेरोशेत-हग्गोयिमबाट कीशोन खोलामा गए।
[14] तब दबोराले बाराकलाई भनिन्, “जाऊ! आजको दिन याहवेहले सीसरालाई तिम्रो हातमा सुम्पिदिनुभएको छ। के याहवेह तिम्रो अगि जानुभएको छैन र?” यसकारण बाराक तबोरबाट ओर्लिए; र दश हजार मानिसहरू तिनका पछि-पछि लागे।
[15] बाराक अगि बढ्दै जाँदा याहवेहले सीसरा र त्यसका सबै रथहरू अनि सेनासमेत तरवारले परास्त गर्नुभयो। सीसरा आफ्नो रथबाट ओर्लेर पैदलै भागे।
[16] तर बाराकले ती रथहरू र सेनालाई हेरोशेत-हग्गोयिमसम्म खेदेर गए। सीसराका सबै फौज तरवारद्वारा मारिए; र एउटै मानिस पनि जीवित रहेन।
[17] तरै पनि सीसराचाहिँ पैदलै भागेर केनी हेबेरकी पत्नी याएलको पालमा गए, किनकि हासोरका राजा याबीन र केनी हेबेरका परिवारको बीचमा शान्ति थियो।
[18] याएलले सीसरालाई भेट्न गएर तिनलाई भनिन्, “मेरा मालिक, भित्रै आउनुहोस्, नडराउनुहोस्!” यसकारण तिनी उनको पालभित्र पसे। अनि उनले तिनीमाथि एउटा ओढ्ने ओढाइदिइन्।
[19] तिनले भने, “मलाई अलिकति पानी पिउन देऊ। म तिर्खाएको छु।” तिनले उनलाई दूधको भाँडो खोलेर दूध पिउन दिइन्, र ओढ्ने ओढाइदिइन्।
[20] सीसराले तिनलाई भने, “पालको ढोकामा उभिरहनू। यदि कोही आएर तिमीलाई यहाँ कोही छ? भनी सोध्यो भने, तिमीले ‘छैन’ भनिदेऊ।”
[21] तर हेबेरकी पत्नी याएलले पालको कीला र एउटा मुङ्ग्रो लिइन्। अनि सीसरा थाकेर भुसुक्क निदाएको बेला तिनीकहाँ बिस्तारै गइन्। तिनले सीसराको कन्चट छिचोलेर भुइँसम्मै पुग्ने गरी त्यो किला ठोकिदिइन् र तिनी मरे।
[22] बाराकले सीसरालाई खेद्दै आउँदा याएल तिनलाई भेट्न बाहिर गइन्। अनि तिनले भनिन्, “आउनुहोस्, तपाईंले खोज्नुभएको मानिसलाई म देखाउनेछु।” यसकारण तिनी उनीसित भित्र पसे; तब सीसरालाई आफ्नो कन्चटमा किला गाडिएर मरिरहेका भेट्टाए।
[23] त्यो दिन परमेश्वरले इस्राएलीहरूका सामु कनानी राजा याबीनलाई हराउनुभयो।
[24] इस्राएलीहरूले याबीनलाई नष्ट नपारेसम्म तिनीहरूका हात उनीमाथि झन्-झन् बलियो हुँदैगए।