Skip to content
Opens in a new window
Listen to this chapter • 4:10

[1] यसकारण तिमीहरू प्रिय बालबालिकाहरूजस्ता परमेश्‍वरको अनुकरण गर्नेहरू होओ;

[2] अनि प्रेमको मार्गमा हिँड, जसरी ख्रीष्‍टले हामीहरूलाई प्रेम गर्नुभयो र परमेश्‍वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर हाम्रो निम्ति आफ्नो प्राण दिनुभयो।

[3] तर तिमीहरूमा कुनै प्रकारको यौन अनैतिकता, अशुद्धता वा लोभको नामसम्म नलिइओस्; किनकि परमेश्‍वरका पवित्र जनहरूका निम्ति यी कुराहरू उचित हुँदैनन्।

[4] अनि कुनै प्रकारका अश्लील, मूर्ख बातचित अथवा बेफाइदाका ठट्यौली नगर्नू; यो ठिक छैन, बरु परमेश्‍वरलाई नै धन्यवाद चढाइयोस्।

[5] किनकि तिमीहरू यो निश्‍चित जान, कुनै व्यभिचारी, अशुद्ध व्यक्ति वा लोभी, यस्तो व्यक्ति मूर्तिपूजक हो; ख्रीष्‍ट र परमेश्‍वरको राज्यको हकदार हुन सक्दैन।

[6] कसैले तिमीहरूलाई खोक्रो कुराहरूले धोका नदेओस्; किनकि यी कुराहरूकै कारण अनाज्ञाकारीहरूमाथि परमेश्‍वरको क्रोध आउँदछ।

[7] यसकारण यी मानिसहरूले गर्ने काममा सहभागी नहोओ!

[8] किनकि तिमीहरू एक समय अन्धकारमा थियौ, तर अहिले तिमीहरू प्रभुमा ज्योति हौ। त्यसैले ज्योतिका सन्तानझैँ हिँड।

[9] किनकि ज्योतिका फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ;

[10] अनि प्रभुलाई मनपर्ने कुरा के हो, त्यो खोज।

[11] अन्धकारका निष्फल कार्यहरूमा सहभागी नहोओ, बरु तिनीहरूलाई प्रकट गरिदेओ।

[12] अनाज्ञाकारीहरूले गुप्‍तमा जे गर्छन्, त्यो भन्‍नु पनि लज्जास्पद कुरा हो।

[13] तर ज्योतिद्वारा प्रकट भएका सबै कुरा प्रष्‍टै देखिन्छ; अनि उज्यालोमा ल्याइएका सबै कुरा ज्योति बन्दछ।

[14] त्यसकारण यस्तो भनिएको छ: “हे निदाउनेहरू, जाग र मरेकाहरूबाट बिउँझ; अनि ख्रीष्‍ट तिमीहरूमा चम्कनुहुनेछ।”

[15] यसकारण तिमीहरू कसरी जिउनुपर्ने हो, त्यसमा होसियार होओ। निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्‌जस्तो होओ।

[16] सबै समयको पूरा सदुपयोग गर; किनकि दिनहरू खराब छन्।

[17] यसकारण मूर्ख नहोओ, तर प्रभुको इच्छा के हो, सो बुझ।

[18] दाखमद्यले नमात्तिओ, यसले जीवन बरबाद गर्छ; बरु पवित्र आत्माले भरपूर होओ।

[19] भजन, स्तुतिगान र आत्मिकी गीतहरूद्वारा एक-अर्कासँग बोल। प्रभुको निम्ति तिमीहरूको हृदयबाट गीत र सङ्गीत निकाल।

[20] हाम्रा प्रभु येशू ख्रीष्‍टको नाममा परमेश्‍वर पितालाई सधैँ सबै कुराको निम्ति धन्यवाद चढाओ।

[21] ख्रीष्‍टप्रतिको श्रद्धाको कारणले आफूलाई एक-अर्काको अधीनमा सुम्प।

[22] हे पत्नीहरू हो, प्रभुको अधीनमा रहेजस्तै आ-आफ्ना पतिहरूका अधीनमा बस।

[23] किनकि पति नै पत्नीको शिर हुन्, जसरी ख्रीष्‍ट पनि उहाँको शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ; जसको निम्ति उहाँ मुक्तिदाता हुनुहुन्छ।

[24] जसरी मण्डली ख्रीष्‍टको अधीनमा छ, त्यसरी नै पत्नीहरू पनि सबै कुरामा तिनीहरूका पतिहरूका अधीनमा रहून्।

[25] हे पतिहरू हो, आ-आफ्नी पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्‍टले मण्डलीलाई प्रेम गर्नुभयो र मण्डलीको निम्ति आफ्नो जीवन दिनुभयो;

[26] कि उहाँले त्यसलाई वचनद्वारा पानीले धोएर पवित्र पार्न सकून्,

[27] र प्रतापी मण्डलीको रूपमा त्यसलाई आफ्नो सामु प्रस्तुत गराऊन्, जसमा कुनै दाग वा चाउरी वा यस्तै अरू कुनै खोट नभएको, तर पवित्र र निष्खोट होस्।

[28] यसरी नै पतिहरूले आ-आफ्नी पत्नीहरूलाई आफ्नै शरीरलाईझैँ प्रेम गर्नुपर्छ। जसले आफ्नी पत्नीलाई प्रेम गर्दछ, त्यसले आफैँलाई प्रेम गर्दछ।

[29] कसैले आफ्नो शरीरलाई घृणा गर्दैन, तर उसले यसको वास्ता गर्छ र पालनपोषण गर्दछ, जसरी ख्रीष्‍टले मण्डलीलाई गर्नुहुन्छ।

[30] किनकि हामी उहाँका शरीरका अङ्गहरू हौँ।

[31] “यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि ती दुई एउटै शरीर हुनेछन्।”

[32] यो एक अति गहन रहस्य हो, तर मैले ख्रीष्‍ट र मण्डलीबारे कुरा गरिरहेको छु।

[33] हरेकले आफ्नी पत्नीलाई आफैँलाई झैँ प्रेम गरोस्, र पत्नीले आफ्ना पतिको आदर गरोस्।

एफिसी — Chapters