Skip to content
Opens in a new window
Listen to this chapter • 14:17

[1] राजा नबूकदनेसरबाट, जाति-जातिका मानिसहरू र सबै भाषा बोल्ने जातिहरू, सारा संसारमा बस्‍ने सबै मानिसहरू: तिमीहरूको उन्‍नति प्रशस्त होस्!

[2] सर्वोच्‍च परमेश्‍वरले मेरा निम्ति गर्नुभएका अलौकिक चिन्हहरू र देखाउनुभएको अद्‌भुत कार्यहरूका बारेमा तिमीहरूलाई बताउनु मेरो निम्ति आनन्दको कुरा हो।

[3] उहाँका अलौकिक चिन्हहरू कति महान् छन्! उहाँका अद्‌भुत कार्यहरू कति शक्तिशाली छन्! उहाँको राज्य अनन्तको राज्य हो; उहाँको प्रभुत्व पुस्तादेखि पुस्तौँसम्म रहन्छ।

[4] म नबूकदनेसर, आफ्नो महलमा आरामसाथ सन्तुष्‍टि र समृद्धिमा बसिरहेको थिएँ।

[5] मैले एउटा सपना देखेँ, जसले मलाई भयभीत तुल्यायो। जब म आफ्नो ओछ्यानमा ढल्किरहेको थिएँ, तब मेरो मनमा आइरहेका आकृति र दर्शनहरूले मलाई त्रसित तुल्याइदिए।

[6] यसकारण त्यस सपनाको अर्थ मलाई खोलिदेऊन् भनेर मैले बेबिलोनका सबै बुद्धिमान् मानिसहरू मेरो सामु ल्याइयोस् भनी हुकुम दिएँ।

[7] जब जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेहरू मकहाँ आए, तब मैले तिनीहरूलाई सपना बताएँ, तर तिनीहरू कसैले पनि मेरो सपनाको अर्थ बताउन सकेनन्।

[8] त्यसपछि अन्तमा, दानिएल मेरो सामु आए, जसलाई मैले मेरो सपना बताएँ। (जसको नाम मेरो देवताको नामअनुसार बेलतसजर हो, र जसभित्र पवित्र देवताहरूको आत्मा छ।)

[9] मैले भनेँ, “हे बेलतसजर, सबै ज्ञानी मानिसहरूका प्रमुख, पवित्र देवताहरूको आत्मा तिमीमा छ, र कुनै पनि रहस्यमय कुरा तिम्रो निम्ति कठिन छैन भनी म जान्दछु।

[10] म आफ्नो पलङमा ढल्किरहेको बेलामा मैले देखेका दर्शनहरू यही हुन्: मैले हेरेँ, र त्यहाँ मेरो सामु देशको मध्य भागमा एउटा रूख खडा थियो। त्यो रूख अत्यन्तै अग्लो थियो।

[11] त्यो रूख ठूलो र बलियो भएर बढ्यो; अनि त्यसको टुप्पोले आकाश छोयो; त्यो रूख पृथ्वीका अन्तिम छेउबाट पनि देखिन्थ्यो।

[12] रूखका पातहरू सुन्दर थिए, र त्यसका फलहरू प्रशस्त थिए; अनि त्यसमा सबैलाई पुग्ने प्रशस्त भोजन थियो। त्यसमुनि जङ्गली पशुहरूले आश्रय पाउँथे, र त्यसका हाँगाहरूमा आकाशका चराहरू बस्थे; त्यसबाट हरेक जीवित प्राणीहरूले खाना पाउँथे।

[13] “म आफ्नो पलङमा ढल्किरहेको बेला मैले मेरो दर्शनमा मेरो सामु एक पवित्र जन, अथवा एक स्वर्गदूतलाई देखेँ, जो स्वर्गबाट तल ओर्लिरहेका थिए।

[14] तिनले चर्को सोरमा कराएर भने: ‘यस रूखलाई काटेर ढालिदे, र यसका हाँगाहरूलाई छाँटिदे; यसका पातहरू झारिदे र यसका फलहरू चारैतिर छरपस्ट पारिदे। यस रूखबाट पशुहरू र यसका हाँगाहरूबाट चराचुरुङ्गीहरू भागिजाऊन्।

[15] तर यस रूखको ठुटा र जराहरूचाहिँ फलाम र काँसाले बाँधिएको अवस्थामा मैदानका झारहरूसितै रहिरहोस्। “ ‘यसलाई आकाशका शीतले भिजाओस्, र यो पृथ्वीका बोटबिरुवाहरू र जनावरहरूका साथमा रहोस्।

[16] यसको निम्ति सात काल नबितेसम्म, यसको मन मानिसको मनबाट बदलिएर यसलाई पशुको मन दिइओस्।

