Skip to content
Opens in a new window
Listen to this chapter • 2:51

[1] दाजुभाइ-दिदीबहिनीहरू हो, यदि कुनै मानिस पापमा पक्राउ पर्‍यो भने तिमीहरू जो आत्मिक छौ, तिमीहरूले नै उसलाई नम्रतासाथ सुधार गर, तर तिमी आफैँ पनि होसियारी बस; नत्रता तिमी पनि परीक्षामा परौला।

[2] एक-अर्काको बोझ उठाओ र यसरी नै ख्रीष्‍टको व्यवस्था पूरा गर।

[3] यदि कसैले आफू केही नभए तापनि केही हुँ भनी सोच्दछ भने त्यसले आफूलाई नै धोका दिन्छ।

[4] प्रत्येकले आफ्नै कामको जाँच गर्नुपर्छ। तब आफूलाई अरू कसैसँग तुलना नगरी आफैँमा गर्व गर्न सक्छ।

[5] किनकि हरेक आफ्नो कार्यको आफैँ जिम्मेवार हुन्छ।

[6] तापनि जसले वचनको शिक्षा पाउँछ, उसले आफ्ना सबै असल थोकहरू वचन सिकाउनेसँग बाँडचुँड गर्नुपर्दछ।

[7] धोकामा नपर: परमेश्‍वरलाई झुक्याउन सकिँदैन। किनकि मानिसले जे रोप्दछ, त्यसैको कटनी पनि गर्दछ।

[8] जसले आफ्नो शरीरको पापमय स्वभावलाई खुशी पार्न रोप्दछ, त्यसले पापमय स्वभावबाट नै सर्वनाशको कटनी पनि गर्नेछ। तर जसले परमेश्‍वरको आत्माको लागि रोप्दछ, त्यसले परमेश्‍वरको आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ।

[9] हामी भलाइ गर्न नथाकौँ; किनकि यदि हिम्मत हारेनौँ भने हामीले ठिक समयमा फसल कटनी गर्नेछौँ।

[10] यसकारण मौका छँदै सबै मानिसहरूको भलाइ गर्दै जाऔँ, विशेष गरी विश्‍वासमा हुने परिवारलाई भलाइ गरौँ।

[11] हेर, मैले तिमीहरूलाई आफ्नै हातले कति ठूला-ठूला अक्षरमा पत्र लेखेको छु।

[12] जो पापमय स्वभावद्वारा मानिसहरूलाई प्रभाव पार्न चाहन्छ, तिनीहरूले तिमीहरूलाई खतना गर्न बाध्य गराउँछन्। उनीहरूले यसो गराउनुको कारणचाहिँ ख्रीष्‍टको क्रूसको सन्देशबाट हुने सतावटबाट जोगिन मात्र हो।

[13] खतना गर्नेहरूले पनि व्यवस्था पालन गर्दैनन्, तापनि तिमीहरूको खतना भएको तिनीहरू चाहन्छन्, ताकि तिमीहरूको शरीरको खतनामा उनीहरूले घमण्ड गर्न सकून्।

[14] मैले हाम्रा प्रभु येशू ख्रीष्‍टको क्रूसमा बाहेक अरू कुनै कुरामा घमण्ड गर्न नपरोस्, जसद्वारा संसार मेरा निम्ति, र मचाहिँ संसारका निम्ति क्रूसमा टाँगिएको छ।

[15] खतनाको होस् वा बेखतनाको होस् कुनै अर्थ छैन, तर ख्रीष्‍टमा भएको नयाँ सृष्‍टिचाहिँ अर्थपूर्ण छ।

[16] यो नियम पालन गर्ने सबै जना र परमेश्‍वरको इस्राएलमाथि शान्ति र कृपा रहून्।

[17] अन्त्यमा, अब उसो कसैले मलाई कष्‍ट नदेओस्; किनकि मैले मेरो शरीरमा येशूका डामहरू धारण गरेको छु।

[18] दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्! आमेन।

गलाती — Chapters