[1] रमल्याहका छोरा पेकहको सत्रौँ वर्षमा यहूदाका राजा योतामका छोरा आहाजले शासन गर्न सुरु गरे।
[2] राजा हुँदा आहाज बीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनले आफ्ना पुर्खा दावीदले गरेझैँ याहवेह आफ्ना परमेश्वरको दृष्टिमा जे ठिक थियो, त्यो गरेनन्।
[3] तिनी इस्राएलका राजाहरूका चालमा हिँडे। अनि याहवेहले इस्राएलीहरूका सामु धपाइदिनुभएका जातिहरूका घिनलाग्दा चालअनुसार चलेर आफ्नै छोरालाई समेत आगोमा बलिदान गरे।
[4] तिनले अग्ला देवस्थानहरू र डाँडाहरूमा प्रत्येक झ्याम्म परेको रूखमुनि बलिदानहरू चढाए र धूप बाले।
[5] तब अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा यरूशलेमको विरुद्धमा गए; र आहाजलाई घेरे। तर तिनीहरूले उनलाई वशमा पार्न सकेनन्।
[6] त्यस बेला अरामका राजा रसीनले यहूदाका मानिसहरूलाई धपाएर अरामको निम्ति एलात फेरि जितेर लिए। तब एदोमीहरू एलातमा सरेर गए, र आजको दिनसम्म त्यहीँ बसेका छन्।
[7] आहाजले अश्शूरका राजा तिग्लत-पिलेसेरकहाँ यसो भनेर दूतहरू पठाए, “म तपाईंको सेवक र छोराजस्तै हुँ। कृपया आएर मलाई आक्रमण गर्ने अराम र इस्राएलका राजाहरूका हातबाट बचाउनुहोस्!”
[8] तब आहाजले याहवेहको मन्दिरमा र राजमहलको भण्डारमा भएका चाँदी र सुन लिए, र ती सबै उपहारको रूपमा अश्शूरका राजाकहाँ पठाइदिए।
[9] अश्शूरका राजाले तिनका कुरा माने; र दमस्कसमाथि आक्रमण गरे। अनि त्यसलाई कब्जा गरे। तिनले त्यहाँका बासिन्दाहरूलाई निकालेर कीरमा लगे, र रसीनलाई मारे।
[10] तब राजा आहाज अश्शूरका राजा तिग्लत-पिलेसेरसित भेट गर्न दमस्कसमा गए। तिनले दमस्कसमा एउटा वेदी देखे। अनि पुजारी उरियाहकहाँ त्यस वेदीको नक्सा, त्यसको निर्माणको सम्पूर्ण योजनाको विवरणसितै पठाए।
[11] यसकारण पुजारी उरियाहले राजा आहाजले दमस्कसबाट पठाएका योजनाअनुसार एउटा वेदी बनाए। राजा आहाज फर्कनुअगि नै त्यसलाई सिद्ध्याए।
[12] दमस्कसबाट फर्किआउँदा राजाले त्यो वेदी देखेपछि तिनी त्यहाँ गए। अनि त्यसमाथि भेटीहरू चढाए।
[13] तिनले त्यसमा होमबलि र अन्नबलि चढाए। अनि आफ्नो अर्घबलि खन्याएर वेदीमा आफ्ना मेलबलिहरूको रगत छर्के।
[14] याहवेहको सामु खडा रहेको काँसोको वेदी मन्दिरको सामुबाट नयाँ वेदी र याहवेहको भवनको बीचबाट तिनले ल्याए। अनि त्यसलाई नयाँ वेदीको उत्तरपट्टि राखे।
[15] त्यसपछि राजा आहाजले पुजारी उरियाहलाई यो हुकुम दिए: “नयाँ ठूलो वेदीमा बिहानको होमबलि र साँझको अन्नबलि, राजाको होमबलि र उहाँको अन्नबलि, सारा देशवासीहरूका होमबलि अनि तिनीहरूका अन्नबलि, अर्घबलि चढाउनू। वेदीमाथि होमबलि र बलिदानहरूका रगत छर्कनू। तर काँसोको वेदीचाहिँ अगुवाइ खोज्नलाई म प्रयोग गर्नेछु।”
[16] पुजारी उरियाहले राजा आहाजले भनेझैँ गरे।
[17] राजा आहाजले ठेलागाडाका खाँबाहरूबाट छेउका तखताहरू निकाले, र बाटाहरूलाई हटाइदिए। तिनले खड्कुँलोलाई थामिराख्ने काँसोका साँढेहरूलाई हटाए, र ढुङ्गाको आधारमा राखे।
[18] तिनले मन्दिरमा बनिएको शब्बाथमा प्रयोग गरिने मण्डप, र याहवेहको भवनको बाहिरको राजकीय मार्ग तिनले अश्शूरको राजाको कारणले हटाइदिए।
[19] आहाजको शासनका अरू घटनाहरू र तिनले गरेका कामहरूको विषयमा के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
[20] आहाज आफ्ना पुर्खाहरूसित विश्राममा सुते; अनि तिनीहरूसित दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा हिजकिया राजा भए।