Skip to content
Opens in a new window
Listen to this chapter • 6:05

[1] याहवेहका दूत गिलगालबाट माथि बोकीममा गएर भने, “मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ, र तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खाएको देशमा ल्याइपुर्‍याएँ। मैले भनेँ, ‘तिमीहरूसित म आफ्नो करार कहिल्यै भङ्ग गर्नेछैनँ।

[2] अनि तिमीहरूले यस देशका मानिसहरूसित करार नबाँध्नू, तर तिमीहरूले तिनीहरूका वेदीहरू भत्काइदिनू।’ तापनि तिमीहरूले मेरो आज्ञा भङ्ग गर्‍यौ। तिमीहरूले किन यसो गर्‍यौ?

[3] यसकारण, ‘अब म तिमीहरूलाई भन्दछु, म तिनीहरूलाई धपाउनेछैनँ; ती तिमीहरूका निम्ति जाल र तिनीहरूका देवताहरू तिमीहरूका निम्ति पासो बन्‍नेछन्।’ ”

[4] याहवेहका दूतले सारा इस्राएलीहरूलाई यो भनिसकेपछि मानिसहरू ठूलो सोरले रोए।

[5] अनि तिनीहरूले त्यस ठाउँलाई बोकीम भने। त्यहाँ तिनीहरूले याहवेहका निम्ति बलिदान चढाए।

[6] यहोशूले इस्राएलीहरूलाई बिदा गरेपछि हरेक आफ्नो उत्तराधिकार प्राप्‍त गर्नको निम्ति तिनीहरू देशलाई अधिकार गर्न गए।

[7] यहोशू र तिनीभन्दा धेरै बाँचेका प्रधानहरूका जीवनकालभरि नै सबै मानिसहरूले याहवेहको सेवा गर्दैरहे। तिनीहरूले याहवेहले इस्राएलका निम्ति गर्नुभएको महान् कामहरू देखेका थिए।

[8] याहवेहका सेवक नूनका छोरा यहोशू एक सय दश वर्षको उमेरमा मरे।

[9] तिनीहरूले यहोशूलाई तिनको उत्तराधिकारको देश गाश डाँडाको उत्तरमा एफ्राइमको पहाडी मुलुकमा भएको तिम्नथ-हेरेसमा गाडे।

[10] त्यो सम्पूर्ण पुस्ता आफ्ना पितापुर्खाहरूसित मिल्न गए। अनि अर्को पुस्ता बढेर आयो, जसले न त याहवेहलाई चिन्दथ्यो, न त उहाँले इस्राएलका निम्ति गर्नुभएका कुराहरू नै जान्दथ्यो।

[11] तब इस्राएलीहरूले याहवेहको दृष्‍टिमा दुष्‍ट काम गरे, र बालको सेवा गरे।

[12] तिनीहरूले याहवेह आफ्ना पितापुर्खाहरूका परमेश्‍वरलाई त्यागे, जसले तिनीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभएको थियो। तिनीहरू आफ्ना वरिपरिका मानिसहरूका देवी-देवताहरूको पछि लागेर तिनीहरूलाई पुज्न थाले। तिनीहरूले याहवेहलाई रिस उठाए;

[13] किनकि तिनीहरूले याहवेहलाई त्यागे; अनि बाल र अश्तोरेत देवी-देवताहरूको सेवा गरे।

[14] इस्राएलप्रति आफ्नो क्रोधमा याहवेहले तिनीहरूलाई आक्रमणकारीहरूका हातमा सुम्पिदिनुभयो, जसले तिनीहरूलाई लुटे। उहाँले तिनीहरूलाई आफ्ना चारैतिरका शत्रुहरूकहाँ बेचिदिनुभयो, जसलाई तिनीहरूले रोक्न सकेनन्।

[15] जहाँ-जहाँ इस्राएलीहरू लडाइँ गर्न निस्कन्थे, त्यहीँ नै याहवेहले तिनीहरूसित शपथ खानुभएझैँ उहाँका हात तिनीहरूलाई पराजित पार्न तिनीहरूको विरुद्धमा हुन्थ्यो। त्यसैले तिनीहरू ठूलो सङ्कष्‍टमा परे।

[16] तब याहवेहले न्यायकर्ताहरू खडा गर्नुभयो, जसले तिनीहरूलाई ती आक्रमणकारीहरूका हातबाट बचाए।

[17] तापनि तिनीहरूले आफ्ना न्यायकर्ताहरूका कुरा सुनेनन्, तर अरू देवी-देवताहरूसित व्यभिचार गरे र तिनीहरूलाई पुजिरहे। तिनीहरू आफ्ना पितापुर्खाहरूका मार्ग, जसले याहवेहका आज्ञापालन गर्दथे, तिनीहरूका मार्गलाई चाँडै छोडिदिए।

[18] जब-जब याहवेहले कुनै न्यायकर्तालाई तिनीहरूका निम्ति खडा गर्नुभयो, तब उहाँ त्यस न्यायकर्ताको साथमा रहनुहुन्थ्यो, र त्यो न्यायकर्ता बाँचुन्जेल उहाँले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातबाट बचाउनुहुन्थ्यो; किनकि तिनीहरूलाई थिचोमिचो गर्ने र सताउनेहरूको अधीनमा तिनीहरूले जहिले सुस्केरा हाले तापनि याहवेहले तिनीहरूलाई दया देखाउनुभयो।

[19] तर त्यो न्यायकर्ता मरेपछि ती मानिसहरू अरू देवी-देवताहरूको पछि लागेर तिनीहरूलाई पुज्दै आफ्ना पितापुर्खाहरूभन्दा बढी भ्रष्‍ट चालतिर फर्कन्थे। तिनीहरूले आफ्ना दुष्‍ट कामहरू र हठी मार्गलाई त्याग्न अस्वीकार गरे।

[20] यसकारण याहवेह इस्राएलसँग अति क्रोधित हुनुभयो र भन्‍नुभयो, “यस जातिले मैले तिनीहरूका पितापुर्खाहरूका निम्ति राखिदिएको करार भङ्ग गरेका हुनाले र मेरो कुरा नसुनेको कारणले,

[21] यहोशूको मृत्युपछि उसले छोडिराखेका कुनै पनि जातिलाई म तिनीहरूको सामु अब धपाउनेछैनँ।

[22] इस्राएललाई जाँच्न म तिनीहरूलाई प्रयोग गर्नेछु; र तिनीहरू याहवेहको मार्गलाई मानेर आफ्ना पितापुर्खाहरू त्यसमा हिँडेझैँ तिनीहरू हिँड्छन् कि हिँड्दैनन् भनी हेर्नेछु।”

[23] याहवेहले ती जातिहरूलाई रहिरहन दिनुभयो; उहाँले तिनीहरूलाई यहोशूको हातमा पर्न दिएर एकैचोटि धपाउनुभएन।

न्यायकर्ता — Chapters