[1] दाजुभाइ-दिदीबहिनीहरू हो, जब म तिमीहरूकहाँ आएँ, तब म मानिसको बुद्धि र चलाखीपूर्ण वचनमा आइनँ, तर मैले तिमीहरूलाई परमेश्वरको रहस्यको बारेमा गवाही दिँदै आएँ।
[2] किनकि म तिमीहरूका बीचमा हुँदा येशू ख्रीष्ट र उहाँ क्रूसमा टाँगिनुभएको कुराबाहेक अरू केही कुरा नजान्ने निर्णय गरेँ।
[3] म तिमीहरूकहाँ दुर्बलतामा साह्रै डर र कम्पसाथ आएँ।
[4] मेरो शिक्षा बुद्धि र लोभ्याउने शब्दहरूमा थिएन, तर आत्मिक शक्तिको प्रदर्शनमा थियो;
[5] ताकि तिमीहरूका विश्वास मानिसहरूका बुद्धिमा नभएर परमेश्वरको शक्तिमा आधारित होस्।
[6] हामी परिपक्व भएकाहरूका बीचमा बुद्धिको सन्देश प्रचार गर्छौँ, तर यस युगको बुद्धि अथवा यस युगका शासकहरूको बुद्धि होइन, जो नाश भएर जानेछ।
[7] तर हामी त परमेश्वरको लुकाएर राखिएको रहस्यमय बुद्धिबारे घोषणा गर्छौँ, जसलाई परमेश्वरले हाम्रो महिमाको लागि युगौँ भन्दा अगि नै निर्धारण गर्नुभएको थियो।
[8] यस युगका कुनै शासकहरूले यसलाई बुझेनन्; किनकि यदि तिनीहरूले बुझेका भए महिमाका प्रभुलाई क्रूसमा टाँग्ने नै थिएनन्।
[9] तापनि यसरी लेखिएको छ: “कुनै आँखाले नदेखेका, कुनै कानले नसुनेका, कुनै मानवीय मनमा नसोचिएका, यी कुराहरू परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ।”
[10] यी कुराहरू परमेश्वरले हामीलाई उहाँका आत्माद्वारा प्रकट गर्नुभएको छ। आत्माले सबै कुराहरू, परमेश्वरका गहिराइमा भएका कुराहरूलाई पनि खोजी गर्नुहुन्छ।
[11] किनकि मानिसको आफूभित्रको आत्माले बाहेक अरू कसले तिनीहरूको विचारहरू जान्दछ र? त्यसरी नै परमेश्वरका विचारहरू परमेश्वरको आत्माले बाहेक कसैले जान्दैन।
[12] हामीले पाएको आत्मा संसारको आत्मा होइन, तर परमेश्वरबाट पाएको आत्मा हो, ताकि परमेश्वरले हामीलाई सित्तैँमा दिनुभएका थोकहरू हामी बुझ्न सकौँ।
[13] हामी जुन कुरा बोल्दछौँ, ती मानवीय बुद्धिद्वारा सिकाएका शब्दहरूमा होइन, तर आत्माद्वारा सिकाइएका शब्दहरूमा बोल्दछौँ, हामी आत्माले सिकाउनुभएका शब्दहरूमा आत्मिक सत्यताहरू व्याख्या गर्दछौँ।
[14] जुन व्यक्तिसँग परमेश्वरको आत्मा हुँदैन, त्यसले परमेश्वरको आत्माबाट आएका कुराहरू स्वीकार गर्दैन, तर ती कुराहरू त्यसको निम्ति मूर्खता हुन्छन्; र त्यसले ती कुराहरू बुझ्नै सक्दैन, किनकि ती कुराहरूको मूल्याङ्कन आत्मिक रीतिले मात्र हुँदछ।
[15] आत्मिक व्यक्तिले सबै कुराहरूको मूल्याङ्कन गर्दछ, तर ऊचाहिँ कोहीद्वारा पनि मूल्याङ्कन गरिँदैन।
[16] किनकि, “प्रभुको मनलाई कसले जानेको छ, र उहाँलाई कसले सिकाउन सक्छ?” तर हामीसँग ख्रीष्टको मन छ।