Skip to content
Opens in a new window
Listen to this chapter • 4:20

[1] अब दाजुभाइ-दिदीबहिनीहरू हो, आत्मिक वरदानहरूबारे तिमीहरू अनजान बस भन्‍ने म चाहन्‍नँ।

[2] तिमीहरू जान्दछौ, जब तिमीहरू ख्रीष्‍टका विश्‍वासी थिएनौ, तब तिमीहरू कुनै न कुनै प्रकारले नबोल्ने मूर्तिहरूतिर प्रभावित भई बहकिएर गएका थियौ।

[3] यसकारण तिमीहरूले यो जानेको म चाहन्छु, कि परमेश्‍वरको आत्माद्वारा बोल्ने व्यक्तिले “येशू श्रापित होस्” भन्‍न सक्दैन र पवित्र आत्माद्वारा बाहेक अरू कसैले “येशू नै प्रभु हुनुहुन्छ” भनी भन्‍न सक्दैन।

[4] वरदानहरू विभिन्‍न किसिमका छन्, तर ती वरदानहरू एउटै आत्माले दिनुहुन्छ।

[5] सेवाहरू विभिन्‍न किसिमका छन्, तर प्रभु एउटै हुनुहुन्छ।

[6] कामहरू पनि विभिन्‍न किसिमका छन्, तर उही परमेश्‍वरले नै तिनीहरू सबैमा र हरेकमा गर्नुहुन्छ।

[7] सबैका भलाइको निम्ति आत्माका वरदानहरू हरेकलाई प्रकट गरिएको छ।

[8] परमेश्‍वरका आत्माद्वारा एउटालाई बुद्धिको कुरा बोल्ने, अर्कोलाई उही आत्माद्वारा ज्ञानको कुरा बोल्ने,

[9] अर्कोलाई उही आत्माद्वारा विश्‍वास, अर्कोलाई उही आत्माद्वारा निको पार्ने वरदानहरू,

[10] अर्कोलाई आश्‍चर्यका कामहरू गर्ने शक्ति, अर्कोलाई अगमवाणी, अर्कोलाई आत्माहरू छुट्याउने, अर्कोलाई विभिन्‍न भाषाहरूमा बोल्ने र अझ अर्कोलाई चाहिँ भाषाहरूको अर्थ खोल्ने।

[11] यी सबै एउटै र उही आत्माका कामहरू हुन्, र यो उहाँले आफ्नो इच्छाबमोजिम हरेकलाई दिनुहुन्छ।

[12] जसरी शरीर एउटै भए तापनि अङ्गहरू धेरै हुन्छन्; तर सबै अङ्गहरू मिलेर एउटै शरीर बनिएको हुन्छ, ख्रीष्‍टको शरीरसँग पनि यस्तै हुन्छ।

[13] यहूदी होस् वा ग्रीक, सेवक होस् वा फुक्‍का, जोसुकै भए तापनि एउटै शरीर हुनलाई एउटै आत्माद्वारा हाम्रो बप्‍तिस्मा भयो, र हामी सबै जनालाई एउटै आत्मा पिउन दिइयो।

[14] किनकि शरीर एउटा अङ्गले बनेको होइन, तर धेरै अङ्गहरूले बनेको हुन्छ।

[15] अब यदि खुट्टाले “म हात होइनँ, यसकारण म शरीरको होइनँ” भन्यो भने के यो शरीरको अङ्ग हुँदैन र?

[16] अनि यदि कानले “म आँखा होइनँ, यसकारण म शरीरको अङ्ग होइनँ,” भन्यो भने के यो शरीरको अङ्ग हुँदैन र?

[17] यदि पूरा शरीर आँखा हुँदो हो त कहाँबाट सुन्‍ने? यदि पूरा शरीर कान हुँदो हो त कहाँबाट सुँघ्ने?

[18] तर वास्तवमा परमेश्‍वरले उहाँको इच्छाबमोजिम प्रत्येक अङ्गहरूलाई एक-एक गरेर मिलाएर शरीरमा राखिदिनुभएको छ।

[19] यदि तिनीहरू एउटै अङ्ग हुँदाहुन् त शरीर कहाँ हुनेथियो र?

[20] यसकारण अङ्गहरू धेरै छन्, तर शरीर एउटै छ।

[21] आँखाले हातलाई “मलाई तेरो आवश्यकता छैन” भन्‍न सक्दैन; अनि शिरले पनि खुट्टालाई “मलाई तेरो आवश्यकता छैन” भन्‍न सक्दैन।

[22] बरु शरीरका दुर्बल सोचेका अङ्गहरू नै झन् बढी आवश्यक हुन्छन्।

[23] हामीले अरूभन्दा कम महत्त्व ठानेका अङ्गहरूलाई नै बढी महत्त्व दिन्छौँ; र गोप्य अङ्गहरूलाई विशेष रूपमा भद्रतासाथ वास्ता गर्छौँ।

[24] हाम्रा देखिने अङ्गहरूलाई विशेष वास्ता चाहिँदैन। तर परमेश्‍वरले शरीरका अङ्गहरूलाई यसरी एकसाथ मिलाएर राखिदिनुभएको छ, कि कम महत्त्व भएका अङ्गहरूले बढी वास्ता पाऊन्,

[25] ताकि कुनै विभाजन नहून्, तर शरीरका अङ्गहरूले एक-अर्काको समान वास्ता गरून्।

[26] एउटा अङ्गमा पीडा भयो भने सबै अङ्गहरूले सँगै पीडा भोग्छन्; यदि एउटा अङ्गको आदर भयो भने सबै अङ्गहरू त्योसँग रमाउँछन्।

[27] तिमीहरू ख्रीष्‍टका शरीर हौ, र हरेक जना त्यसका अङ्गहरू हौ।

[28] मण्डलीमा परमेश्‍वरले सबैभन्दा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि अचम्मका काम गर्नेहरू, र निको पार्ने वरदान भएकाहरू, अरूलाई सहायता गर्नेहरू, प्रशासन चलाउने वरदान पाएकाहरू र विभिन्‍न भाषामा बोल्नेहरू नियुक्त गर्नुभएको छ।

[29] के सबै जना प्रेरितहरू हुन्? के सबै जना अगमवक्ताहरू हुन्? के सबै जना शिक्षकहरू हुन्? के सबैले अचम्मका कामहरू गर्छन्?

[30] के सबैसँग निको पार्ने वरदानहरू छन्? के सबैले अज्ञात भाषाहरू बोल्छन्? के सबैले अर्थ खोल्न सक्छन्?

[31] तर उत्तम वरदानहरूको इच्छा गर। म तिमीहरूलाई सर्वोत्कृष्‍ट मार्ग बताउँछु।

1 कोरिन्थी — Chapters