[1] येहूको सातौँ वर्षमा येहोआश राजा भए। तिनले यरूशलेममा चालीस वर्ष राज्य गरे। तिनकी आमाको नाम सिब्या थियो; जो बेर्शेबाकी थिइन्।
[2] येहोआशले याहवेहको दृष्टिमा जे ठिक थियो, त्यही गरे। अनि ती वर्षहरूमा पुजारी यहोयादाले तिनलाई सिकाए।
[3] तरै पनि तिनले अल्गा देवस्थानहरू हटाएनन्। मानिसहरूले त्यहाँ बलिदानहरू चढाइरहे र धूप बालिरहे।
[4] येहोआशले पुजारीहरूलाई भने, “याहवेहको भवनमा पवित्र भेटीको हिसाबले ल्याइएका सबै रकम, गणनामा उठाइएको रकम, व्यक्तिगत भाकलबाट प्राप्त भएको रकम र स्वेच्छापूर्वक ल्याइएको रकम, सबै याहवेहको भवनमा जम्मा गर्नू।
[5] प्रत्येक पुजारीले कोषाध्यक्षहरूमध्ये एकबाट रकम लिऊन्, र त्यसलाई भवनको जुन भागको क्षति भएको छ, त्यसलाई मर्मत गर्ने काममा चलाऊन्।”
[6] तर राजा येहोआशको तेइसौँ वर्षसम्ममा पनि पुजारीहरूले मन्दिरको मर्मत गरेका थिएनन्।
[7] यसकारण राजा येहोआशले पुजारी यहोयादा र अरू पुजारीहरूलाई बोलाइपठाए। अनि तिनीहरूलाई सोधे, “तपाईंहरू किन क्षति भएको याहवेहको भवनको मर्मत गर्नुहुन्न? तपाईंहरूका कोषाध्यक्षहरूबाट अब रकम नलिनुहोस्, तर त्यसलाई भवनको मरमतका निम्ति प्रयोग गर्नुहोस्।”
[8] तब पुजारीहरू मानिसहरूबाट अरू रकम नउठाउने र तिनीहरू आफूले मन्दिर मर्मत नगर्ने विषयमा सहमत भए।
[9] पुजारी यहोयादाले एउटा बाकस लिए र त्यसको ढकनीमा प्वाल पारे। तिनले त्यसलाई याहवेहको भवनभित्र पस्ने ठाउँको दाहिनेपट्टि वेदीको छेउमा राखिदिए। प्रवेशद्वारको रक्षा गर्ने पुजारीहरूले याहवेहको भवनमा ल्याइएका सबै रकम त्यस बाकसमा हाले।
[10] तिनीहरूले जहिले-जहिले त्यस बाकसमा धेरै रुपियाँपैसा भएको देख्थे, तब राजकीय सचिव र प्रधान पुजारी आएर याहवेहको भवनमा ल्याइएको रुपियाँपैसा गन्थे, र थैलाहरूमा हाल्थे।
[11] त्यसको मूल्य थाहा गरेपछि तिनीहरूले त्यो रुपियाँपैसा भवनको मरमतको निम्ति नियुक्त गरिएका मानिसहरूलाई दिन्थे। त्यसबाट तिनीहरूले याहवेहको भवनमा काम गर्ने सिकर्मीहरूलाई, निर्माण गर्नेहरूलाई,
[12] डकर्मीहरूलाई र ढुङ्गा काट्नेहरूलाई ज्याला दिन्थे। तिनीहरूले याहवेहको भवन मरमतका लागि काठहरू, काटिएका ढुङ्गाहरू किने र आवश्यक रकम भुक्तानी गरे।
[13] तिनीहरूले चाँदीका कचौराहरू, सलेदोका चिम्टाहरू, छर्कने बाटाहरू र तुरहीहरू अथवा कुनै पनि सुनचाँदीका सामानहरू बनाउनलाई याहवेहको भवनमा ल्याइएका रुपियाँपैसाबाट खर्च गरेनन्।
[14] त्योचाहिँ भवन मर्मत गर्न कामदारहरूलाई दिइयो।
[15] कामदारहरूलाई ज्याला दिनेहरूबाट तिनीहरूले रुपियाँपैसाको हिसाब लिएनन्; किनकि तिनीहरूले पूर्ण इमानदारीसाथ काम गर्थे।
[16] दोषबलि र पाप शुद्धीकरण बलिबाट आएको रुपियाँपैसा याहवेहको भवनमा ल्याइँदैनथ्यो। त्योचाहिँ पुजारीहरूको हुन्थ्यो।
[17] त्यस बेला अरामका राजा हजाएलले गातलाई आक्रमण गरे अनि त्यसलाई कब्जा गरे। त्यसपछि यरूशलेमलाई आक्रमण गर्न तिनी फर्के।
[18] तर यहूदाका राजा येहोआशले तिनका पुर्खा यहूदाका राजाहरू यहोशापात, यहोराम र अहज्याहले अर्पण गरेका सबै पवित्र चीजहरू, साथै तिनी आफूले अर्पण गरेका उपहारहरू, र याहवेहको भवन अनि राजमहलका भण्डारहरूमा पाइएका सबै सुन लिए। अनि ती अरामका राजाकहाँ पठाइदिए। त्यसपछि हजाएल यरूशलेमबाट हटिगए।
[19] योआशको शासनकालका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषयमा, के ती यहूदाका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र?
[20] तिनका अधिकृतहरूले तिनको विरुद्धमा षड्यन्त्र गरे, र तिनलाई सिल्लाको ओरालो बाटोमा भएको बेथ-मिल्लोमा मारे।
[21] तिनलाई हत्या गर्ने अधिकृतहरू शिम्मतका छोरा योजाबाद र शोमेरका छोरा यहोजाबाद थिए। तिनी मरे र आफ्ना पुर्खाहरूसित दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा अमस्याह राजा भए।