Skip to content
Opens in a new window
Listen to this chapter • 4:46

[1] स्वतन्त्रताको निम्ति ख्रीष्‍टले हामीलाई स्वतन्त्र तुल्याउनुभयो। यसकारण स्थिर भएर खडा होओ, र दासत्वको जुवाद्वारा आफूलाई फेरि बोझमा नपार।

[2] मेरो कुरामा ध्यान देओ। म पावल, तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले खतना गर्‍यौ भने ख्रीष्‍ट तिमीहरू सबैको निम्ति मूल्यहीन ठहरिनुहुनेछ।

[3] म फेरि पनि खतना गर्ने सबै मानिसलाई भन्दछु, जसले आफूलाई खतना गराउँछ, ऊ सबै व्यवस्था पालन गर्न बाध्य हुनेछ।

[4] तिमीहरू जसले व्यवस्थाद्वारा धर्मी ठहरिन खोज्दैछौ, तिमीहरू ख्रीष्‍टबाट अलग भएका छौ; तिमीहरू अनुग्रहबाट पतित भएका छौ।

[5] तर परमेश्‍वरका आत्माबाट हामी उत्कट इच्छासहित विश्‍वासद्वारा धार्मिकताको आशाको प्रतीक्षा गर्दछौं।

[6] किनकि ख्रीष्‍ट येशूमा विश्‍वास गर्नेहरूलाई खतना होस् वा बेखतनाको होस्, कुनै मूल्य छैन, तर प्रेमद्वारा व्यक्‍त गरिने त्यो एउटा विश्‍वासको मात्र मूल्य छ।

[7] तिमीहरूले राम्रो दौड दौडिरहेका थियौ; तर कसले तिमीहरूलाई सत्य पालना गर्नदेखि अलग गराई बाधा पुर्‍यायो?

[8] परमेश्‍वरबाट यो उक्साउने काम भएको होइन, जसले तिमीहरूलाई बोलाउनुहुन्छ।

[9] “थोरै खमीरले जम्मै पीठोको ढिकालाई खमीरी बनाइदिन्छ।”

[10] म प्रभुमा विश्‍वस्त छु, कि तिमीहरूले योबाहेक अर्को विचार अपनाउने छैनौ। तिमीहरूलाई अन्योलमा पार्ने जोसुकै होस्, त्यसले मूल्य चुकाउनुपर्नेछ।

[11] दाजुभाइ-दिदीबहिनीहरूहो, यदि मैले अझै पनि खतनाकै बारेमा प्रचार गरिरहेको छु भने किन म अझै सताइएको छु त? यसो हो भने क्रूसको बाधा हटाइएको छ।

[12] तिमीहरूलाई विचलित पार्नेहरू, बरु तिनीहरूका त्यो अङ्ग नै काटिए पनि हुनेथियो।

[13] मेरा दाजुभाइ-दिदीबहिनीहरू, तिमीहरू स्वतन्त्र हुनालाई बोलाइएका हौ; तर तिमीहरूको स्वतन्त्रतालाई पापमय स्वभावको निम्ति प्रयोग नगर, बरु प्रेममा एउटाले अर्कोको नम्रतासाथ सेवा गर।

[14] किनकि सम्पूर्ण व्यवस्था यही एउटै आज्ञामा पूरा भएको छ: “तिमीले आफ्नो छिमेकीहरूलाई आफूलाई झैं प्रेम गर।”

[15] तर यदि तिमीहरू एउटाले अर्कालाई टोक्ने र निल्ने गर्छौ भने ता होसियार होओ, नत्र ता तिमीहरू एक-अर्काबाटै नष्‍ट हुनेछौं।

[16] यसकारण म भन्दछु, आत्माको नियन्त्रणमा बाँच, र तिमीहरू शरीरको पाप-स्वभावको लालसामा नपर,

[17] किनकि पापमय स्वभावले परमेश्‍वरको आत्माको विरुद्ध चाहना गर्दछ; र परमेश्‍वरको आत्माले पापमय स्वभावको विरुद्धमा। तिनीहरू एक-अर्काको विरुद्धमा हुन्छन्, यसैकारण तिमीहरूले जे गर्न चाहन्छौ, त्यो तिमीहरूले नगर।

[18] तर यदि तिमी परमेश्‍वरको आत्माद्वारा डोर्‍याइएका हौ भने ता तिमीहरू व्यवस्थाको अधीनतामा हुँदैनौ।

[19] पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्: यौन अनैतिकता, अपवित्रता र भ्रष्‍ट आचरण

[20] मूर्तिपूजा र जादूटुना, घृणा, कलह, ईर्ष्या, क्रोध, स्वार्थी महत्त्वाकांक्षा, मतभिन्‍नता, गुटबन्दी,

[21] अनि डाह; मतवालापन, मोजमज्जा र यस्तै अरू कुराहरू। मैले पहिला गरेजस्तै, अहिले पनि चेतावनी दिँदछु, कि जो व्यक्‍ति यस प्रकारले जिउँदछ, ऊ परमेश्‍वरको राज्यको उत्तराधिकारी हुँदैन।

[22] तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वासयोग्यता,

[23] नम्रता र आत्मसंयम हुन्। यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था छैन।

[24] जो ख्रीष्‍ट येशूका हुन्, उनीहरूले शरीरको पाप-स्वभावलाई यसका अभिलाषा र लालचसहित क्रूसमा टाँगिदिएका छन्।

[25] किनकि हामी आत्माअनुसार जिउँछौं भने आत्माको नियन्त्रणअनुसार नै चलौं।

[26] हामी अहङ्कारी नहोऔं, एउटाले अर्कालाई रिस नउठाऔं, र एउटाले अर्कोको ईर्ष्या नगरौं।

गलाती — Chapters