[1] एक रात राजा बेलसजरले आफ्ना एक हजार प्रमुख भारदारहरूका निम्ति एउटा ठूलो भोज लगाए, र तिनीहरूसित दाखमद्य पिए।
[2] जब बेलसजरले आफ्नो दाखमद्य पिइरहेका थिए, तब तिनले आफ्ना पिता नबूकदनेसरले यरूशलेमको मन्दिरबाट लगेका सुन र चाँदीका कचौराहरू भित्र ल्याउने हुकुम गरे, ताकि राजा र तिनका प्रमुख भारदारहरू, तिनका पत्नीहरू र उपपत्नीहरूले ती कचौराहरूबाट पिउन सकून्।
[3] यसकारण उनीहरूले सुनका भाँडाहरू ल्याए, जुनचाहिँ यरूशलेममा भएको परमेश्वरको मन्दिरबाट ल्याइएका थिए; अनि राजाले, तिनका प्रमुख भारदारहरूले, तिनका पत्नीहरू र उपपत्नीहरूले ती भाँडाहरूबाट पिए।
[4] जब तिनीहरूले दाखमद्य पिए, तब तिनीहरूले सुन र चाँदीका, काँसा, फलाम, काठ र ढुङ्गाका देवताहरूको प्रशंसा गरे।
[5] त्यही घडी अचानक एउटा मानिसको हातका औँलाहरू देखा परे, र राजकीय महलमा भएको सामदानको छेउमा लिपिएको भित्तामा लेख्न थाले। राजाले त्यस लेख्दैगरेको हातलाई हेरे।
[6] अनि राजाको अनुहार पहेँलो भयो र तिनी अति भयभीत भए, कि तिनका घुँडाहरू काँपेर आपसमा ठोक्किन थाले, र तिनको खुट्टामा बल नै नभएर लल्याकलुलुक भए।
[7] राजाले तन्त्रमन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेहरूलाई बोलाइपठाए। त्यसपछि बेबिलोनका ती बुद्धिमान् मानिसहरूलाई भने, “जसले भित्ताको यस लेखोटलाई पढेर मलाई त्यसको अर्थ बताउँछ, त्यसलाई बैजनी वस्त्र पहिर्याइनेछ र त्यसको गलामा सुनको हार लगाइदिइनेछ; अनि त्यसलाई राज्यको सर्वोच्च शासकको तेस्रो दर्जामा राखिनेछ।”
[8] तब राजाका सबै बुद्धिमान् मानिसहरू भित्र आए, तर तिनीहरूले त्यो लेखोट पढ्न सकेनन्, अथवा राजालाई त्यसको अर्थ भन्न सकेनन्।
[9] यसकारण राजा बेलसजर अझ बढी डराए, र तिनको अनुहार अझ पहेँलो हुँदैगयो। तिनका प्रमुख भारदारहरू अकमक्क परे।
[10] राजा र उनका भारदारहरूका आवाज सुनेर राजमाता भोजको ठूलो कोठामा आइन्। तिनले भनिन्, “महाराजा, अमर रहून्! विचलित नहुनुहोस्! न त हजुरको मुहारको रङ्ग उडोस्!
[11] हजुरको राज्यमा एक जना मानिस छन्, जसमा पवित्र देवताहरूको आत्मा छ। हजुरको बुबाको समयमा उनमा देवताहरूका जस्तै अन्तर्दृष्टि, समझशक्ति र बुद्धि भेट्टाइएको थियो। हजुरको बुबा राजा नबूकदनेसरले उनलाई जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेहरूका प्रमुख तुल्याउनुभएको थियो।
[12] उहाँले यसो गर्नुभयो; किनकि दानिएल, जसलाई राजाले बेलतसजर भन्नुहुन्थ्यो, जो तीब्र दिमाग, अन्तर्ज्ञान र समझशक्ति भएका भेट्टाइए; अनि उनीसित सपनाहरूको अर्थ खोल्ने, अड्को फुकाउने र अप्ठ्यारा समस्याहरूको समाधान गर्न सक्ने क्षमता पनि थियो। दानिएललाई बोलाउन पठाउनुहोस्, र उनले लेखोटहरूको अर्थ बताइदिनेछन्।”
[13] यसकारण दानिएललाई राजाको सामु ल्याइयो, र राजाले तिनलाई सोधे, “के मेरा बुबा महाराजाले यहूदाबाट ल्याउनुभएको देश निष्कासितहरू मध्येका एक जना दानिएल भन्ने तिमी नै हौ?
