[1] इस्राएलका राजा यारोबामको सत्ताइसौँ वर्षमा यहूदाका राजा अमस्याहका छोरा अजर्याहले शासन गर्न थाले।
[2] राजा हुँदा तिनी सोह्र वर्षका थिए। तिनले यरूशलेममा बाउन्न वर्ष राज्य गरे। तिनकी आमाको नाम यकोल्याह थियो; जो यरूशलेमकी थिइन्।
[3] तिनले आफ्ना पिता अमस्याहले गरेझैँ याहवेहको दृष्टिमा जे ठिक थियो, त्यही गरे।
[4] तरै पनि तिनले अल्गा देवस्थानहरू हटाएनन्; र मानिसहरूले त्यहाँ बलिदानहरू चढाइरहन्थे र धूपहरू बालिरहन्थे।
[5] याहवेहले राजालाई कुष्ठरोगले प्रहार गर्नुभयो। तब तिनी नमरेसम्म एउटा अलग्गै घरमा बसे। राजाका छोरा योताम महलको जिम्मामा बसे। तिनले देशवासीहरूमाथि शासन गरे।
[6] अजर्याहका शासनकालका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषयमा चाहिँ के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
[7] अजर्याह आफ्ना पुर्खाहरूसित विश्राममा सुते, र तिनीहरूको छेउमा दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा योताम राजा भए।
[8] यहूदाका राजा अजर्याहका अठतीसौँ वर्षमा यारोबामका छोरा जकरिया सामरियामा इस्राएलका राजा भए। तिनले छ महिना राज्य गरे।
[9] तिनले आफ्ना पुर्खाहरूले झैँ याहवेहको दृष्टिमा दुष्टता गरे। तिनी नबातका छोरा यारोबामका पापहरूबाट पछि हटेनन्, जसले गर्दा तिनले इस्राएललाई पाप गर्न लगाएका थिए।
[10] याबेशका छोरा शल्लूमले जकरियाको विरुद्धमा षड्यन्त्र गरे। तिनले मानिसहरूकै सामु आक्रमण गरेर उनलाई मारे, र तिनीपछि राजा भए।
[11] जकरियाका शासनका अरू घटनाहरू इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
[12] यसरी, “तेरा सन्तानहरूहरू चौथो पुस्तामा इस्राएलको सिंहासनमा बस्नेछन्” भन्ने येहूलाई भनिएको याहवेहको वचन पूरा भयो।
[13] यहूदाका राजा उज्जियाहको उनन्चालीसौँ वर्षमा याबेशका छोरा शल्लूम राजा भए। तिनले सामरियामा एक महिना राज्य गरे।
[14] तब गादीका छोरा मनहेम तिर्साबाट सामरियामा गए। तिनले याबेशका छोरा शल्लूमलाई सामरियामा आक्रमण गरेर मारे, र तिनीपछि राजा भए।
[15] शल्लूमको शासनका अरू घटनाहरू र तिनले गरेका षड्यन्त्रहरू इस्राएलका राजाहरूको इतिहासका पुस्तकमा लेखिएका छन्।
[16] त्यस बेला मनहेमले तिर्साबाट सुरु गरेर तिप्सालाई आक्रमण गरे। सहर र त्यसका चारैतिरका प्रत्येकलाई पनि तिनीहरूले आफ्ना मूलढोकाहरू खोलिदिन नमानेकाले आक्रमण गरे। तिनले तिसालाई लुटे। अनि सबै गर्भवती स्त्रीहरूका पेट चिरिदिए।
[17] यहूदाका राजा अजर्याहका उनन्चालीसौँ वर्षमा गादीका छोरा मनहेम इस्राएलका राजा भए। तिनले सामरियामा दश वर्ष राज्य गरे।
[18] तिनले याहवेहको दृष्टिमा दुष्टता गरे। आफ्नो सम्पूर्ण शासनकालमा तिनी नबातका छोरा यारोबामका पापहरूबाट पछि हटेनन्, जसले गर्दा तिनले इस्राएललाई पाप गर्न लगाएका थिए।
[19] तब अश्शूरका राजा पूलले देशमाथि आक्रमण गरे। अनि मनहेमले तिनको आश्रय पाउन र आफ्नै राज्यमा आफूलाई स्थिर गराउन भनी तिनलाई एक हजार टालेन्ट चाँदी दिए।
[20] मनहेमले यो रकम इस्राएलबाट जबरजस्ती उठाए। अश्शूरका राजालाई दिनलाई प्रत्येक धनी व्यक्तिले पचास शेकेल चाँदी दिनुपर्थ्यो। यसकारण अश्शूरका राजा पछि हटे, र त्यस देशलाई छोडिदिए।
