[1] बेबिलोनका राजा बेलसजरको शासनकालको पहिलो वर्षमा दानिएल आफ्नो पलङमा ढल्किरहेको बेलामा, तिनले एउटा सपना देखे, र तिनको मनमा दर्शनहरू आए। तब तिनले आफ्नो सपना सारांशमा लेखे।
[2] दानिएलले भने: “मेरो रातको दर्शनमा मैले यस्तो देखेँ, मेरो सामु आकाशका चारै दिशाका बतासले महासमुद्रलाई घोलिरहेका थिए।
[3] त्यस समुद्रबाट एक-अर्काबाट भिन्दा-भिन्दै चार वटा विशाल पशुहरू बाहिर निस्केर आए।
[4] “पहिलो पशु सिंहजस्तै थियो, र त्यसका पखेटाहरू चीलका जस्तै थिए। त्यसका पखेटाहरू नउखेलिउन्जेल मैले हेरिरहेँ; अनि त्यो भुइँबाट माथि उठाइयो। त्यसपछि त्यो पशु मानिसझैँ दुई खुट्टामा उभियो र त्यसलाई मानिसको हृदय दिइयो।
[5] “त्यसपछि मैले दोस्रो पशु देखेँ, जुनचाहिँ भालुजस्तै देखिन्थ्यो। त्यो पशु पछाडिको दुई खुट्टामा उभिएको थियो; अनि त्यसको मुखमा दाँतहरूको बीचमा तीन वटा दाह्राहरू थिए। त्यस भालुलाई यसो भनियो, ‘उठ्, र प्रशस्त मासु खा!’
[6] “त्यसपछि मैले मेरो सामु अर्को पशु देखेँ, त्यो चितुवाजस्तै देखिन्थ्यो। अनि त्यसको पिठिउँमा चराका जस्तै चार वटा पखेटाहरू थिए। त्यस जनावरका चार वटा शिरहरू थिए; अनि त्यसलाई चाहिँ शासन गर्ने अधिकार दिइयो।
[7] “त्यसपछि रातको दर्शनमा मैले देखेँ, मेरो सामु चौथो पशु थियो—त्योचाहिँ डरलाग्दो, भयङ्कर र अति शक्तिशाली थियो। त्यसका फलामका ठूला-ठूला दाँतहरू थिए; त्यसले आफ्ना शिकारहरूलाई टुक्रा-टुक्रा पारेर खान्थ्यो, र छोडिएका मासुलाई खुट्टाले कुल्चिन्थ्यो। त्यो पशु पहिलेका अरू सबै पशुहरूभन्दा बेग्लै थियो; अनि त्यसका दश वटा सिङहरू थिए।
[8] “जब मैले ती सिङहरूको बारेमा सोचिरहेको थिएँ, तब मेरो सामु अर्को एउटा सानो सिङ थियो, जुनचाहिँ ती सिङहरूको बीचबाट आएको थियो; अनि पहिलेका सिङहरूमध्येबाट तीन वटा सिङचाहिँ सानो सिङकै सामु जरैसमेत उखेलिए। त्यस सानो सिङको आँखा मानिसका जस्ता आँखा थिए, र त्यसमा अहङ्कारी कुराहरू बोल्ने एउटा मुख थियो।
[9] “मैले हेर्दाहेर्दै, “सिंहासनहरू ठिक ठाउँमा बसालिए; अनि अति प्राचीन आफ्नो सिंहासनमाथि बिराजमान हुनुभयो, उहाँका कपडा हिउँजस्तै सेता थिए; उहाँको शिरको केश ऊनजस्तै सेतो थियो। उहाँको सिंहासन दन्किरहेको आगोको ज्वालाजस्तै थियो; अनि त्यसका चक्काहरू जलिरहेका आगोजस्ता थिए।
[10] उहाँको सामुबाट निस्केर आएको एउटा आगोको नदी बगिरहेको थियो। हजारौँ-हजार स्वर्गदूतले उहाँको सेवाटहल गर्दैथिए; दश हजार गुणा दश हजार स्वर्गदूतहरू उहाँको सामु सेवा गर्न खडा थिए। न्यायाधीश बस्नुभयो, र पुस्तकहरू खोलिए।
[11] “त्यसपछि मैले हेरिरहेँ; किनकि सिङले अहङ्कारी कुराहरू बोलिरहेको थियो। त्यो चौथो पशु मारिएर त्यसको शरीरलाई नष्ट पारेर बलिरहेको आगोमा नफालिएसम्म मैले हेरिरहेँ।
[12] (अरू पशुहरूको अधिकार खोसिएको थियो, तर तिनीहरूलाई तोकिएको केही समयका निम्ति जिउन दिइयो।)
[13] “राति मेरो दर्शनमा मैले देखेँ; अनि त्यहाँ मेरो सामु आकाशका बादलहरूका साथमा मानिसको पुत्रजस्तै आइरहनुभएको थियो। उहाँ अति प्राचीनकहाँ आउनुभयो र उहाँको उपस्थितिमा लगिनुभयो।
