Skip to content
Opens in a new window
Listen to this chapter • 10:12

[1] अहासूरसका छोरा दाराको (मादी वंशका) शासनकालको पहिलो वर्षमा, जसलाई बेबिलोनी राज्यको शासक तुल्याइएका थिए—

[2] तिनको शासनकालको पहिलो वर्षमा, म, दानिएलले यर्मिया अगमवक्तालाई याहवेहद्वारा दिइएको वचनअनुसार धर्मशास्त्रबाट यो बुझेँ, कि यरूशलेमको उजाड अवस्था सत्तरी वर्षसम्म रहनेछ।

[3] यसकारण म उपवाससाथ भाङ्ग्रा लगाएर खरानी धसी प्रार्थना र अन्तर्बिन्ती गर्दै याहवेह परमेश्‍वरतिर फर्केँ।

[4] मैले याहवेह मेरा परमेश्‍वरलाई प्रार्थना गरेँ, र आफ्ना पापहरू स्वीकार गरेँ: “हे प्रभु, महान् र भययोग्य परमेश्‍वर, जसले उहाँलाई प्रेम गर्नेहरू र उहाँका आज्ञापालन गर्नेहरू सबैसित आफ्नो अचुक प्रेमको करार पूरा गर्नुहुन्छ;

[5] हामीले पाप गरेका छौँ, र भूल गरेका छौँ। हामी दुष्‍ट भएका छौँ, र हामी विद्रोही भएका छौँ; हामी तपाईंका आज्ञाहरू र व्यवस्थाहरूबाट तर्किगएका छौँ।

[6] हामीले तपाईंका सेवक अगमवक्ताहरूका कुरा सुनेनौँ, जसले तपाईंको नाममा हाम्रा राजाहरू, हाम्रा शासकहरू, हाम्रा पितापुर्खाहरू र देशका सबै मानिसहरूसँग बोलेका थिए।

[7] “हे प्रभु, तपाईं धर्मी हुनुहुन्छ, तर आज हामी शर्मले ढाकिएका छौँ—यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरू र सबै इस्राएलीहरू, नजिक र टाढा बस्‍ने दुवै, सबै देशहरूमा, जहाँ हाम्रा अविश्‍वासयोग्यताको कारण तपाईंले हामीलाई तितरबितर पारिदिनुभएको छ।

[8] हे याहवेह, हामी र हाम्रा राजाहरू, हाम्रा शासकहरू र हाम्रा पितापुर्खाहरू शर्मले ढाकिएका छौँ; किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौँ।

[9] प्रभु, हाम्रा परमेश्‍वर कृपालु र क्षमा दिने हुनुहुन्छ; यद्यपि हामीले उहाँको विरुद्धमा विद्रोह गरेका छौँ।

[10] हामीले याहवेह हाम्रा परमेश्‍वरको आज्ञापालन गरेका छैनौँ, अथवा उहाँले आफ्ना सेवक अगमवक्ताहरूद्वारा हामीलाई दिनुभएका व्यवस्थाहरू पालन गरेका छैनौँ।

[11] सारा इस्राएलका मानिसहरूले तपाईंको व्यवस्था उल्‍लङ्घन गरेका छन्, र तपाईंका आज्ञाहरू पालन गर्न अस्वीकार गर्दै तर्किगएका छन्। “यसकारण परमेश्‍वरको सेवक मोशाको व्यवस्थामा लेखिएका श्रापहरू र शपथद्वारा फैसला गरिएका न्यायहरू हामीमाथि खन्याइएका छन्; किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौँ।

[12] तपाईंले हाम्रा र हाम्रा शासकहरूका विरुद्धमा बोलिएका वचनहरू हामीमाथि ठूलो विपत्ति ल्याएर पूरा गर्नुभएको छ। आकाशमुनि सारा संसारभरि कहिल्यै पनि नआएको विपत्ति यरूशलेममाथि आयो।

[13] मोशाको व्यवस्थामा लेखिएको जस्तै हामीमाथि सबै विपत्तिहरू आएका छन्, तापनि हामीले आफ्ना पापहरू त्यागेर तपाईंको सत्यतामा ध्यान दिएर हामीले याहवेह आफ्ना परमेश्‍वरको निगाह खोजेका छैनौँ।

[14] यसकारण हामीमाथि विपत्ति ल्याउनलाई याहवेह हिच्किचाउनुभएन; किनकि याहवेह हाम्रा परमेश्‍वरले गर्नुहुने सबै कुरामा उहाँ धर्मी हुनुहुन्छ; तापनि हामीले उहाँका आज्ञाहरू पालन गरेका छैनौँ।

[15] “अब, हे प्रभु, हाम्रा परमेश्‍वर, जसले आफ्ना मानिसहरूलाई सामर्थी हातद्वारा इजिप्टबाट बाहिर ल्याउनुभयो; अनि जसले आफ्नै निम्ति मानिसहरूका बीचमा एउटा असल नाम राख्नुभयो, जुन नाम आजको दिनसम्म नै याद गरिन्छ। हामीले पाप गरेका छौँ; हामीले भूल गरेका छौँ।

