Skip to content
Opens in a new window
Listen to this chapter • 16:11

[1] नबूकदनेसरको शासनकालको दोस्रो वर्षमा तिनले सपना देखे; यस सपनाको कारण तिनको मन विचलित भयो र तिनी सुत्न सकेनन्।

[2] यसकारण राजाले आफूले देखेको सपनाको अर्थ तिनलाई बताइदेऊन् भनी जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, विजुवाहरू र ज्योतिषीहरूलाई बोलाइपठाए। जब तिनीहरू भित्र आए, र राजाको सामु उभिए;

[3] अनि राजाले तिनीहरूलाई भने, “मैले एउटा सपना देखेको छु, र त्यसले मलाई विचलित पारेको छ। त्यस सपनाको अर्थ के हो भनी म बुझ्न चाहन्छु।”

[4] तब ती ज्योतिषीहरूले राजालाई अरामी भाषामा भने, “राजा अमर रहून्! तपाईंका सेवकहरूलाई सपना भन्‍नुहोस्, र हामी त्यसको अर्थ खोलिदिनेछौँ।”

[5] राजाले ज्योतिषीहरूलाई भने, “मैले यो दृढतापूर्वक निश्‍चय गरेको छु: यदि तिमीहरूले मेरो सपना के थियो सो भन्‍न सकेनौ र मलाई त्यसको अर्थ बुझाउन सकेनौ भने म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु, र तिमीहरूका घरहरू ढुङ्गाको थुप्रोमा परिणत गरिनेछन्।

[6] तर यदि तिमीहरूले मलाई सपना र त्यसको अर्थ बताउन सक्यौ भने मबाट तिमीहरूले उपहारहरू, इनामहरू र ठूलो सम्मान पाउनेछौ। यसकारण तिमीहरूले मेरो सपना र त्यसको अर्थ खोलिदेओ!”

[7] तिनीहरूले फेरि जवाफ दिएर भने, “राजाले आफ्नो सपना आफ्ना सेवकहरूलाई बताऊन्, तब हामी त्यसको अर्थ खोलिदिनेछौँ।”

[8] तब राजाले भने, “म निश्‍चित छु, तिमीहरूले समय निकालेर टार्ने कोसिस गरिरहेका छौ; किनकि मैले यो दृढतापूर्वक निर्णय गरेको छु भनेर तिमीहरूले थाहा पाएका छौ।

[9] यदि तिमीहरूले मलाई त्यो सपना बताउन सकेनौ भने तिमीहरूका निम्ति एउटै मात्र दण्ड छ। तिमीहरूले परिस्थिति बदल्ने आशामा मलाई भ्रममा पार्ने र दुष्‍ट कुराहरू बताउने षड्यन्त्र गरेका छौ। यसकारण अब मलाई त्यो सपना भनिदेओ, तब तिमीहरूले मेरा निम्ति त्यस सपनाको अर्थ खोलिदिन सक्छौ भनी म जान्‍नेछु।”

[10] ती ज्योतिषीहरूले राजालाई जवाफ दिए, “राजाले भन्‍नुभएको कुरा गर्न सक्ने मानिस पृथ्वीमा एउटै पनि छैन! राजा जतिसुकै महान् र शक्तिशाली भए तापनि कुनै पनि जादुगर अथवा तन्त्रमन्त्र गर्ने अथवा ज्योतिषीलाई यस्तो कुरा कहिल्यै पनि सोधेका थिएनन्।

[11] राजाले सोध्नुभएको कुरा अति गाह्रो छ। देवताहरूले बाहेक अरू कसैले पनि राजालाई यो कुरा प्रकट गर्न सक्दैन; अनि ती देवताहरू मानिसहरूको बीचमा बास बस्दैनन्।”

[12] यस कुराले राजालाई यतिसम्म रिस र क्रोधित तुल्यायो, कि तिनले बेबिलोनका सबै बुद्धिमान् मानिसहरूलाई मृत्युदण्ड दिने हुकुम दिए।