[14] उहाँलाई अधिकार, महिमा र सार्वभौम शक्ति दिइयो; सबै जातिहरू र हरेक भाषा बोल्ने मानिसहरूले उहाँलाई दण्डवत् गरे। उहाँको राज्य सदासर्वदाको राज्य हो, जो कहिल्यै पनि बितेर जानेछैन; अनि उहाँको राज्य यस्तो हो, जो कहिल्यै पनि नष्ट हुनेछैन।
[15] “म, दानिएल आफ्नो आत्मामा शोकित भएको थिएँ, र मेरो मनमा आएका दर्शनहरूले मलाई व्याकुल बनाएको थियो।
[16] म त्यहाँ उभिरहनेहरूमध्ये एक जनाकहाँ नजिक गएँ, र तिनलाई यी सबै कुराहरूको अर्थ सोधेँ। “यसकारण तिनले यी सबै कुराहरूको अर्थ खोलिदिए र मलाई भने:
[17] ‘ती चार विशाल जनावरहरू चार शासकहरू हुन्, जो पृथ्वीमा उदय हुनेछन्।
[18] तर त्यो राज्य सर्वोच्च परमेश्वरका पवित्र सन्तहरूले पाउनेछन्, र त्यसलाई सदासर्वदाका निम्ति अधिकार गर्नेछन्—हो, सदासर्वदाका निम्ति।’
[19] “तब मैले त्यस चौथो पशुको साँचो अर्थ जान्न चाहेँ, जुन अरू पशुहरूभन्दा फरक र त्यसका फलामका दाँतहरू र काँसाका नङ्ग्रा भएको कारण अति भयानक थियो—त्यो पशु, जसले आफ्ना शिकारहरूलाई खान्थ्यो, र चकनाचुर पार्थ्यो; अनि बाँकी रहेका मासुहरूलाई आफ्ना खुट्टामुनि कुल्चीमिल्ची पार्थ्यो।
[20] मैले त्यस जनावरको शिरमाथि भएका दश वटा सिङहरू र अर्को उम्रेको सानो सिङ, जसको अगि दश सिङहरूमध्ये तीन वटा सिङ ढलिगएका थिए; त्यसको बारेमा पनि जान्न चाहेँ—त्यो सिङ, जुनचाहिँ अरूभन्दा बढी प्रभावशाली देखिन्थ्यो र त्यसका आँखा मानिसहरूको जस्तै र अहङ्कारी कुराहरू बोल्ने मुख थियो।
[21] अनि मैले हेर्दाहेर्दै त्यो सानो सिङले ती पवित्र मानिसहरूको विरुद्धमा लडाइँ गरिहेको थियो, र तिनीहरूलाई परास्त गरिरहेको थियो,
[22] जबसम्म अति प्राचीन आएर सर्वोच्च परमेश्वरका पवित्र मानिसहरूको पक्षमा न्याय घोषणा गर्नुभएन; अनि त्यो समय आयो, जब तिनीहरूले राज्य अधिकार गरे।
[23] “उहाँले मलाई यो कुरा व्याख्या गरिदिनुभयो: ‘चौथो पशुचाहिँ पृथ्वीमा देखा पर्ने चौथो राज्य हो। यो अरू सबै राज्यहरूभन्दा फरक हुनेछ; अनि यसले सारा पृथ्वीलाई खानेछ, र त्यसलाई कुल्चीमिल्ची पारेर धुलोपिठो बनाइदिनेछ।
[24] ती दश वटा सिङहरू यस राज्यबाट आउने दश राजाहरू हुन्। त्यसपछि पहिलेको दश राजाभन्दा फरक अर्को एउटा राजा खडा हुनेछ; त्यसले तीन वटा राजाहरूलाई आफ्नो अधीनमा पार्नेछ।
[25] त्यस सानो सिङले सर्वोच्च परमेश्वरको विरुद्धमा बोल्नेछ, र त्यसले पवित्र मानिसहरूमाथि अत्याचार गर्नेछ; अनि तोकिएका समयहरू र व्यवस्थाहरू बदली गर्न कोसिस गर्नेछ। पवित्र मानिसहरू त्यसको हातमा एक समय, समयहरू र आधा समयको निम्ति सुम्पिइनेछन्।
[26] “ ‘तर न्यायाधीश बस्नुहुनेछ; अनि त्यसको शक्ति खोसिनेछ र सदासर्वदाका निम्ति त्यसलाई सम्पूर्ण रूपमा सर्वनाश गरिनेछ।
[27] तब सर्वोच्च परमेश्वरका पवित्र मानिसहरूलाई स्वर्गमुनिका सबै राज्यहरूका सार्वभौम, शक्ति र महानता सुम्पिइनेछन्। उहाँको राज्य अनन्तको राज्य हुनेछ; अनि सबै शासकहरूले उहाँलाई दण्डवत् गर्नेछन् र उहाँको आज्ञापालन गर्नेछन्।’
[28] “यस दर्शनको अन्त्य यही हो। म, दानिएल आफ्ना विचारहरूद्वारा अति व्याकुल भएँ; अनि मेरो अनुहार पहेँलो भयो, तर मैले यो कुरा आफ्नो मनमै राखेँ।”