[1] अब यी कुराहरू तिमीहरूले लेखेको विषयमा छ: “पुरुषले स्त्रीलाई स्पर्श नगरेकै असल हो।”
[2] तर पनि यौन अनैतिकता धेरै भइरहेको कारण हरेक पुरुषले आफ्नै पत्नीसँग यौन सम्बन्ध राखोस्, र हरेक स्त्रीले पनि आफ्नै पतिसँग यौन सम्बन्ध राखोस्।
[3] पतिले आफ्नो पत्नीसँगको वैवाहिक कर्तव्य पूरा गरोस्। यसरी नै पत्नीले पनि पतिसँगको वैवाहिक कर्तव्य पूरा गरोस्।
[4] पत्नीको आफ्नै शरीरमाथि अधिकार हुँदैन, तर पतिको अधिकारमा हुन्छ। यसरी नै पतिको पनि आफ्नै शरीरमाथि अधिकार हुँदैन, तर पत्नीको अधिकारमा हुन्छ।
[5] पति-पत्नीले आफ्नो यौन सम्बन्धमा एक-अर्कालाई इन्कार नगर। तर पारस्परिक सहमतिअनुसार र केही समय प्रार्थनाको लागि बाहेक अलग नहोओ; ताकि तिमीहरू प्रार्थनाको लागि समर्पित हुन सक। त्यसपछि फेरि तिमीहरू एकसाथ होओ; ताकि तिमीहरूका आत्मसंयमको अभावको कारण शैतानले तिमीहरूलाई परीक्षामा नपारोस्।
[6] म यो तिमीहरूलाई आज्ञाको रूपमा होइन, तर अनुमतिको रूपमा भन्दैछु।
[7] तिमीहरू सबै जना मजस्तै रहेको म चाहन्छु; तर परमेश्वरबाट तिमी हरेकले आफ्नै प्रकारको वरदान पाएका छौ; एउटासँग एक प्रकारको वरदान छ भने अर्कोसँग अर्कै प्रकारको वरदान छ।
[8] अब अविवाहित र विधवाहरूलाई म यो भन्न चाहन्छु: तिनीहरूले मजस्तै विवाह नगरी बसेको असल हुन्छ।
[9] तर यदि तिनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने तिनीहरूले विवाह गरून्; किनकि कामवासनामा जल्नुभन्दा त विवाह गर्नु असल हुन्छ।
[10] विवाहितहरूलाई म यो आज्ञा दिन्छु; मबाट होइन, तर प्रभुबाट: पत्नी आफ्ना पतिबाट अलग भएर नबसोस्।
[11] तर यदि अलग बस्न चाहन्छिन् भने विवाह नगरी बसोस्; नत्रता फेरि पतिसँग मिलाप गरेर बसोस्। अनि पतिले पनि आफ्नी पत्नीसँग सम्बन्ध-विच्छेद नगरोस्।
[12] अरू बाँकी रहेकाहरूलाई म यो भन्न चाहन्छु; प्रभुबाट होइन, तर म आफैँबाट: यदि ख्रीष्टमा कुनै विश्वासी भाइको विश्वास नगर्ने पत्नी छ, र पतिसँग बस्न चाहन्छे भने उसले पत्नीसँग सम्बन्ध-विच्छेद नगरोस्।
[13] अनि यदि ख्रीष्टमा कुनै विश्वासी स्त्रीको विश्वास नगर्ने पति छ, र पत्नीसँग बस्न चाहन्छ भने उसले पतिसँग सम्बन्ध-विच्छेद नगरोस्।
[14] किनकि विश्वास नगर्ने पति पत्नीद्वारा पवित्र तुल्याइएको हुन्छ र विश्वास नगर्ने पत्नी उसको विश्वासी पतिद्वारा पवित्र तुल्याइएकी हुन्छे। नत्रता तिनीहरूका सन्तान अशुद्ध हुनेथिए; तर अब तिनीहरू पवित्र छन्।
[15] तर यदि अविश्वासी पति वा पत्नी अलग रहन चाहन्छन् भने ती अलग रहन सक्छन्। यस्तो परिस्थितिमा विश्वास गर्ने पुरुष वा स्त्री कुनै बन्धनमा रहँदैनन्; परमेश्वरले हामीलाई शान्तिमा रहन बोलाउनुभएको छ।
[16] हे पत्नी, तिमीलाई के थाहा, सायद तिमीले आफ्ना पतिलाई बचाउन सक्छ्यौ कि? अथवा हे पति, तिमीलाई के थाहा, सायद तिमीले आफ्नी पत्नीलाई बचाउन सक्छौ कि?