[17] “ ‘यो निर्णय एक स्वर्गदूतद्वारा सूचित गरिएको हो, र पवित्र जनद्वारा यस फैसलाको बारेमा घोषणा गरिएको हो: यस उद्देश्यले कि जीवितहरूले यो जानून्, कि सर्वोच्‍चचाहिँ मानिसहरूका सबै राज्यहरूमाथि सार्वभौम हुनुहुन्छ। अनि आफूले चाहेको जसकसैलाई पनि ती दिन सक्नुहुन्छ, र तिनीहरूमाथि सबैभन्दा नम्र मानिसलाई राख्नुहुन्छ।’

[18] “म, राजा नबूकदनेसरले यही सपना देखेको हुँ। अब, हे बेलतसजर, यसको अर्थ के हो, सो मलाई बताइदेऊ; किनकि मेरा राज्यका कुनै पनि बुद्धिमान् मानिसले मेरो निम्ति सपनाको अर्थ खोलिदिन सक्दैनन्। तर तिमीले चाहिँ अर्थ खोल्न सक्छौ; किनकि तिमीभित्र पवित्र देवताहरूको आत्मा छ।”

[19] तब दानिएल (जसलाई बेलतसजर पनि भनिन्छ) केही बेर साह्रै विचलित भए; अनि तिनको सोचले तिनलाई भयभीत तुल्यायो। यसकारण राजाले भने, “बेलतसजर, सपना र यसको अर्थले तिमीलाई विचलित नपारोस्।” बेलतसजरले जवाफ दिए, “मेरा मालिक, यदि यो सपना हजुरका शत्रुहरूका निम्ति र यसको अर्थ हजुरका विरोधीहरूका निम्ति भइदिए त हुनेथियो!

[20] हजुरले देख्नुभएको रूख, जुन ठूलो र बलियो भएर बढ्यो, जसको टुप्पोले आकाशै छोइरहेको थियो र सारा पृथ्वीबाट देख्न सकिन्थ्यो;

[21] जसका सुन्दर पातहरू थिए, र फलहरू प्रशस्त थिए; जसले सबैका निम्ति भोजन उपलब्ध गरिदिन्थ्यो; जसले जङ्गलका पशुहरूलाई आश्रय दिन्थ्यो, र त्यसका हाँगाहरूमा आकाशका चराचुरुङ्गीहरूका निम्ति गुँड बनाएर बस्‍ने ठाउँ थियो।

[22] हे महाराजा, त्यो रूख त हजुर नै हुनुहुन्छ! हजुर महान् र पराक्रमी हुनुभएको छ; हजुरको महानताले आकाशै छोएको छ; अनि हजुरको प्रभुत्व पृथ्वीको टाढा-टाढाका ठाउँहरूसम्मै फैलिएको छ।”

[23] हे महाराजा, हजुरले एक पवित्र जन, एक स्वर्गदूतलाई स्वर्गबाट तल ओर्लिरहेका देख्नुभयो, जसले यसो भनिरहेका थिए, “रूखलाई काटेर ढालिदे, र त्यसलाई नाश गरिदे, तर रूखको ठुटालाईचाहिँ फलाम र काँसाले बाँधेर मैदानको घाँसमा छोडिदे; अनि त्यसका जराहरूचाहिँ जमिनमै रहून्। त्यसलाई आकाशको शीतले भिजाओस्; त्यसको निम्ति सात काल नबितेसम्म त्यो जङ्गली जनावरहरूका बीचमा जनावरहरूजस्तै भएर बास बसोस्।”

[24] हे महाराजा, सपनाको अर्थ यही हो; अनि मेरा मालिक महाराजाको विरुद्धमा सर्वोच्‍च परमेश्‍वरले निकाल्नुभएको आदेश यही हो:

[25] हजुर मानिसहरूका बीचबाट धपाइनुहुनेछ र जङ्गली जनावरहरूका साथमा बस्‍नुहुनेछ; हजुरले गाईबस्तुहरूझैँ घाँस खानुहुनेछ र आकाशको शीतद्वारा हजुर भिजाइनुहुनेछ। सर्वोच्‍च परमेश्‍वरले पृथ्वीमा भएका सबै राज्यहरूमाथि सार्वभौम हुनुहुन्छ र आफूले चाहेको जोसुकैलाई पनि ती राज्यहरू दिन सक्नुहुन्छ भनी हजुरले स्वीकार नगर्नुभएसम्म हजुरका निम्ति सात काल बित्नेछन्।

[26] रूखको ठुटालाई त्यसका जराहरूसितै छोडिदिने आदेशको अर्थ यही हो, कि स्वर्गका परमेश्‍वरले शासन गर्नुहुन्छ भनी हजुरले स्वीकार गर्नुभएपछि हजुरको राज्य फेरि पुनर्स्थापित हुनेछ।

