Skip to content
Opens in a new window
Listen to this chapter • 3:48

[1] परमेश्‍वरको इच्छाअनुसार ख्रीष्‍ट येशूका प्रेरित पावलबाट, एफिससमा भएका ख्रीष्‍ट येशूमा विश्‍वासयोग्य पवित्र जनहरूलाई:

[2] हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति!

[3] हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको प्रशंसा होस्, जसले हामीलाई ख्रीष्‍टमा हरेक आत्मिक आशिष्‌ले स्वर्गीय स्थानहरूमा आशिष् दिनुभएको छ।

[4] किनकि उहाँको दृष्‍टिमा हामी प्रेममा पवित्र र निष्खोट हुन सकौँ भनेर उहाँले हामीलाई संसारको सृष्‍टिभन्दा पहिल्यै ख्रीष्‍टमा चुन्‍नुभयो।

[5] हामीलाई उहाँको आफ्नो आनन्द र इच्छाअनुसार उहाँले येशू ख्रीष्‍टद्वारा आफ्नो परिवारमा समावेश गराउनलाई पूर्वनिर्धारण गर्नुभयो,

[6] ताकि हामीलाई आफ्ना प्रिय पुत्रद्वारा सित्तैँमा दिनुभएको उहाँको महिमित अनुग्रहको प्रशंसा होस्।

[7] परमेश्‍वरको अनुग्रहको प्रशस्तताअनुसार ख्रीष्‍टको रगतद्वारा हामीले उहाँमा उद्धार र पापहरूको क्षमा पाएका छौँ।

[8] परमेश्‍वरले आफ्नो सम्पूर्ण बुद्धि र समझशक्तिमा हामीलाई प्रशस्त गरी अनुग्रह दिनुभयो।

[9] उहाँले आफ्नो असल अभिप्रायअनुसार आफ्नो इच्छाको रहस्य हामीकहाँ प्रकट गर्नुभएको छ, जुन रहस्य ख्रीष्‍टमा राख्नुभएको थियो,

[10] ताकि जब समयहरूको पूर्णता हुन्छ, तब स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरू ख्रीष्‍टको अधीनको एकतामा ल्याइनेछन्।

[11] उहाँले आफ्नो इच्छाअनुसारको उद्देश्य पूरा गर्न सबै काम गर्नुहुन्छ, उहाँको योजनाअनुसार पूर्वनिर्धारण गरेर हामीलाई पनि उहाँमा नै चुन्‍नुभएको छ।

[12] हामी जसले ख्रीष्‍टमा पहिल्यै आशा राखेका छौँ, उहाँको महिमाको प्रशंसाको कारण बन्‍न सकौँ।

[13] जब तिमीहरूले सत्यको वचन आफ्नो मुक्तिको सुसमाचार सुन्यौ, तिमीहरू पनि ख्रीष्‍टमा समावेश भयौ। जब उहाँमा नै तिमीहरूले विश्‍वास गर्‍यौ, तब तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्माद्वारा छाप लगाइएको थियो।

[14] परमेश्‍वरको महिमाको प्रशंसाका निम्ति, तिनीहरू जो उहाँका सम्पत्ति हुन्, पवित्र आत्मा तिनीहरूको पूर्ण उद्धार नहुन्जेल उत्तराधिकारको बैना हुनुहुन्छ।

[15] त्यसैले जबदेखि मैले प्रभु येशूमा तिमीहरूको विश्‍वास र सबै सन्तप्रति तिमीहरूको प्रेमको बारेमा सुनेँ,

[16] मैले तिमीहरूलाई प्रार्थनामा सम्झना गर्दै तिमीहरूका निम्ति धन्यवाद दिन छोडेको छैनँ।

[17] मैले यही बिन्ती गरिरहेको छु, कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई बुद्धि र प्रकाशको आत्मा देऊन्, ताकि तिमीहरूले उहाँलाई अझ राम्रोसँग जान्‍न सक।

[18] म प्रार्थना गर्दछु, तिमीहरूका हृदयका आँखा खोलिऊन्, जुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनुभयो, जुनचाहिँ उहाँका सन्तहरूका महिमित उत्तराधिकारको सम्पत्ति हो, सो तिमीहरूले जान्‍न सक।

[19] म यो पनि प्रार्थना गर्दछु, परमेश्‍वरको शक्तिको अतुलनीय महानता, जो उहाँमा विश्‍वास गर्ने हामीहरूका निम्ति हो, तिमीहरूले बुझ्न सक। यो शक्ति महान् सामर्थ्य हो,

[20] जसलाई प्रयोग गरेर उहाँले ख्रीष्‍टलाई मृतकबाट पुनर्जीवित पार्नुभयो र स्वर्गीय स्थानहरूमा आफ्नै दाहिने हाततिर बसाल्नुभयो।

[21] अनि सबै प्रधानता र अधिकार, शक्ति र राज्य र यस युगमा मात्र होइन, तर आउने युगमा पनि सबै नामभन्दा माथि उहाँलाई राख्नुभयो।

[22] यसर्थ परमेश्‍वरले सबै कुरा उहाँको पाउमुनि राखिदिनुभयो र मण्डलीका निम्ति उहाँलाई नै सबै कुरामाथि शिर तुल्याइदिनुभयो,

[23] जुन मण्डली उहाँको शरीर हो; उहाँको पूर्णता हो, जसलाई उहाँले नै सबै कुराले सबै तरिकाले भरिपूर्ण पारिदिनुहुन्छ।

एफिसी — Chapters