Skip to content
Opens in a new window
Listen to this chapter • 5:13

[1] पावल, परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित हुनलाई बोलाइएको र हाम्रो भाइ सोस्थेनसबाट,

[2] कोरिन्थमा भएका परमेश्‍वरको मण्डलीलाई, जो ख्रीष्‍ट येशूमा पवित्र पारिएका छन्, जो उहाँका पवित्र प्रजा हुनलाई बोलाइएका छन् र अरू हरेक ठाउँमा भएका तिनीहरू सबैसँग जसले हाम्रा प्रभु येशू ख्रीष्‍टको नाम पुकार्दछन्, जो हाम्रा र तिनीहरूका प्रभु हुनुहुन्छ:

[3] हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति!

[4] परमेश्‍वरको अनुग्रह ख्रीष्‍ट येशूमा तिमीहरूलाई दिइएको कारण म तिमीहरूका लागि परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउँछु।

[5] किनकि तिमीहरू उहाँमा हरेक प्रकारले धनी बनाइएका छौ—सबै प्रकारका वचनमा र सारा ज्ञानमा तिमीहरू उहाँमा धनी बनाइएका छौ।

[6] तिमीहरूका बीचमा ख्रीष्‍टबारे हाम्रो गवाही पक्‍का भएको छ।

[7] यसकारण हाम्रा प्रभु येशू ख्रीष्‍ट प्रकट हुनलाई तिमीहरूले उत्सुकतासाथ प्रतीक्षा गरिरहँदा, तिमीहरूलाई कुनै आत्मिक वरदानको कमी हुनेछैन।

[8] उहाँले तिमीहरूलाई अन्त्यसम्म बलवान् बनाई राख्नुहुनेछ, ताकि तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्‍टको दिनमा निर्दोष ठहरिन सक।

[9] परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रीष्‍टसँगको सङ्गतिमा तिमीहरूलाई बोलाउनुभएको छ।

[10] दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्‍टको नाममा आग्रहपूर्वक बिन्ती गर्दछु, तिमीहरू एक-अर्काका कुरामा सहमत होओ, र तिमीहरूका बीचमा कुनै फाटो नहोस्; तर तिमीहरू एउटै मन र एउटै विचारमा पूर्ण रूपमा एक होओ।

[11] मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, क्लोएका घरानाबाट कसैले मलाई खबर दिएको छ कि, तिमीहरूका बीचमा झैझगडा छ।

[12] मैले भन्‍न चाहेको कुरा यो हो, तिमीहरूमध्ये कसैले, “म पावलको हुँ” अर्कोले “म अपोल्‍लोसको हुँ” अनि अर्कोले, “म पत्रुसको हुँ” अझ अर्कोले चाहिँ, “म ख्रीष्‍टको हुँ” भन्छौ रे।

[13] के ख्रीष्‍ट विभाजित हुनुभएको छ र? के पावल तिमीहरूका लागि क्रूसमा टाँगिएको थियो र? के तिमीहरूले पावलको नाममा बप्‍तिस्मा लिएका थियौ र?

[14] म परमेश्‍वरलाई धन्यवाद दिन्छु, किनकि मैले तिमीहरूमध्ये क्रिस्पस र गायसलाई बाहेक अरू कसैलाई पनि बप्‍तिस्मा दिइनँ।

[15] यसकारण तिमीहरू कसैले पनि मेरो नाममा बप्‍तिस्मा लिएको हो भनी भन्‍न सक्दैनौ।

[16] हो, मैले स्तिफनसको परिवारलाई चाहिँ बप्‍तिस्मा दिएको हुँ, त्यसबाहेक अरू कसैलाई पनि मैले बप्‍तिस्मा दिएको मलाई थाहा छैन।

[17] किनकि ख्रीष्‍टले मलाई बप्‍तिस्मा दिनलाई होइन, तर सुसमाचार प्रचार गर्नलाई पठाउनुभएको हो, जुनचाहिँ मानवीय बुद्धिका शब्दहरूमा होइन, नत्रता ख्रीष्‍टको क्रूसको शक्ति व्यर्थ हुनेछ।