[13] यसकारण बुद्धिमान् मानिसहरूलाई मार्ने आदेश पठाइयो; अनि दानिएल र तिनका साथीहरू पनि मारिऊन् भनी तिनीहरूलाई ल्याउन भनी मानिसहरू पठाइए।

[14] जब राजाका अङ्गरक्षक सेनापति अर्योक, बेबिलोनका बुद्धिमान् मानिसहरूलाई मार्नका निम्ति गएका थिए, तब दानिएलले अर्योकसित अति बुद्धिमानीसाथ र विवेकशील कुरा गरे।

[15] तिनले राजाका अधिकारीलाई सोधे, “राजाले यस्तो कठोर आदेश किन जारी गर्नुभयो?” तब अर्योकले दानिएललाई सबै कुरा बताइदिए।

[16] त्यो कुरा सुनेर दानिएल भित्र गए, र तिनले राजासँग समय मागे, ताकि राजाको निम्ति सपनाको अर्थ खोलिदिन सकून्।

[17] तब दानिएल आफ्नो घरमा फर्के; अनि त्यस बारेमा आफ्ना साथीहरू हनन्याह, मिशाएल र अजर्याहलाई बताए।

[18] तिनले साथीहरूलाई त्यस रहस्यमय कुराको अर्थ खोल्न स्वर्गका परमेश्‍वरसित तिनीहरूले कृपाको निम्ति प्रार्थना गरून् भनी आग्रह गरे, ताकि तिनी र तिनका आफ्ना साथीहरू बेबिलोनका बुद्धिमान् मानिसहरूसित नमारिऊन्।

[19] रातको समयमा त्यो रहस्यमय कुरा दानिएललाई एउटा दर्शनमा प्रकट गरियो। तब दानिएलले स्वर्गका परमेश्‍वरलाई प्रशंसा गरे,

[20] र भने: “परमेश्‍वरको नामको प्रशंसा सदासर्वदा भइरहोस्; बुद्धि र शक्ति उहाँकै हुन्।

[21] उहाँले समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ; उहाँले राजाहरूलाई अधिकार दिएर खडा गर्नुहुन्छ र तिनीहरूबाट अधिकार खोसेर हटाउनु पनि हुन्छ। उहाँले बुद्धिमान्‌हरूलाई बुद्धि दिनुहुन्छ, र समझशक्ति भएकाहरूलाई ज्ञान दिनुहुन्छ।

[22] उहाँले गहिरा र गुप्‍तमा लुकेका कुराहरू प्रकट गर्नुहुन्छ; उहाँले अन्धकारमा के छ भनी जान्‍नुहुन्छ; अनि उहाँसँग ज्योतिले बास गर्छ।

[23] हे मेरा पितापुर्खाहरूका परमेश्‍वर, म तपाईंलाई धन्यवाद चढाउँछु र तपाईंको प्रशंसा गर्दछु: तपाईंले मलाई बुद्धि र शक्ति दिनुभएको छ, हामीले तपाईंसित मागेको कुरा मलाई प्रकट गरिदिनुभएको छ; अनि तपाईंले हामीलाई राजाको सपना जान्‍न दिनुभएको छ।”

[24] त्यसपछि दानिएल अर्योककहाँ गए, जसलाई राजाले बेबिलोनका बुद्धिमान् मानिसहरूलाई मार्न भनी हुकुम दिएका थिए; अनि दानिएलले अर्योकलाई भने, “बेबिलोनका बुद्धिमान् मानिसहरूलाई नमार्नुहोस्। मलाई राजाकहाँ लैजानुहोस्, र म तिनका निम्ति सपनाको अर्थ खोलिदिनेछु।”

[25] अर्योकले तुरुन्तै दानिएललाई राजाकहाँ लगेर भने, “मैले यहूदाबाट निर्वासित भएकाहरूका बीचमा एक जना मानिस भेट्टाएको छु, जसले सपनाको अर्थ राजालाई बताइदिनेछ।”

[26] राजाले दानिएल (जसलाई बेलतसजर पनि भनिन्थ्यो) लाई सोधे, “के तिमीले मलाई मैले सपनामा देखेको कुरा र त्यसको अर्थ भन्‍न सक्छौ?”

