[1] दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा पुर्खाहरू बादलमुनि थिए, र तिनीहरू सबै समुद्रको बीचबाट भएर गए भन्ने कुरामा तिमीहरू यस वास्तविकताबाट अनजान रहो भन्ने म चाहन्नँ।
[2] तिनीहरू सबै जनाको बादल र समुद्रमा बप्तिस्मा भएर मोशासँग जोडिए।
[3] तिनीहरू सबैले एउटै आत्मिक भोजन खाए,
[4] अनि एउटै आत्मिक पानी पिए; किनकि तिनीहरूले त्यस आत्मिक चट्टानबाट पिए, जो तिनीहरूसँगै हिँड्नुभयो र त्यो चट्टानचाहिँ ख्रीष्ट हुनुहुन्थ्यो।
[5] तरै पनि परमेश्वर तिनीहरूमध्ये धेरैसँग प्रसन्न हुनुभएन। त्यसैले तिनीहरूका शरीर उजाडस्थानमै छरपस्ट भए।
[6] हामीले आफ्ना हृदयहरू तिनीहरूले जस्तै दुष्ट कुराहरूमा नलगाऔँ भनेर यी कुराहरू हाम्रा लागि उदाहरणको रूपमा नै घटेका थिए।
[7] तिमीहरू मूर्तिपूजक नबन, जसरी तिनीहरूमध्ये कति जना थिए; यसरी लेखिएको छ: “मानिसहरू खान र पिउनलाई बसे, र दाखमद्यले मातेर मोजमस्ती गर्न उठे।”
[8] हामी यौन अनैतिकतामा फस्नुहुँदैन, जसरी तिनीहरूमध्ये कति जना फसे, र एकै दिनमा तेईस हजार मरेका थिए।
[9] हामीले ख्रीष्टलाई जाँच गर्नुहुँदैन, जसरी तिनीहरूमध्ये कतिले जाँच गरे, र तिनीहरू सर्पद्वारा डसिएर मरे।
[10] तिमीहरू गनगन नगर, जसरी तिनीहरूमध्ये कतिले गरे, र तिनीहरू नाश गर्ने दूतद्वारा मारिए।
[11] तिनीहरूसँग यी कुराहरू उदाहरणको रूपमा घटे, र यी घटनाहरू हाम्रै चेतावनीको लागि लेखियो, जो यस युगको अन्त्यतिर आइपुगेका छौँ।
[12] यसकारण यदि तिमीहरूलाई आफू स्थिरसाथ खडा छौ भनी लाग्छ भने होसियार रहो, ताकि तिमीहरू लड्नु नपरोस्।
[13] मानिसमाथि आइपर्ने किसिमको परीक्षाबाहेक अरू सहनै नसक्ने परीक्षामा तिमीहरू परेका छैनौ। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ; उहाँले तिमीहरूलाई सहनै नसक्ने परीक्षामा पर्न दिनुहुनेछैन; तर जब तिमीहरू परीक्षामा पर्छौ, तब उहाँले तिमीहरूलाई त्यसबाट उम्कने बाटो पनि दिनुहुनेछ। यसरी तिमीहरूले त्यसलाई सहन सक्नेछौ।
[14] यसकारण मेरा प्रिय मित्रहरू हो, मूर्तिपूजाबाट अलग बस।
[15] म समझदार मानिसहरूसँग बोल्दैछु; मैले भनेका कुरालाई आफैँले जाँचेर हेर।
[16] त्यो धन्यवादको कचौरा, जसका लागि हामी धन्यवाद चढाउँछौँ; के त्यो ख्रीष्टको रगतमा सहभागिता होइन र? अनि जुन रोटी हामी भाँच्छौँ, के त्यो ख्रीष्टको शरीरको सहभागिता होइन र?
[17] एउटै रोटी छ, हामी धेरै भए तापनि एउटै शरीर हौँ; किनकि हामी सबै एउटै रोटीबाट खान्छौँ।
[18] इस्राएलका मानिसहरूलाई विचार गर; चढाइएको बलिदानका थोक खानेहरू, के तिनीहरू वेदीमा सहभागी भएनन् र?
[19] त्यसो भए के मैले मूर्तिलाई चढाएको वस्तु केही महत्त्वको हो? अथवा मूर्ति केही महत्त्वको हो भनेर भनिरहेको छु त?
[20] होइन, तर गैरयहूदीहरूले चढाएका चीज परमेश्वरलाई होइन, भूतआत्माहरूलाई चढाएका हुन्छन्; र तिमीहरू ती भूतआत्माहरूसँग सहभागी होऔ भन्ने म चाहँदिनँ।
[21] तिमीहरूले परमेश्वरको कचौराबाट र भूतआत्माहरूका कचौराबाट पनि पिउन सक्दैनौ। तिमीहरू परमेश्वरको टेबुल र भूतआत्माहरूको टेबुल, दुवैमा भाग लिन सक्दैनौ।
[22] के हामीले परमेश्वरको क्रोधलाई जगाउन खोजिरहेका छौँ? के हामी उहाँभन्दा शक्तिशाली छौँ?
[23] सबै थोकहरू उचित छन्, तर सबै थोकहरू लाभदायक हुँदैनन्। सबै थोकहरू उचित छन्; तर सबै थोकहरूले आत्मिकी उन्नति गराउँदैनन्।
[24] तिमीहरू कसैले पनि आफ्नै भलाइ नखोज, तर अरूको भलाइ खोज।
[25] मासुको पसलमा जे बेचिन्छ, त्यो विवेकको खातिर नसोधीकन खाओ;
[26] किनकि, “पृथ्वी र यसमा भएका सबै थोक प्रभुकै हुन्।”
[27] यदि कुनै अविश्वासीले तिमीहरूलाई भोजनको लागि निम्तो दियो भने, र तिमीहरूले जाने चाहना गर्यौ भने तिमीहरूको अगि जे कुराहरू राखिन्छ, त्यो विवेकका खातिर केही नसोधीकन खाओ।
[28] तर यदि कसैले तिमीहरूलाई “यो त बलिदानमा चढाएको चीज हो,” भन्छ भने त्यस बताउने मानिसको खातिर र दुवैको विवेकको खातिर त्यसलाई नखाओ।
[29] मैले अर्को मानिसको विवेकको खातिर भन्न खोजेको हो, तिम्रो विवेकको खातिर होइनँ। किनकि मेरो स्वतन्त्रताको न्याय अरूको विवेकद्वारा किन जाँच्नु?
[30] यदि मैले धन्यवाद दिएर भोजनमा सामेल हुन्छु भने जुन कुराका लागि मैले परमेश्वरलाई धन्यवाद चढाउँछु, तब त्यसका लागि मेरो निन्दा किन गरिन्छ?
[31] यसकारण चाहे तिमीहरू खाओ वा पिओ अथवा जेसुकै गर, सबै कुरा परमेश्वरका महिमाको निम्ति गर।
[32] तिमीहरू कसैलाई पनि ठेस लाग्ने काम नगर, चाहे यहूदीहरू होस् वा ग्रीकहरू होस् अथवा परमेश्वरको मण्डलीलाई होस्।
[33] जसरी म पनि सबैलाई सबै तरिकाले खुशी पार्ने कोसिस गर्दछु; किनकि म आफ्नै भलाइ होइन, तर धेरैको भलाइ खोज्दछु, ताकि तिनीहरूले उद्धार पाऊन्।