[1] राजा हुँदा मनश्शे बाह्र वर्षका थिए। तिनले यरूशलेममा पचपन्न वर्ष राज्य गरे। तिनकी आमाको नाम हेप्सीबा थियो।
[2] याहवेहले इस्राएलीहरूको सामुबाट धपाइदिनुभएका जातिहरूका घिनलाग्दा रीतिहरूको पछि लागेर तिनले याहवेहको दृष्टिमा दुष्टता गरे।
[3] आफ्ना पिता हिजकियाले भत्काएका देवस्थानहरू तिनले फेरि बनाए। तिनले बाल देवताका निम्ति वेदीहरू पनि बनाए। इस्राएलका राजा आहाबले झैँ अशेरा देवीको खाँबो बनाए। तिनी सारा तारामण्डलको अगि निहुरे, र तिनीहरूलाई पुजे।
[4] तिनले “यरूशलेममा म आफ्नो नाम राख्नेछु” भन्नुहुने याहवेहको मन्दिरमा अरू देवी-देवताहरूका वेदीहरू बनाए।
[5] याहवेहको मन्दिरका दुवै चोकहरूमा तिनले सारा तारामण्डलका निम्ति वेदीहरू बनाए।
[6] तिनले आफ्नै छोरालाई आगोमा बलि गरे; तन्त्रमन्त्र र जोखना हेर्न लगाए, र भूतप्रेत खेलाउनेहरूसित सल्लाह लिए। तिनले याहवेहको दृष्टिमा धेरै दुष्टता गरेर उहाँलाई रिस उठाए।
[7] तिनले आफूले बनाएका अशेरा देवीको खाँबो लिएर त्यसलाई मन्दिरमा राखे, जसको विषयमा याहवेहले दावीद र तिनका छोरा सोलोमनलाई यसो भन्नुभएको थियो, “यस मन्दिरमा र मैले इस्राएलीहरूका सबै कुलहरूबाट चुनेको यरूशलेममा म सदाका निम्ति आफ्नो नाम राख्नेछु।
[8] यदि तिनीहरूले मैले तिनीहरूलाई आज्ञा गरेका प्रत्येक कुरा होसियारीसाथ पालन गरे, र मेरो सेवक मोशाले तिनीहरूलाई दिएका सम्पूर्ण व्यवस्था पालन गरे भने मैले तिनीहरूका पितापुर्खाहरूलाई दिएको यो देशबाट फेरि इस्राएलीहरूका पाउहरू यताउता घुमफिर गर्न म दिनेछैनँ।”
[9] तर मानिसहरूले मानेनन्। मनश्शेले तिनीहरूलाई बहकाइदिए। तिनीहरूले इस्राएलीहरूको सामु याहवेहले नाश गर्नुभएका जातिहरूले भन्दा बढी दुष्टता गरे।
[10] याहवेहले आफ्ना सेवक अगमवक्ताहरूद्वारा भन्नुभयो,
[11] “यहूदाका राजा मनश्शेले यस्ता घिनलाग्दा पाप गरेको छ। उसले आफूभन्दा अगिका एमोरीहरूलेभन्दा बढी दुष्टता गरेर आफ्ना मूर्तिहरूद्वारा यहूदालाई पापमा डोर्याएको छ।
[12] यसकारण याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: म यरूशलेम र यहूदामाथि यस्तो विपत्ति ल्याउनेछु, कि यसको बारेमा सुन्ने हरेकका कान झन्झनाउनेछन्।
[13] म यरूशलेममाथि सामरियाको विरुद्धमा प्रयोग गरिएको नाप्ने टाँगो र आहाबको घरानाको विरुद्धमा प्रयोग गरिएको साहुल तेर्साउनेछु। यरूशलेमलाई कसैले थाल माझेर घोप्टाएझैँ म त्यसलाई उल्टो पारिदिनेछु।
[14] आफ्नै अधिकारको बाँकी रहेको भागलाई त्यागिदिनेछु, र तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु। तिनीहरू आफ्ना सबै शत्रुहरूद्वारा लुटिनेछन् र लुटका सामानसरह हुनेछन्।
[15] तिनीहरूका पितापुर्खाहरू इजिप्टबाट निस्किआएको दिनदेखि आजसम्म नै तिनीहरूले मेरो दृष्टिमा जे दुष्टता छ, त्यही गरेर मलाई रिस उठाएका छन्।”
[16] यसबाहेक मनश्शेले पनि यति धेरै निर्दोष रगत बगाए कि तिनले यरूशलेमलाई एक कुनादेखि अर्को कुनासम्म रगतले भरिदिए। यहूदालाई पाप गर्न लगाए र तिनीहरूले याहवेहको दृष्टिमा दुष्टता गरे।
[17] मनश्शेको शासनका अरू घटनाहरू र तिनले गरेका सबै काम र तिनले गरेका पापहरूको विषयमा, के ती यहूदाका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र?
[18] मनश्शे आफ्ना पुर्खाहरूसित विश्राममा गए। अनि आफ्नो महलको बगैँचामा अर्थात् उज्जाको बगैँचामा गाडिए। तिनीपछि तिनका छोरा आमोन राजा भए।
[19] राजा हुँदा आमोन बाइस वर्षका थिए। तिनले यरूशलेममा दुई वर्ष राज्य गरे। तिनकी आमाको नाम मशुल्लेमेत थियो, जो हारूसकी छोरी थिइन्। तिनी योत्बाकी थिइन्।
[20] तिनले आफ्ना पिता मनश्शेले गरेझैँ याहवेहको दृष्टिमा दुष्टता गरे।
[21] तिनी आफ्ना पिताका पूरा चालहरूमा हिँडे; अनि आफ्ना पिताले पुजेका मूर्तिहरू पुजे, र तिनीहरूका सामु निहुरिए।
[22] तिनले याहवेह आफ्ना पितापुर्खाहरूका परमेश्वरलाई त्यागे, र याहवेहको मार्गमा हिँडेनन्।
[23] आमोनका अधिकृतहरूले तिनको विरुद्धमा षड्यन्त्र गरेर राजालाई तिनकै महलमा हत्या गरे।
[24] तब देशका मानिसहरूले आमोनलाई मार्ने सबैलाई मारे; अनि तिनीहरूले तिनका छोरा योशियाहलाई तिनको सट्टामा राजा बनाए।
[25] आमोनको शासनका अरू घटनाहरू र तिनले गरेका कामहरूको विषयमा, के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
[26] तिनी उज्जाको बगैँचामा आफ्नो चिहानमा गाडिए। तिनीपछि तिनका छोरा योशियाह राजा भए।