[27] दानिएलले जवाफ दिए, “कुनै पनि बुद्धिमान् मानिस, तन्त्रमन्त्र गर्ने, जादुगर अथवा जोखना हेर्नेहरूले राजाले सोध्नुभएको रहस्यमय कुरा राजालाई बताउन सक्दैन;

[28] तर स्वर्गमा परमेश्‍वर हुनुहुन्छ, जसले रहस्यमय कुराहरू प्रकट गर्नुहुन्छ। उहाँले राजा नबूकदनेसरलाई आउने दिनहरूमा के कस्तो हुनेछ भन्‍ने कुरा देखाउनुभएको छ। तपाईं आफ्नो ओछ्यानमा ढल्किरहनुहुँदा तपाईंको मनमा आएका तपाईंको सपना र दर्शन यिनै हुन्:

[29] “हे महाराजा, तपाईं त्यहाँ ढल्किरहनुभएको बेला तपाईंको मनमा आउने कुराहरूतिर लाग्यो; अनि रहस्यमय कुराहरू प्रकट गर्नुहुनेले तपाईंलाई भविष्यमा हुने कुराहरू देखाइदिनुभयो।

[30] परमेश्‍वरले मसँग चाहिँ यस्तो रहस्यमय कुरा प्रकट गर्नुभएको छ, मसँग अरू जीवित मानिसहरूभन्दा बढ्ता बुद्धि भएर होइन, तर हे महाराजा, तपाईंले यसको अर्थ जान्‍नुहोस् र तपाईंको मनमा भएका कुराहरू बुझ्नुहोस् भनेर त्यो रहस्यमय कुरा मलाई प्रकट गरिएको छ।

[31] “हे महाराजा, तपाईंले हेरिरहनुहुँदा तपाईंको अगाडि एउटा ठूलो मूर्ति खडा भएको देख्नुभयो—त्यो मूर्ति विशाल ठूलो र अत्यन्तै चहकिलो देखिन्थ्यो; अनि त्यसको स्वरूप भयानक थियो।

[32] त्यस मूर्तिको शिर निखुर सुनको थियो, त्यसका छाती र पाखुराहरू चाँदीका, त्यसको पेट र तिघ्राहरू काँसाका,

[33] त्यसका गोडाहरू फलामका, त्यसका खुट्टाहरूका केही भाग फलामका र केही भाग माटाका थिए।

[34] तपाईंले हेरिरहनुहुँदा एउटा चट्टानको ढुङ्गा काटिएर निस्क्यो, तर मानिसका हातले काटिएको थिएन। त्यो ढुङ्गा मूर्तिका फलाम र माटोका खुट्टामा बजारियो र तिनीहरूलाई टुक्रा-टुक्रा पारिदियो।

[35] त्यसपछि एकै पटकमा त्यो फलाम, माटो, काँसा, चाँदी र सुन टुक्रा-टुक्रा भए र ग्रीष्म ऋतुमा अन्‍न झार्ने खलामा भएको भुसझैँ भइहाले। अनि तिनीहरूलाई बतासले नामनिशानै नरहने गरी उडाएर लग्यो। तर त्यस मूर्तिलाई प्रहार गर्ने त्यो ढुङ्गाचाहिँ एउटा विशाल पर्वत भयो, र सारा पृथ्वीलाई नै ढाकिदियो।

[36] “सपना यही थियो, र अब हामी राजालाई यसको अर्थ खोलिदिनेछौँ।

[37] हे महाराजा, तपाईं राजाहरूका राजा हुनुहुन्छ। स्वर्गका परमेश्‍वरले तपाईंलाई राज्य, शक्ति, पराक्रम र गौरव दिनुभएको छ।

[38] उहाँले तपाईंको हातमा सबै मानव-जाति, मैदानका सबै जीवित पशुहरू र आकाशका सबै चराचुरुङ्गीहरू राखिदिनुभएको छ। तिनीहरू जहाँ-जहाँ बसे तापनि उहाँले तपाईंलाई तिनीहरू सबैमाथि शासक बनाउनुभएको छ। तपाईंचाहिँ त्यो सुनको शिरजस्तै हुनुहुन्छ।