[17] प्रभुले हरेक व्यक्तिलाई जस्तो अवस्थामा राख्नुभएको छ, तथा जुन रूपमा बोलाउनुभएको छ, त्यही अवस्थामा विश्वासी भएर जिउनुपर्दछ। म यही नियम सबै मण्डलीहरूका लागि राख्दछु।
[18] कुनै मानिसको बोलावट हुँदा उसको अगिबाटै खतना भइसकेको थियो भने उसले बेखतना हुनुपर्दैन। कुनै मानिसको बोलावट हुँदा खतना नभएको हो भने उसले खतना नगरोस्।
[19] खतना र बेखतना महत्त्वपूर्ण कुरा होइन, तर परमेश्वरको आज्ञापालन गर्नुचाहिँ महत्त्वपूर्ण कुरा हो।
[20] हरेक व्यक्ति परमेश्वरले बोलाउनुहुँदा जस्तो अवस्थामा थियो, त्यसै अवस्थामा रहिरहोस्।
[21] तिमीहरूको बोलावट हुँदा के तिमीहरू सेवक थियौ? यो कुराको चिन्ता नगर; तर तिमीले स्वतन्त्र हुने मौका पायौ भने त्यसको सदुपयोग गर।
[22] किनकि जब प्रभुमा बोलावट पाउँदा कोही व्यक्ति सेवक थियो भने अब ऊ प्रभुको स्वतन्त्र पारिएको मानिस हो; त्यसरी नै जब कोही व्यक्ति बोलावट हुँदा स्वतन्त्र मानिस थियो भने अब ऊ ख्रीष्टको सेवक हो।
[23] तिमीहरू मोल तिरेर किनिएका हौ; तिमीहरू मानिसहरूका सेवक नबन।
[24] दाजुभाइ-दिदीबहिनीहरू हो, प्रत्येक व्यक्ति परमेश्वरप्रति जिम्मेवार भई, जसले जुन अवस्थामा परमेश्वरबाट बोलावट पाएको छ, त्यही अवस्थामा रहिरहोस्।
[25] अब कन्याहरूको विषयमा: मैले प्रभुबाट केही आज्ञा त पाएको छैन; तर प्रभुको कृपा पाएर विश्वासयोग्य भएको कारणले म यो सल्लाह दिन्छु।
[26] किनभने वर्तमान समयको सङ्कष्टको कारणले गर्दा मेरो विचारमा जुन व्यक्ति जस्तो छ, त्यस्तै अवस्थामा रहनु असल हुन्छ।
[27] यदि तिमी विवाहित छौ भने आफ्नी पत्नीलाई नत्याग। यदि तिमी अविवाहित छौ भने विवाह गर्न नखोज।
[28] तर यदि तिमीले विवाह गर्यौ भने पनि तिमीले पाप गरेका हुँदैनौ; अनि एउटी कन्याले विवाह गरी भने तापनि त्यसले पाप गरेकी हुँदिन। तर जसले विवाह गर्छन्, तिनीहरूले यस जीवनमा धेरै दुःखको सामना गर्नुपर्नेछ, र म तिमीहरूलाई यसबाट जोगाउन चाहन्छु।
[29] दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो भनाइको तात्पर्य यो हो, समय थोरै छ। अब उसो पत्नी हुनेहरू पत्नी नभएकाहरूजस्तै भएर जिऊन्;
[30] शोक गर्नेहरू, शोक नगर्नेहरूजस्ता होऊन्; आनन्दित हुनेहरू, आनन्दित नहुनेहरूजस्ता होऊन्; किन्नेहरू पनि आफूसित केही थोक नभएकाहरूजस्ता होऊन्;
[31] संसारका कुराहरू प्रयोग गर्नेहरू, तिनमा रुचि नलिनेहरूजस्ता होऊन्। किनकि यो संसारको वर्तमान रूप बितिरहेको छ।
[32] म यही चाहन्छु, तिमीहरू निस्फिक्री होओ। अविवाहित मानिसले प्रभुलाई कसरी प्रसन्न पारूँ भनी प्रभुकै बारेमा फिक्री राख्दछ।
[33] तर विवाहित मानिसले आफ्नी पत्नीलाई कसरी प्रसन्न राखूँ भनी संसारकै बारेमा रुचि राख्दछ।
[34] अनि उसका रुचिहरू विभाजित हुन्छन्। अविवाहित स्त्री अथवा कन्याले परमेश्वरको कामबारे रुचि राख्छे: उसको उद्देश्य शरीर र आत्मा दुवैबाट प्रभुमा पवित्र रहने हुन्छ। तर विवाहित स्त्रीले आफ्नो पतिलाई कसरी प्रसन्न राखूँ भनी संसारकै कुराहरूको रुचि राख्छे।
[35] यो तिमीहरूकै भलाइको लागि भन्दछु, तिमीहरूलाई प्रतिबन्ध लाउनलाई होइन; ताकि तिमीहरू प्रभुको पूर्ण भक्तिमा जीवन बिताउन सक।
[36] यदि कसैले आफूले मगनी गरेको कन्यासँग अनुचित व्यवहार गरेझैँ लाग्छ भने, र त्यस कन्याको उमेर पनि ढल्कँदैगएको छ भने, र उसलाई विवाह गर्नुपर्छ झैँ लाग्छ भने उसले आफूले चाहेझैँ विवाह गरोस्; यसमा उसले कुनै पाप गरेको हुँदैन; तिनीहरूले विवाह गर्नुपर्छ।
[37] तर जुन मानिसले आफ्नो मनमा यो विषय समाधान गरिसकेको छ, जो कुनै करकापमा परेको छैन; तर आफ्नो इच्छालाई वशमा राख्न सक्छ, र जसले कन्यालाई विवाह नगर्ने निर्णय गरिसकेको छ भने यस्तो मानिसले पनि असल गर्दछ।
[38] यसकारण जसले त्यस कन्यालाई विवाह गर्छ, उसले सही गर्छ; तर जसले उसलाई विवाह गर्दैन, उसले अझ असल गर्छ।
[39] एउटी स्त्री आफ्नो पति बाँचुन्जेल उसको अधीनमा हुन्छे। तर यदि पति मर्यो भने उसले आफूले चाहेको व्यक्तिसँग विवाह गर्न सक्छे; तर त्यो मानिस प्रभुमा विश्वास गर्ने हुनुपर्छ।
[40] मेरो विचारमा यदि ऊजस्तो छे, त्यस्तै अवस्थामा रही भने झन् सुखी हुन्छे; अनि मलाई लाग्छ, तिमीहरूलाई यो सल्लाह दिँदा परमेश्वरको आत्माले मलाई अगुवाइ गर्दै हुनुहुन्छ।