[21] मनहेमको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषयमा के ती इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
[22] मनहेम आफ्ना पुर्खाहरूसित विश्राममा सुते। तिनीपछि तिनका छोरा पकहीया राजा भए।
[23] यहूदाका राजा अजर्याहका पचासौँ वर्षमा मनहेमका छोरा पकहीया सामरियामा इस्राएलका राजा भए; र तिनले दुई वर्ष राज्य गरे।
[24] पकहीयाले याहवेहको दृष्टिमा दुष्टता गरे। तिनी नबातका छोरा यारोबामका पापहरूबाट हटेनन्, जसलाई गरेर तिनले इस्राएललाई पाप गर्न लगाएका थिए।
[25] तिनका मुख्य अधिकृतहरूमध्ये एक जना रमल्याहका छोरा पेकहले तिनको विरुद्धमा षड्यन्त्र गरे। आफूसित गिलादका पचास जना मानिसहरू लिएर तिनले सामरियामा भएको राजमहलको गढीमा पकहीया अनि अर्गोब र अरिहलाई मारे। यसरी पेकहले पकहीयालाई मारे र तिनीपछि राजा भए।
[26] पकहीयाको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरू इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
[27] यहूदाका राजा अजर्याहका बाउन्नौँ वर्षमा रमल्याहका छोरा पेकह सामरियामा इस्राएलका राजा भए। तिनले बीस वर्ष राज्य गरे।
[28] तिनले याहवेहको दृष्टिमा जे कुरा खराब थियो, त्यही गरे। इस्राएललाई गर्न लगाएका नबातका छोरा यारोबामका पापहरूबाट तिनी फर्केनन्, जसले गर्दा तिनले इस्राएललाई पाप गर्न लगाएका थिए।
[29] इस्राएलका राजा पेकहको समयमा अश्शूरका राजा तिग्लत-पिलेसेर आए। अनि इयोन, हाबिल-बेथ-माका, यानोह, केदेश र हासोरलाई लिए। तिनले गिलाद, गालील अनि नप्तालीका सम्पूर्ण भूमि लिए। मानिसहरूलाई बन्दी बनाएर अश्शूर लगे।
[30] तब एलाहका छोरा होशियाले रमल्याहका छोरा पेकहको विरुद्धमा षड्यन्त्र गरे। तिनले उनीमाथि आक्रमण गरेर उनलाई मारे। त्यसपछि उज्जियाहका छोरा योतामको बीसौँ वर्षमा तिनीपछि राजा भए।
[31] पेकहको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषयमा के ती इस्राएलका राजाहरूको पुस्तकहरूमा लेखिएका छैनन् र?
[32] रमल्याहका छोरा इस्राएलका राजा पेकहको दोस्रो वर्षमा यहूदाका राजा उज्जियाहका छोरा योतामले शासन गर्न सुरु गरे।
[33] राजा हुँदा तिनी पच्चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनकी आमाको नाम यरूशा थियो, जो सादोककी छोरी थिइन्।
[34] तिनले आफ्ना पिता उज्जियाहले गरेझैँ याहवेहको दृष्टिमा जे ठिक थियो, त्यही गरे।
[35] तरै पनि अल्गा देवस्थानहरू हटाइएनन्। मानिसहरूले त्यहाँ बलिदानहरू चढाइरहन्थे र धूपहरू बालिरहन्थे। योतामले याहवेहको मन्दिरको माथिल्लो मूलढोका पुनर्निर्माण गरे।
[36] योतामको शासनका अरू घटनाहरू र तिनले गरेका कामहरूको विषयमा के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
[37] (ती दिनहरूमा याहवेहले अरामका राजा रसीन र रमल्याहका छोरा पेकहलाई यहूदाको विरुद्धमा पठाउन थाल्नुभयो)।
[38] योताम आफ्ना पुर्खाहरूसित सुते र आफ्ना पिताको सहर दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा आहाजले राज्य गरे।