[39] “तपाईंपछि तपाईंको राज्यभन्दा कमजोर एउटा राज्य खडा हुनेछ। त्यसपछि एउटा तेस्रो राज्य, काँसाको राज्यले सारा पृथ्वीमाथि शासन गर्नेछ।

[40] अन्त्यमा एउटा चौथो राज्य खडा हुनेछ, त्यो फलामजस्तै बलियो हुनेछ—किनकि फलामले हरेक कुराहरूलाई टुक्रा-टुक्रा पार्छ—अनि फलामले हरेक चीजहरूलाई टुक्रा-टुक्रा पारेझैँ त्यसले अरू सबै राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र छरपस्ट पारिदिनेछ।

[41] तपाईंले खुट्टा र औँलाहरूका केही भाग माटो र केही भाग फलामले बनिएको देख्नुभएजस्तै त्यो विभाजित राज्य हुनेछ; तापनि तपाईंले फलाम र माटो मिसिएको देख्नुभएजस्तै त्यस राज्यमा फलामको केही शक्ति रहनेछ।

[42] ती औँलाहरू केही फलामका र केही माटाका भएझैँ त्यो राज्य केही शक्तिशाली र केही भाग सजिलै टुक्रिने दुर्बल राज्य हुनेछ।

[43] अनि तपाईंले फलाम र माटो मिसिएको देख्नुभएजस्तै फलाम र माटो जसरी मिल्न सक्दैनन्, त्यसरी नै मिश्रित जातिहरू हुनेछन् र तिनीहरू एकतामा रहनेछैनन्।

[44] “ती राजाहरूका समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ, त्यो राज्य कहिल्यै पनि नाश हुनेछैन, न त त्यो अरू जातिहरूलाई दिइनेछ। त्यो राज्यले ती सबै राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र तिनीहरूको अन्त्य ल्याउनेछ, तर त्यो आफूचाहिँ सदासर्वदा रहिरहनेछ।

[45] चट्टानको पहराबाट मानिसको हातले होइन, तर आफैँ काटिएको ढुङ्गाको दर्शनको अर्थ यही हो—त्यो चट्टानको टुक्रा, जसले फलाम, काँसा, माटो, चाँदी र सुनलाई चकनाचुर पारिदियो। “महान् परमेश्‍वरले राजालाई भविष्यमा के हुनेछ भनी देखाइदिनुभएको छ। सपना साँचो हो र सपनाको अर्थ सत्य छ।”

[46] त्यसपछि राजा नबूकदनेसर दानिएलको सामु घोप्टो परेर दण्डवत् गरे, र तिनलाई आदर गरे; अनि तिनलाई भेटी र धूप चढाउने आज्ञा दिए।

[47] राजाले दानिएललाई भने, “निश्‍चय नै तिमीहरूका परमेश्‍वर देवताहरूका पनि परमेश्‍वर, राजाहरूका पनि प्रभु र रहस्यमय कुराहरू प्रकट गर्नुहुने हुनुहुन्छ; किनकि तिमीले यस रहस्यमय कुराहरूलाई प्रकट गर्न सक्यौ।”

[48] त्यसपछि राजाले दानिएललाई उच्‍च पदमा नियुक्त गरे, र तिनलाई धेरै बहुमूल्य उपहारहरू दिए। राजाले तिनलाई बेबिलोनको सम्पूर्ण प्रान्तका शासक बनाए, र तिनलाई देशका सबै बुद्धिमान् मानिसहरूका प्रधान तुल्याए।

[49] त्यसबाहेक दानिएलको अनुरोधमा राजाले शद्रक, मेशक र अबेद्नगोलाई बेबिलोनको प्रान्तमा प्रशासकहरू नियुक्त गरिदिए, तर दानिएल आफूचाहिँ राजकीय दरबारमा रहन थाले।

दानिएल — Chapters