Skip to content
Opens in a new window
Listen to this chapter • 5:19

[1] चौध वर्षपछि बारनाबाससँग म फेरि यरूशलेम गएँ, र यसपल्ट मैले तीतसलाई पनि सँगै लगें।

[2] परमेश्‍वरको प्रकाश पाएअनुसार म त्यहाँ गएँ, र मैले एकान्तमा मण्डलीका प्रतिष्‍ठित अगुवाहरूलाई भेट गरी गैरयहूदीहरूलाई सुनाएको सुसमाचार तिनीहरूका अघि प्रस्तुत गरें। मैले जो दौड दौडेको थिएँ र दौडिरहेको छु, त्यो व्यर्थमा नहोस् भनेर म निश्‍चित हुन चाहन्थें।

[3] तर तीतस जो मसँग थिए, ग्रीक भए तापनि कसैले उनलाई खतनाको लागि कर गरेनन्।

[4] खतनाको बारेमा कुरो उठेको थियो, किनकि कति झूटा विश्‍वासी भाइहरू हाम्रो समूहभित्र पसेर, ख्रीष्‍ट येशूमा भएको हाम्रो स्वतन्त्रतालाई जासुसी गरी हामीलाई यहूदी परम्पराको सेवकहरू बनाउन चाहन्थे।

[5] तिनीहरूका अघि हामी एकैक्षण पनि झुकेनौं, ताकि तिमीहरूका लागि सुसमाचारको सत्यता सुरक्षित रहोस्।

[6] तर ती मण्डलीका प्रतिष्‍ठित अगुवाहरूले मेरो सन्देशमा केही कुरा थपेनन्। तिनीहरू जो भए तापनि मलाई केही फरक पर्दैन; किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न।

[7] तर यसको विपरीत, तिनीहरूले बुझे कि, जसरी यहूदीहरूलाई सुसमाचार सुनाउने अभिभारा पत्रुसलाई दिइएको थियो, त्यसरी नै गैरयहूदीहरूलाई सुसमाचार सुनाउने अभिभारा मलाई दिइएको छ।

[8] किनकि परमेश्‍वरले यहूदीहरूका निम्ति प्रेरितको रूपमा पत्रुससँग जसरी काम गरिरहनुभएको थियो, त्यसरी नै गैरयहूदीहरूको प्रेरितको रूपमा ममा पनि काम गर्नुभयो।

[9] मण्डलीका खम्बाहरू कहलिएका याकोब, पत्रुस र यूहन्‍नाले मलाई दिइएको अनुग्रहबारे थाहा पाएपछि बारनाबासलाई र मलाई सङ्गतिको दाहिने हात दिए। उनीहरूले हामीलाई गैरयहूदीहरूकहाँ जानदिए, र उनीहरूचाहिँ यहूदीहरूकहाँ जाने निश्‍चय गरे।

[10] तिनीहरूले मलाई यति भनेका थिए कि, हामीले गरिबहरूलाई हेर्नुपर्दछ, जुन कुरो गर्न म पहिलेदेखि नै अति उत्सुक थिएँ।

[11] जब पत्रुस एन्टिओखियामा आए, तब मैले खुल्‍लमखुल्‍ला उनको विरोध गरें, किनकि उनी एकदमै दोषी थिए।

[12] याकोबले पठाएका मानिसहरू आइपुग्नुअघि उनी गैरयहूदी विश्‍वासीहरूसँगै खाने गर्दथे। तर जब उनीहरू आइपुगे, तब उनी गैरयहूदी विश्‍वासीहरूबाट अलग भए, किनकि तिनी खतना भएकाहरूसँग डराएका थिए।

[13] उनको यस पाखण्डीपनासँग अरू यहूदीहरू पनि सहमत भए, यहाँसम्म कि तिनीहरूका पाखण्डीपनाले गर्दा बारनाबास पनि भड्केर गए।

[14] जब मैले तिनीहरूलाई सुसमाचारको सत्यताअनुसार व्यवहार नगरेको देखें, मैले पत्रुसलाई सबैको सामु खुल्‍लमखुल्‍ला भनें, “तपाईं यहूदी हुनुहुन्छ, तापनि तपाईं यहूदी रीतिअनुसार नचलेर गैरयहूदी रीतिअनुसार जिउनुहुन्छ। तब कसरी तपाईंले गैरयहूदीहरूलाई यहूदी परम्परालाई पछ्याउन कर लगाउनुहुन्छ?”

[15] “हामी जन्मैले यहूदी हौं, र गैरयहूदीझैं पापीहरू होइनौं।”

[16] हामी यो जान्दछौं कि, मानिस व्यवस्थाको कामलाई पालन गरेर मात्र धर्मी ठहरिँदैन, तर येशू ख्रीष्‍टमा विश्‍वास गरेर मात्र धर्मी ठहरिन्छ। यसकारण हामीले पनि ख्रीष्‍ट येशूमा विश्‍वास राखेका छौं। जसद्वारा हामी व्यवस्थाको पालन गरेर होइन, तर येशू ख्रीष्‍टमा विश्‍वास गरेर धर्मी ठहरिएकाछौं, किनकि व्यवस्थाका कामहरू पालन गरेर कोही पनि धर्मी ठहरिन सक्दैन।

[17] “तर यदि हामी यहूदीहरू ख्रीष्‍टद्वारा धर्मी ठहरिन खोज्दछौं भने हामीहरू पनि पापीहरू नै हौं भन्‍ने बुझिन्छ”, के यसको मतलब येशू ख्रीष्‍टले पापलाई प्रोत्साहन दिनुहुन्छ त? कदापि होइन!

[18] यदि मैले जे भत्काएको छु, मैले त्यो फेरि बनाएँ भने म आफै व्यवस्था भङ्ग गर्ने पापी हुन्छु।

[19] “किनकि व्यवस्थाद्वारा म व्यवस्थाको निम्ति मर्दछु, जसद्वारा म परमेश्‍वरको निम्ति जिउन सकूँ।

[20] म ख्रीष्‍टसँगै क्रूसमा टाँगिएको छु, र अब उप्रान्त जिउने म होइन, तर ख्रीष्‍ट ममा जिउनुहुन्छ। अहिले म शरीरमा जुन जीवन जिउँछु, त्यो म परमेश्‍वरको पुत्रमा राखेको विश्‍वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, अनि आफूलाई मेरो निम्ति अर्पण गर्नुभयो।

[21] म परमेश्‍वरको अनुग्रहलाई व्यर्थ तुल्याउन चाहन्‍नँ, किनकि यदि व्यवस्थाद्वारा धार्मिकता हासिल गर्न सक्ने भए, ख्रीष्‍ट मर्नुभएको व्यर्थ हुन्छ।”

गलाती — Chapters