[14] मैले सुनेको छु, तिमीभित्र देवताहरूको आत्मा छ, र तिमीसित अन्तर्दृष्टि, समझशक्ति र असाधारण बुद्धि छ।
[15] यो लेखोट पढ्न र मलाई त्यसको अर्थ बताइदिन मेरो सामु तन्त्रमन्त्र गर्ने र बुद्धिमान् मानिसहरू ल्याइए, तर तिनीहरूले यसको अर्थ बताउन सकेनन्।
[16] अब मैले सुनेको छु; तिमीले अर्थ खोल्न सक्छौ र कठिन समस्याहरूको हल गर्न सक्छौ। यदि तिमीले यो लेखोट पढ्न सक्यौ र मलाई यसको अर्थ बताउन सक्यौ भने तिमीलाई बैजनी रङ्गको वस्त्र पहिराइनेछ, र तिम्रो गलामा सुनको हार लगाइदिइनेछ; अनि तिमीलाई यस राज्यको सर्वोच्च शासकको तेस्रो दर्जा दिइनेछ।”
[17] तब दानिएलले राजालाई जवाफ दिए, “हजुरका उपहारहरू हजुरसँगै रहून्, र हजुरका पुरस्कारहरू अरू कसैलाई दिनुहोस्। तथापि, म राजाको निम्ति लेखोट पढ्नेछु, र तपाईंलाई लेखोटको अर्थ बताइदिनेछु।
[18] “हे महाराजा, सर्वोच्च परमेश्वरले हजुरको बुबा नबूकदनेसरलाई सर्वाधिकार, महानता, महिमा र वैभव दिनुभयो।
[19] परमेश्वरले तिनलाई दिनुभएको उच्च दर्जाको कारण सबै मानिसहरू, हरेक भाषा बोल्ने सबै जातिका मानिसहरू तिनीसित थरथर काम्थे र भयभीत हुन्थे। राजाले जसलाई मार्न चाहन्थे, उसलाई मार्थे; तिनले जीवित छोड्न चाहेकाहरूलाई जीवित छोडिदिन्थे; तिनले पदोन्नति गरिदिन चाहेकाहरूलाई पदोन्नति गरिदिन्थे; अनि तिनले पदच्युत गर्न चाहेकाहरूलाई पदच्युत गरिदिन्थे।
[20] तर जब तिनको हृदय अभिमानी र घमण्डले कठोर भयो, तब तिनी आफ्ना राजकीय सिंहासनबाट पदच्युत गरिए, र तिनको गौरव हटाइयो।
[21] तिनी मानिसहरूबाट धपाइए, र तिनलाई एउटा जनावरको मन दिइयो; तिनी जङ्गली गधाहरूसित बस्थे, र तिनले गाईबस्तुले झैँ घाँस खान्थे; अनि सर्वोच्च परमेश्वर पृथ्वीका मानिसहरूका सबै राज्यहरूमाथि सार्वभौम हुनुहुन्छ र आफ्नो इच्छा लागेअनुसार कसैलाई पनि ती राज्यमाथि अधिकारमा राख्न सक्नुहुन्छ भनेर तिनले स्वीकार नगरेसम्म तिनको शरीर आकाशको शीतले भिज्यो।
[22] “तर नबूकदनेसरका छोरा, हे बेलसजर, तपाईंले यी सबै कुराहरू जानेर पनि आफूलाई नम्र तुल्याउनुभएन।
[23] त्यसको सट्टा तपाईंले आफैँलाई स्वर्गका प्रभुको विरुद्धमा खडा गर्नुभयो। तपाईंले उहाँको मन्दिरबाट ल्याएका कचौराहरू आफूकहाँ ल्याउन लगाउनुभयो; अनि तपाईं र तपाईंका भारदारहरू, तपाईंका पत्नीहरू र तपाईंका उपपत्नीहरूले तीबाट दाखमद्य पिए। तपाईंले चाँदी र सुनका, काँसा, फलाम, काठ र ढुङ्गाका देवताहरूको प्रशंसा गर्नुभयो, जुन मूर्तिहरूले देख्न, सुन्न र बुझ्न सक्दैनन्। तर तपाईंले परमेश्वरलाई आदर दिनुभएन, जसको हातमा तपाईंको प्राण र तपाईंका सबै चालहरू छन्।
[24] यसकारण उहाँले लेखोट लेख्नलाई हात पठाउनुभयो।
[25] “खोपिएको लेखोट यही हो: मेने, मेने, टेकेल, पर्सिन
[26] “यी शब्दहरूको अर्थ यही हो: “मेने: परमेश्वरले हजुरको शासनका दिनहरू गन्ती गर्नुभएको छ, र त्यसको अन्त्य ल्याइसक्नुभएको छ।
[27] “तकेल: हजुर तराजुमा तौलिनुभएको छ, र घटी पाइनुभएको छ।
[28] “पर्सिन: तपाईंको राज्य विभाजित भएको छ; अनि मादीहरू र परसीयाका मानिसहरूलाई दिइएको छ।”
[29] तब बेलसजरको आदेशअनुसार दानिएललाई बैजनी वस्त्र पहिर्याइयो; तिनको गलामा सुनको हार लगाइयो, र तिनलाई राज्यको तेस्रो सर्वोच्च शासक भनी घोषणा गरियो।
[30] त्यही रात बेबिलोनीहरूका राजा बेलसजर मारिए;
[31] अनि मादी राजा दाराले बयसट्ठी वर्षको उमेरमा राज्य लिए।