Skip to content
Opens in a new window
Listen to this chapter • 3:46

[1] तिमीहरू आफ्ना अपराधहरू र पापहरूमा मरेका थियौ,

[2] जुन पापहरूमा तिमीहरू जिउने गर्दथ्यौ; जब तिमीहरू यस संसारको मार्गअनुसार र आकाशको राज्यको शासकअनुसार पछ्याउँथ्यौ, अहिले त्यो आत्माले अनाज्ञाकारीहरूका जीवनमा काम गरिरहेको छ।

[3] हामीहरू सबै पनि एक समयमा तिनीहरूजस्तै हाम्रा शारीरिक लालसाहरू पूरा गर्दै यसका अभिलाषाहरू र विचारहरूलाई पछ्याउँदै तिनीहरूका बीचमा जिउने गर्दथ्यौँ; अनि बाँकी मानिसहरूजस्तै हामीहरू पनि स्वभावैले क्रोधका सन्तान थियौँ।

[4] तर कृपाका धनी परमेश्‍वरले हामीप्रतिको उहाँको महान् प्रेमका कारण,

[5] हामी अपराधमा मरेका अवस्थाबाट हामीहरूलाई ख्रीष्‍टसँग जीवित पार्नुभयो—परमेश्‍वरको अनुग्रहबाट नै तिमीहरूले मुक्ति पाएका छौ।

[6] अनि परमेश्‍वरले हामीलाई ख्रीष्‍टसँगै जीवित पार्नुभयो र ख्रीष्‍ट येशूसँगै स्वर्गीय स्थानहरूमा बसाल्नुभयो,

[7] ताकि आउँदा युगहरूमा उहाँको अनुग्रहको अतुलनीय सम्पत्ति ख्रीष्‍ट येशूमा हामीलाई गर्नुभएको दयामा देखाउन सक्नुभएको होस्।

[8] किनकि तिमीहरूले विश्‍वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ; अनि यो मुक्ति तिमीहरू आफैँबाट आएको होइन, तर यो परमेश्‍वरको वरदान हो।

[9] यो कर्महरूबाट होइन, नत्रता मानिसले घमण्ड गर्नेछ।

[10] किनकि हामी परमेश्‍वरद्वारा अगिबाटै असल काम गर्नका लागि ख्रीष्‍ट येशूमा सृजना गरिएका हौँ, जुन परमेश्‍वरले अगिबाटै हामीद्वारा गरिनका लागि तयार गर्नुभएको थियो।

[11] यसकारण याद राख, अगिबाटै तिमीहरू, जो जन्मँदै गैरयहूदीहरू हौ, जसलाई आफ्नो “खतना” (जुन शरीरमा मानिसका हातहरूद्वारा गरिन्छन्) भएकाहरूले “बेखतनाका” भनिन्थ्यो।

[12] सम्झना राख, त्यस बेला तिमीहरू ख्रीष्‍टदेखि अलग, इस्राएलका नागरिक हकबाट वञ्चित थियौ; अनि प्रतिज्ञाका करारहरूबाट बिरानो, आशा नभएका र यस संसारमा परमेश्‍वररहित थियौ।

[13] तर तिमीहरू, जो ख्रीष्‍ट येशूमा बितेको एक समयमा टाढा थियौ, अहिले ख्रीष्‍टको रगतद्वारा नजिक पारिएका छौ।

[14] किनकि उहाँ स्वयम् हाम्रो शान्ति हुनुहुन्छ, जसले यहूदी र गैरयहूदी बीचको विभाजन ल्याउने शत्रुताको पर्खाललाई भत्काइदिनुभएको छ; अनि दुवैलाई एउटै बनाउनुभएको छ।

[15] उहाँले आफ्नै शरीरमा व्यवस्थाका आज्ञा र विधिहरू खारेज गर्नुभयो। उहाँ आफैँमा यी दुई समूहबाट एउटा नयाँ मानिस सृष्‍टि गर्ने र यसरी नै शान्ति स्थापित गर्ने उहाँको उद्देश्य थियो।

[16] अनि यही एउटा शरीरमा क्रूसद्वारा दुवै समूहलाई परमेश्‍वरमा मिलाप गराएर उहाँले तिनीहरूका शत्रुतालाई अन्त्य गर्नुभयो।

[17] उहाँले आएर तिमी टाढा भएका र नजिक भएकाहरूलाई शान्तिको सन्देश प्रचार गर्नुभयो।

[18] किनकि ख्रीष्‍टद्वारा हामी दुवैले एउटै आत्मामा पिताकहाँ पुग्न पाएका छौँ।

[19] फलस्वरूप तिमीहरू अब विदेशी र अपरिचित होइनौ, तर परमेश्‍वरका जनहरूसँग सङ्गी नागरिक र उहाँको घरानाका सदस्यहरू भएका छौ।

[20] त्यो घराना प्रेरितहरू र अगमवक्ताहरूका जगमाथि बसालिएको छ; अनि जसको मुख्य ढुङ्गो ख्रीष्‍ट येशू आफैँ हुनुहुन्छ।

[21] उहाँमा नै पूरै भवन ठिकसँग जोडिएको हुन्छ र प्रभुमा एक पवित्र मन्दिर बन्‍नलाई बढ्दैजान्छ।

[22] अनि उहाँमा तिमीहरू पनि आत्माद्वारा वासस्थान बन्‍नलाई एकसाथ निर्माण भइरहेका छौ, जसमा परमेश्‍वर आफ्नो आत्माद्वारा बास गर्नुहुन्छ।

एफिसी — Chapters