[27] यसकारण हे महाराजा, कृपया मेरो सल्‍लाह मान्‍नुहोस्: जे ठिक र न्यायसङ्गत छ, त्यही गरेर हजुरले आफ्ना पापहरू त्यागिदिनुहोस्; अनि अत्याचारमा परेकाहरूप्रति दयालु भएर हजुरले आफ्नो दुष्‍टता त्यागिदिनुहोस्। हुन सक्छ त्यसपछि हजुरको समृद्धि रहिरहनेछ।

[28] राजाको बारेमा भनिएका यी सबै कुराहरू राजा नबूकदनेसरको जीवनमा पूरा भए।

[29] बाह्र महिनाको अन्त्यमा जब राजा बेबिलोनको राजकीय महलको कौसीमा हिँडिरहेका थिए,

[30] तब तिनले भने, “हेर, के मैले राजकीय वासस्थानको रूपमा मेरो महान् शक्तिद्वारा मेरै ऐश्‍वर्य र कीर्तिका निम्ति मैले बनाएको महान् बेबिलोन यही होइन र?”

[31] यी शब्दहरू राजाले बोलिसक्दानसक्दै स्वर्गबाट एउटा आवाज आयो, “राजा नबूकदनेसर, तेरो निम्ति यस्तो उर्दी छ, अब मैले तेरो राजकीय अधिकार तँबाट खोसेको छु।

[32] तँ मानिसहरूबाट धपाइनेछस्, र जङ्गली जनावरहरूसित बस्‍नेछस्; तैँले गाईबस्तुले झैँ घाँस खानेछस्। सर्वोच्‍च परमेश्‍वर नै पृथ्वीका मानिसहरूका सबै राज्यहरूमाथि सार्वभौम हुनुहुन्छ, र उहाँले आफूले इच्छा लागेका जोसुकैलाई पनि ती राज्य दिन सक्नुहुन्छ भनेर तैँले स्वीकार नगरेसम्म सात काल बितिजानेछन्।”

[33] नबूकदनेसरको बारेमा जे कुरा भनिएको थियो, त्यो तुरुन्तै त्यही घडी पूरा भयो। राजा मानिसहरूबाट धपाइए र तिनले गाईबस्तुले झैँ घाँस खाए। तिनको केश चीलका प्वाँखहरूझैँ लामा र तिनका नङहरू चराका नङ्ग्राहरूजस्ता लामा नभएसम्म तिनको शरीरलाई आकाशका शीतले भिजाइरहे।

[34] त्यस सात कालको अन्त्यमा, म नबूकदनेसरले मेरा आँखा स्वर्गतिर उठाएँ, तब मेरो समझ पहिलेजस्तै स्वस्थ र ठिक भयो। तब मैले सर्वोच्‍च परमेश्‍वरको प्रशंसा गरेँ; मैले सदासर्वदै रहनुहुने परमेश्‍वरलाई आदर र महिमा दिएँ। उहाँको राज्य अनन्तको राज्य हो; उहाँको राज्य पुस्तादेखि पुस्तौँसम्म रहिरहन्छ।

[35] पृथ्वीका सबै मानिसहरू उहाँको सामु तुच्छ गनिन्छन्। स्वर्गका स्वर्गदूतहरूसँग र पृथ्वीका मानिसहरूसँग उहाँले आफ्नो इच्छा लागेअनुसार गर्नुहुन्छ। उहाँका हात कसैले पनि रोक्न सक्दैन, न त कसैले उहाँलाई यसरी भन्‍न सक्छ, “तपाईंले के गर्नुभएको?”

[36] मेरो मन मस्तिष्क पहिलेझैँ स्वस्थ र ठिक भएकै बेला मेरो राज्यको गौरवका निम्ति मेरो सम्मान र महानता मकहाँ फर्काइए। मेरा राजकीय सल्‍लाहकारहरू र प्रमुख व्यक्तिहरूले मलाई खोजे; अनि फेरि मलाई मेरो सिंहासनमा बसाइयो र म पहिलेको भन्दा अझ बढी महान् भएँ।

[37] अहिले म, नबूकदनेसरले स्वर्गको राजालाई प्रशंसा दिन्छु, उच्‍च पार्छु र महिमा दिन्छु; किनकि उहाँले गर्नुहुने सबै कुरा ठिक छन्, र उहाँका सबै मार्गहरू न्यायसङ्गत छन्। अनि उहाँले घमण्ड गरेर हिँड्नेहरूलाई नम्र तुल्याउन सक्नुहुन्छ।

दानिएल — Chapters