[1] यहोयाकीमको शासनकालमा बेबिलोनका राजा नबूकदनेसरले देशमाथि आक्रमण गरे। यहोयाकीम तीन वर्षसम्म तिनका अधीनमा रहे। तर पछि तिनले नबूकदनेसरको विरुद्धमा विद्रोह गरे।
[2] याहवेहले तिनको विरुद्धमा बेबिलोनी, अरामी, मोआबी र अम्मोनीहरूलाई आफ्ना सेवक अगमवक्ताहरूद्वारा घोषणा गरिएको याहवेहको वचनअनुसार यहूदालाई नाश गर्न पठाउनुभयो।
[3] मनश्शेका पापहरू र तिनले जे जति गरेका थिए, त्यसको कारण आफ्नो उपस्थितिबाट हटाउनलाई निश्चय नै याहवेहको आज्ञाअनुसार यी कुराहरू यहूदामाथि घटे।
[4] साथै ती पापहरूमा निर्दोष मानिसहरूको रगत पनि बगाइएको थियो। किनकि तिनले यरूशलेमलाई निर्दोष रगतले भरिदिएका थिए, र याहवेहले क्षमा दिने इच्छा गर्नुभएन।
[5] यहोयाकीमको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूका विषयमा, के ती यहूदाका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र?
[6] यहोयाकीम आफ्ना पुर्खाहरूसित सुते, र तिनका छोरा यहोयाकीन तिनीपछि राजा भए।
[7] इजिप्टका राजा आफ्नो देशबाट फेरि बाहिर निस्केर आएनन्। किनकि बेबिलोनका राजाले तिनका सबै प्रान्तहरू इजिप्टको खोल्सादेखि यूफ्रेटिस नदीसम्मै लगिदिएका थिए।
[8] राजा हुँदा यहोयाकीन अठार वर्षका थिए। तिनले यरूशलेममा तीन महिना शासन गरे। तिनकी आमाको नाम नहूश्ता थियो, जो एल्नातानकी छोरी थिइन्। तिनी यरूशलेमकी थिइन्।
[9] तिनले आफ्ना पिताले गरेझैँ याहवेहको दृष्टिमा जे दुष्टता थियो, त्यही गरे।
[10] त्यस बेला बेबिलोनका राजा नबूकदनेसरका अधिकृतहरूले यरूशलेमतिर बढेर त्यसलाई घेरा हाले।
[11] तब तिनका अधिकृतहरूले त्यसलाई घेरिरहेको बेला नबूकदनेसर आफैँ सहरसम्म आए।
[12] यहूदाका राजा यहोयाकीन, तिनकी आमा, तिनका सेवकहरू, तिनका भारदारहरू र तिनका अधिकृतहरू सबैले तिनको अगि आत्मसमर्पण गरे। बेबिलोनका राजाको शासनको आठौँ वर्षमा तिनले यहोयाकीनलाई कैदी बनाएर लगे।
[13] याहवेहले घोषणा गर्नुभएझैँ नबूकदनेसरले याहवेहको मन्दिर र महलबाट सबै खजाना हटाए। इस्राएलका राजा सोलोमनले याहवेहको मन्दिरको निम्ति बनाएका सुनका सामानहरू सबै लिएर गए।
[14] तिनले सम्पूर्ण यरूशलेमलाई, सबै अधिकृतहरू र योद्धाहरू, सबै दक्ष कारिगरहरू र सिकर्मीहरू गरी जम्मा दश हजार जनालाई देशबाट कैद गरेर लगे। देशका अति गरिब मानिसहरू मात्र छोडिए।
[15] नबूकदनेसरले यहोयाकीनलाई कैद गरेर बेबिलोनमा लगे। तिनले यरूशलेमबाट राजाकी आमा, तिनका पत्नीहरू, तिनका अधिकृतहरू र देशका शक्तिशाली मानिसहरूलाई पनि बेबिलोनमा लगे।
[16] बेबिलोनका राजाले बलिया र युद्ध गर्न सक्ने सात हजार लडाकु मानिसहरूको दल र एक हजार दक्ष कामदार र शिल्पकारहरूलाई पनि बेबिलोनमा कैद गरेर लगे।
[17] तिनले यहोयाकीनका काका मत्तन्याहलाई तिनको ठाउँमा राजा तुल्याए, र तिनको नाम बदलेर सिदकियाह राखिदिए।
[18] राजा हुँदा सिदकियाह एक्काइस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनकी आमाको नाम हमुतल थियो, जो यर्मियाकी छोरी थिइन्। तिनी लिब्नाकी थिइन्।
[19] यहोयाकीमले गरेझैँ सिदकियाहले पनि याहवेहको दृष्टिमा जे कुरा खराब थियो, त्यही गरे।
[20] याहवेहको क्रोधको कारणले नै यरूशलेम र यहूदामा यी सबै हुन आएका थिए। आखिरमा उहाँले तिनीहरूलाई आफ्ना उपस्थितिबाट निकालिदिनुभयो। तब सिदकियाहले बेबिलोनका राजाको विरुद्धमा विद्रोह गरे।