Skip to content
Opens in a new window
Listen to this chapter • 3:16

[1] यसैकारण म पावल, तिमी गैरयहूदीहरूका निम्ति ख्रीष्‍ट येशूको कैदी हुँ—

[2] तिमीहरूका निम्ति मलाई परमेश्‍वरको अनुग्रहको व्यवस्थापन दिइएको बारेमा तिमीहरूले पक्‍कै सुनेका छौ।

[3] जुन प्रकाशद्वारा त्यो रहस्य मलाई प्रकट गरिएको थियो; जसको बारेमा मैले छोटकरीमा लेखिसकेको छु।

[4] तिमीहरूले जब यो पढ्नेछौ, ख्रीष्‍टको रहस्यबारे मेरो अन्तर्दृष्‍टि बुझ्नेछौ।

[5] जुन कुरा अगाडिको पुस्ताका मानिसहरूलाई प्रकट गरिएको थिएन, तर अहिले परमेश्‍वरका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई आत्माद्वारा प्रकट भएको छ।

[6] यो रहस्य के हो भने सुसमाचारमा विश्‍वास गरेर गैरयहूदीहरू पनि इस्राएलसँगै उत्तराधिकारी, एउटै शरीरका सदस्य, र ख्रीष्‍ट येशूमा भएको प्रतिज्ञामा साझेदार हुन्छन्।

[7] परमेश्‍वरको शक्तिको कामअनुसार मलाई दिइएको उहाँको अनुग्रहको वरदानद्वारा म यस सुसमाचारको सेवक बनिएँ।

[8] यद्यपि प्रभुका सबै सन्तहरूभन्दा म सानो व्यक्ति भए तापनि ख्रीष्‍टमा पाइने अगम्य सम्पत्तिको सुसमाचारबारे गैरयहूदीहरूलाई प्रचार गर्नलाई यो अनुग्रह मलाई दिइयो।

[9] अनि सबै थोक सृष्‍टि गर्नुहुने परमेश्‍वरले युगौँयुगसम्म लुकाएर राखिएको यो रहस्यको प्रबन्धबारे सबैलाई सरल ढङ्गमा बुझाउने अनुग्रह मलाई दिनुभयो।

[10] स्वर्गीय स्थानहरूमा भएका शासकहरू तथा अधिकारीहरूलाई परमेश्‍वरको धेरै गुना ज्ञान अब मण्डलीद्वारा प्रकट होस् भन्‍ने उहाँको अभिप्राय थियो।

[11] जुन अभिप्रायचाहिँ उहाँले हाम्रा प्रभु ख्रीष्‍ट येशूमा पूरा गर्नुभएको अनन्त योजनाअनुसार थियो।

[12] उनै प्रभुमा, र उहाँमाथि राखिएको हाम्रो विश्‍वासद्वारा साहस र निश्‍चयतासाथ हामी परमेश्‍वरको उपस्थितिमा पुग्नसक्छौँ।

[13] यसकारण म यो निवेदन गर्दछु, मैले तिमीहरूका निम्ति भोगिरहेका कष्‍टहरूका कारण निरुत्साहित नहोओ, यी त तिमीहरूका गौरव हुन्।

[14] यसैकारण म पिताको सामु घुँडा टेक्दछु,

[15] जसद्वारा स्वर्गमा र पृथ्वीमा भएका हरेक परिवारको नाम राखिएको छ।

[16] म यो प्रार्थना गर्छु, उहाँको महिमित सम्पत्तिअनुसार उहाँले तिमीहरूको भित्री मनुष्यत्वमा उहाँको आत्माको शक्तिद्वारा बलवान् बनाऊन्;

[17] ताकि ख्रीष्‍ट तिमीहरूका हृदयमा विश्‍वासद्वारा बास गरिरहून्। अनि म यो पनि प्रार्थना गर्छु, तिमीहरू प्रेममा जरा गाडेका र स्थापित हुँदै

[18] प्रभुका सबै सन्तहरू सँगसँगै ख्रीष्‍टको प्रेमको चौडाइ, लम्बाइ, उचाइ र गहिराइ कति छ भनी तिमीहरूले बुझ्ने शक्ति पाउन सक;

[19] अनि सबै समझभन्दा बाहिरको ख्रीष्‍टको प्रेम जान्‍न सक, ताकि परमेश्‍वरको सारा पूर्णताको नापसम्म तिमीहरू भरिपूर्ण हुन सक।

[20] अब उहाँलाई, जसले हामीभित्र काम गर्ने आफ्नो शक्तिअनुसार हामीले मागेको वा सोचेकोभन्दा ज्यादै प्रशस्त गरी गर्न सक्नुहुन्छ;

[21] उहाँलाई नै मण्डली र ख्रीष्‍ट येशूमा पुस्ता-पुस्तासम्म सदासर्वदा महिमा भइहोस्! आमेन।

एफिसी — Chapters