[18] किनकि क्रूसको सन्देश नाश हुन गइरहेकाहरूका निम्ति मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्ति परमेश्‍वरको शक्ति हो।

[19] किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ: “म बुद्धिमानीहरूका बुद्धिलाई नष्‍ट गर्नेछु; ज्ञानीहरूका ज्ञान व्यर्थ तुल्याइदिनेछु।”

[20] बुद्धिमान् मानिस कहाँ छ? व्यवस्थाको शिक्षक कहाँ छ? यस युगको दर्शनशास्त्री कहाँ छ? के परमेश्‍वरले यस संसारको बुद्धिलाई मूर्ख तुल्याउनुभएन र?

[21] किनकि परमेश्‍वरको ज्ञानअनुसार संसारले आफ्नो बुद्धिद्वारा परमेश्‍वरलाई चिन्‍न नसकेकाले, प्रचार गरिएको सुसमाचारको मूर्खताद्वारा उहाँमाथि विश्‍वास गर्नेहरूलाई उद्धार गर्न परमेश्‍वरलाई असल लाग्यो।

[22] यहूदीहरू अलौकिक चिन्हहरू खोजी गर्छन्, र ग्रीकहरू बुद्धिको खोजी गर्छन्।

[23] तर हामी त क्रूसमा टाँगिनुभएको ख्रीष्‍टको प्रचार गर्दछौँ, जो यहूदीहरूका निम्ति ठेस लाग्ने ढुङ्गा र गैरयहूदीहरूका निम्ति मूर्ख कुरा ठहरिनुभयो।

[24] तर परमेश्‍वरद्वारा बोलाइएकाहरू यहूदी र ग्रीक दुवैका निम्ति ख्रीष्‍ट परमेश्‍वरको शक्ति र परमेश्‍वरको बुद्धि हुनुहुन्छ।

[25] किनकि परमेश्‍वरको मूर्खता मानिसहरूको बुद्धिभन्दा श्रेष्‍ठ र परमेश्‍वरको दुर्बलता मानिसहरूको बलभन्दा धेरै शक्तिशाली हुन्छ।

[26] दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूको बोलावट हुँदा तिमीहरू कस्ता थियौ सो विचार गर; तिमीहरूमध्ये धेरै जना मानवीय नापअनुसार बुद्धिमान् थिएनौ; धेरै जना प्रभावशाली थिएनौ; धेरै जना जन्मँदा खानदानी थिएनौ।

[27] तर बुद्धिमानहरूलाई शर्ममा पार्नलाई परमेश्‍वरले संसारको दृष्‍टिमा मूर्ख ठहरिएकाहरूलाई चुन्‍नुभयो अनि शक्तिशालीहरूलाई शर्ममा पार्नलाई परमेश्‍वरले संसारका दृष्‍टिमा दुर्बल ठहरिएकाहरूलाई चुन्‍नुभयो।

[28] परमेश्‍वरले संसारका नीच र तुच्छ गनिएका कुराहरू—कुनै पहिचान नै नभएका कुराहरूलाई चुन्‍नुभयो; ताकि संसारको दृष्‍टिमा महत्त्वपूर्ण ठानिएका कुराहरू व्यर्थ ठहरिउन्,

[29] ताकि उहाँको सामु कसैले घमण्ड गर्न नपाओस्।

[30] उहाँकै कारण तिमीहरू ख्रीष्‍ट येशूमा छौ, जो परमेश्‍वरबाट हाम्रा निम्ति बुद्धि, धार्मिकता, पवित्रता अनि छुटकारा हुनुभयो।

[31] यसकारण धर्मशास्त्रमा यसरी लेखिएको छ, “घमण्ड गर्नेले प्रभुमा नै घमण्ड गरोस्।”

1 कोरिन्थी — Chapters