Skip to content
Opens in a new window
Listen to this chapter • 4:27

[1] पावल एक प्रेरित र मसँग भएका सबै दाजुभाइ-दिदीबहिनीहरूबाट: गलातियाका मण्डलीहरूलाई: मलाई मानिसहरूको तर्फबाट वा कुनै मानिसद्वारा पठाइएको होइन, तर येशू ख्रीष्‍ट र उहाँलाई मृत्युबाट जीवित पार्नुहुने परमेश्‍वर पिताले पठाउनुभएको हो।

[3] हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति।

[4] जसले हाम्रा पिता परमेश्‍वरको इच्छाअनुसार हाम्रा पापहरूका निम्ति आफूलाई अर्पण गर्नुभयो; ताकि हामीले यस वर्तमान दुष्‍ट युगबाट छुटकारा पाउन सकौं।

[5] परमेश्‍वर पितालाई सदा-सर्वदा महिमा भइरहोस्। आमेन!

[6] म छक्‍क परिरहेको छु, किनकि तिमीहरू ख्रीष्‍टको अनुग्रहअनुसार जिउनलाई बोलाउनुहुनेलाई यति चाँडै त्यागेर अर्कै सुसमाचारतिर लागिरहेका छौ।

[7] वास्तवमा त्यो साँचो सुसमाचार नै होइन। स्पष्‍टसँग भन्‍नुपर्दा केही मानिसहरूले तिमीहरूलाई अन्योलमा पारेर ख्रीष्‍टको सुसमाचारलाई भ्रष्‍ट पार्न खोज्दैछन्।

[8] तर हामीले तिमीहरूलाई प्रचार गरिसकेको सुसमाचार भन्दा फरक अर्को कुनै सुसमाचार हामीले अथवा कुनै स्वर्गका स्वर्गदूतले नै प्रचार गर्छ भने पनि तिनीहरू श्रापित होऊन्!

[9] हामीले अघि नै भनिसकेका छौं, फेरि पनि म भन्दछु; यदि कसैले तिमीहरूले ग्रहण गरिसकेको सुसमाचार भन्दा अर्को सुसमाचार तिमीहरूलाई सुनाउँछ भने त्यो श्रापित होस्!

[10] के म अहिले मानिसहरूको वा परमेश्‍वरको निगाह खोजिरहेछु? अथवा के मैले मानिसहरूलाई खुशी पार्ने प्रयास गरिरहेछु? यदि अझसम्म मैले मानिसहरूलाई नै खुशी पार्ने प्रयास गरिरहेको भए म ख्रीष्‍टको सेवक हुने नै थिइनँ।

[11] मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरूहो, म तिमीहरूले यो जानेको चाहन्छु, कि मैले प्रचार गरेको सुसमाचार मानव निर्मित होइन।

[12] मैले कुनै मानिसबाट पाएको होइन, न ता कसैले मलाई सिकाएको हो, तर मैले सीधै येशू ख्रीष्‍टको प्रकाशबाट पाएको हुँ।

[13] किनकि यहूदी धर्ममा हुँदाको मेरो विगतको जीवन तिमीहरूले सुनेका छौ। मैले कति भयानकरूपमा परमेश्‍वरको मण्डलीलाई सताएँ र नष्‍ट पार्न खोजेको थिएँ।

[14] मेरा समकालीन दौंतरीहरू धेरैलाई उछिनेर यहूदी धर्ममा म बढिरहेको थिएँ र मेरा पितापुर्खाका परम्पराहरूको निम्ति ज्यादै जोशिलो थिएँ।

[15] तर जब मलाई मेरी आमाको गर्भदेखि नै अलग गर्नुहुने परमेश्‍वरले उहाँको अनुग्रहद्वारा मलाई बोलाउनुभयो,

[16] उहाँले आफ्नो पुत्र ममा प्रकट गराउन खुशी मान्‍नुभयो, ताकि मैले गैरयहूदीहरूको बीचमा उहाँलाई प्रचार गर्न सकूँ। तब मैले कुनै मानिससँग केही सल्‍लाह लिइनँ,

[17] न ता मभन्दा अघिका प्रेरितहरूसँग सल्‍लाह लिन यरूशलेम गएँ, तर म अरब देशमा गएँ, र त्यसपछि म दमस्कस फर्केर आएँ।

[18] अनि तीन वर्षपछि म पत्रुससँग चिनजान गर्नलाई यरूशलेम गएँ र उनीसँग पन्ध्र दिनसम्म बसें।

[19] मैले प्रभुको भाइ याकोबलाई बाहेक अरू कुनै पनि प्रेरितहरूलाई देखिनँ।

[20] परमेश्‍वरको अघि म तिमीहरूलाई विश्‍वास दिलाउन चाहन्छु, कि मैले जे लेखिरहेको छु, यो कुनै झूट होइन।

[21] त्यसपछि म सिरिया र किलिकियाका प्रान्तहरूमा गएँ।

[22] ख्रीष्‍टमा भएका यहूदियाका मण्डलीहरूले मलाई त्यति बेलासम्म व्यक्‍तिगत रूपमा चिनेका थिएनन्।

[23] उनीहरूले केवल यस्तो प्रतिवेदन मात्र सुनेका थिए: “हामीलाई पहिले खेदो गर्ने मानिसले अहिले एक समयमा उसैले नष्‍ट गर्न खोजेको विश्‍वासलाई प्रचार गरिरहेको छ।”

[24] अनि तिनीहरूले मेरो कारण परमेश्‍वरलाई प्रशंसा दिए।

गलाती — Chapters