[16] हे प्रभु, तपाईंका सबै धार्मिक कामहरू कायम राख्नुहोस्; अनि आफ्नो रिस र क्रोधलाई तपाईंको सहर यरूशलेम, तपाईंको पवित्र पर्वतबाट हटाउनुहोस्। हाम्रा पापहरू र हाम्रा पितापुर्खाहरूका अधर्महरूले यरूशलेम र तपाईंका मानिसहरूलाई हाम्रा चारैतिर भएका मानिसहरूका निम्ति निन्दाको पात्र बनाइदिएका छन्।

[17] “अब, हे हाम्रा परमेश्‍वर, तपाईंको सेवकको प्रार्थना र अन्तर्बिन्ती सुन्‍नुहोस्। तपाईंको नामको खातिर, हे प्रभु, तपाईंको उजाड पवित्रस्थानलाई निगाहको दृष्‍टिले हेर्नुहोस्।

[18] हे हाम्रा परमेश्‍वर, कान थाप्नुहोस् र सुन्‍नुहोस्; तपाईंको आँखा खोल्नुहोस्, र तपाईंको नाम बोकेको सहरको उजाड अवस्था हेर्नुहोस्। हामी धर्मी भएका कारणले तपाईंलाई बिन्ती गरेका होइनौँ, तर तपाईंको महान् कृपाको कारणले गर्दा बिन्ती गर्छौँ।

[19] हे प्रभु, सुन्‍नुहोस्! हे प्रभु, क्षमा गर्नुहोस्! हे प्रभु, सुन्‍नुहोस् र काम गर्नुहोस्! तपाईंकै खातिर, हे मेरा परमेश्‍वर, विलम्ब नगर्नुहोस्; किनकि तपाईंको सहर यरूशलेम र तपाईंका मानिसहरूले तपाईंको नाम बोकेका छन्।”

[20] जब म बोलिरहेको थिएँ, र प्रार्थना गरिरहेको थिएँ, तब आफ्नो पाप र मेरो जाति इस्राएलको पाप स्वीकार गर्दै र उहाँको पवित्र पर्वतको निम्ति याहवेह, मेरा परमेश्‍वरकहाँ बिन्ती गर्दैथिएँ—

[21] जब म प्रार्थना गरिरहेको थिएँ, तब मैले मेरो पहिलेको दर्शनमा देखेको मानिस गाब्रिएल साँझको बलिदानको समयमा हतार-हतार गरी मकहाँ आए।

[22] तिनले मलाई व्याख्या गरेर भने, “हे दानिएल, अहिले म तिमीलाई अन्तर्दृष्‍टि र समझशक्ति दिनलाई तिमीकहाँ आएको हुँ।

[23] तिमीले प्रार्थना सुरु गर्न थाल्ने बित्तिकै एउटा आज्ञा दिइयो, जुन आज्ञा म तिमीलाई भन्‍न आएको छु; किनकि तिमी धेरै सम्मानित छौ। यसकारण वचनमाथि विचार गर र दर्शनलाई बुझ:

[24] “तिम्रा जाति र तिम्रो पवित्र सहरको अधर्म समाप्‍त गर्न, पापको अन्त्य गर्न, दुष्‍टताको निम्ति प्रायश्‍चित गर्न, अनन्तको धार्मिकता ल्याउन, दर्शन र अगमवाणीमा मोहोरछाप लगाएर बन्द गर्न र महा-पवित्रस्थानलाई अभिषेक गर्नलाई तिम्रा मानिसहरूका निम्ति सत्तरी ‘सातहरू’ आदेश गरिएका छन्।

[25] “यो कुरा जान र बुझ: यरूशलेमको पुनर्स्थापन र पुनर्निर्माण गर्ने उर्दी जारी गरिएको समयदेखि अभिषिक्त जन, शासक नआएसम्म सात वटा ‘सातहरू’ र बयसट्ठी वटा ‘सातहरू’ हुनेछन्। सडकहरू र गल्‍लीहरू समेत पुनर्निर्माण हुनेछन्, तर कष्‍टको समयमा यस्तो हुनेछ।

[26] ती बयसट्ठी वटा ‘सातहरू’ पछि अभिषिक्त जन मारिनेछन्, र तिनको निम्ति केही पनि रहनेछैन। आउने मानिसहरूका शासकले सहर र पवित्रस्थानलाई नष्‍ट गर्नेछ। अन्तचाहिँ बाढीझैँ आउनेछ: बयसट्ठी सातहरूको आखिरसम्म र उजाड अवस्थाको आदेश नआएसम्म युद्ध चलिरहनेछ।

[27] त्यसले एक ‘सात’ सम्मको निम्ति धेरैसँग एउटा करार पक्‍का गर्नेछ। त्यस ‘सात’ को बीच भागमा त्यसले बलिदान र भेटीको अन्त्य गरिदिनेछ। मन्दिरको एक भागमा त्यसले उजाड पार्ने घृणित कुरा खडा गर्नेछ, जबसम्म तोकिएको अन्त्यको समय त्यसमाथि खन्याइदैन।”

दानिएल — Chapters