Skip to content
Opens in a new window
Listen to this chapter • 6:05

[1] म तिमीहरूलाई के भनिरहेको छु भने, जबसम्म उत्तराधिकारी नाबालक रहन्छ, ऊ सबै थोकको मालिक भए तापनि ऊ कुनै सेवकभन्दा फरक हुँदैन।

[2] तर उसको बुबाले तोकेको समयसम्म ऊ अभिभावक र संरक्षकको अधीनतामा रहन्छ।

[3] त्यसै गरी हामीहरू पनि जब नाबालकै थियौं, हामी संसारका आधारभूत सिद्धान्तहरूको दासत्वमा थियौं।

[4] तर जब तोकिएको पूर्ण समय आयो, परमेश्‍वरले आफ्ना पुत्रलाई पठाउनुभयो, जो स्त्रीबाट जन्मनुभयो र व्यवस्थाको अधीनतामा जन्मनुभयो।

[5] व्यवस्थाका अधीनतामा हुनेहरूलाई मोल तिरेर छुटाउन, अनि हामीलाई पुत्रको रूपमा ग्रहण गर्नलाई उहाँ पठाइनुभयो।

[6] किनकि तिमीहरू उहाँका पुत्रहरू हौ, परमेश्‍वरले आफ्नो पुत्रको आत्मा हाम्रो हृदयमा पठाउनुभयो। त्यही आत्माले उहाँलाई, “अब्बा, पिता” भनी बोलाउनुहुन्छ।

[7] यसकारण अब उप्रान्त तिमी सेवक होइनौ, तर परमेश्‍वरका पुत्र हौ; अनि तिमी उहाँको पुत्र हौ भने ता परमेश्‍वरले तिमीलाई उत्तराधिकारी पनि बनाउनुभएको हो।

[8] जब अघि तिमीहरूले परमेश्‍वरलाई चिन्दैनथ्यौ, तिमीहरू ती कुराहरूका सेवक थियौ, जो वास्तवमा देवताहरू नै होइनन्।

[9] तर अहिले तिमीहरूले परमेश्‍वरलाई चिन्दछौ, अथवा परमेश्‍वरले तिमीहरूलाई चिन्‍नुहुन्छ, तब किन तिमीहरू फेरि फर्केर ती व्यर्थ र आधारभूत सिद्धान्तहरूतर्फ लाग्दछौ? के तिमीहरू फेरि पनि ती सबै कुराहरूको सेवक हुन चाहन्छौ?

[10] तिमीहरूले विशेष दिनहरू, महिनाहरू, ऋतुहरू र वर्षहरू मान्दछौ!

[11] मैले तिमीहरूको निम्ति गरेको परिश्रम व्यर्थ भयो कि भनी डर लागिरहेको छ।

[12] दाजुभाइ-दिदीबहिनीहरूहो, म तिमीहरूसँग विन्ती गर्दछु, कि तिमीहरू मजस्तै होओ, जसरी म तिमीहरूजस्तै भएँ। तिमीहरूले मलाई केही हानि गरेका छैनौ।

[13] तिमीहरू जान्दछौ कि, पहिला बिरामी अवस्थामा मैले तिमीहरूलाई सुसमाचार सुनाएको थिएँ।

[14] यद्यपि मेरो बिरामी अवस्था तिमीहरूको निम्ति एउटा परीक्षा थियो, तापनि तिमीहरूले मलाई न बेवास्ता, न ता तिरस्कार नै गर्‍यौ; तर तिमीहरूले मलाई परमेश्‍वरको दूतलाई झैं अथवा ख्रीष्‍ट येशूलाई झैं स्वागत गर्‍यौं।

[15] मसँगको तिमीहरूको त्यो आनन्द अहिले कता गयो? म गवाही दिन सक्छु, कि यदि सम्भव भएको भए, तिमीहरूका आँखासमेत झिकेर मलाई दिनेथियौ।

[16] मैले तिमीहरूसँग सत्य बोलेर के म अब तिमीहरूको शत्रु भएँ?

[17] ती यहूदी अगुवाहरू डाहको कारण तिमीहरूको मन जित्न खोजिरहेका छन्, तर असल विचारले त होइन। तिनीहरूले तिमीहरूलाई हामीबाट अलग पार्न मात्र चाहन्छन्, ताकि तिमीहरू उनीहरूको निम्ति जोशिलो हुन सक।

[18] असल उद्देश्यसहित र सधैं जोशिलो हुनु राम्रो हो; तर म तिमीहरूसँग हुँदा मात्र होइन, तर सधैंभरि त्यस्तै होस्।

[19] हे मेरा प्रिय बालबालिकाहरूहो, जबसम्म तिमीहरू ख्रीष्‍ट जस्तै बनिदैनौ, म फेरि प्रसव वेदनामा परेकी स्त्रीझैं हुन्छु।

[20] अहिले म तिमीहरूसँग कसरी रहूँ, र मेरो बोल्ने तरिका कसरी बदलौं, किनकि म तिमीहरूका विषयमा व्याकुल छु।

[21] मलाई भन, तिमीहरूको व्यवस्थाको अधीनतामा रहन चाहन्छौ, के तिमीहरूलाई थाहा छैन व्यवस्थाले के भन्छ?

[22] धर्मशास्त्रमा यसरी लेखिएको छ कि, अब्राहामका दुई छोराहरू थिए, एउटा सेविका स्त्रीबाट जन्मेको, अनि अर्को स्वतन्त्र स्त्रीबाट जन्मेको।

[23] सेविकाबाट जन्मेको उसको छोरो मानवीय इच्छाअनुसार जन्मेको थियो, तर स्वतन्त्र स्त्रीबाट जन्मेको चाहिँ ईश्‍वरीय प्रतिज्ञाको प्रतिफल थियो।

[24] यो कुराहरूलाई काल्पनिक रूपमा लिइएको छ: दुई स्त्रीहरूले दुईओटा करारलाई प्रतिनिधित्व गर्दछन्। एउटा करारचाहिँ सीनै पर्वतबाट हो, र यसले दासत्वको निम्ति जन्मिएका सन्तानलाई प्रतिनिधित्व गर्दछ, यो हागार हो।

[25] अहिले हागारचाहिँ अरब देशमा भएको सीनै पर्वत हो, र वर्तमान यरूशलेमसँग त्यसको तुलना गर्न सकिन्छ, किनकि त्यो आफ्ना सन्तानका साथ दासत्वमा छे।

[26] तर सारा स्वर्गीय यरूशलेमकी प्रतीक हुन्, जो स्वतन्त्र छिन्, उनी हाम्री आमा हुन्।

[27] किनकि धर्मशास्त्रमा लेखिएको छ: “हे बाँझी स्त्री, आनन्द गर, तिमी जसले कहिल्यै बच्‍चा जन्माएकी छैनौ; आनन्दसाथ र चर्को सोरमा कराऊ; हे प्रसव वेदना कहिल्यै थाहा नपाउने तिमी; किनकि पति हुने स्त्रीको भन्दा त्यागिएकी स्त्रीकै सन्तानहरू धेरै छन्।”

[28] अब हे दाजुभाइ-दिदीबहिनीहरूहो, हामी पनि इसहाकजस्तै प्रतिज्ञाका सन्तानहरू हौ।

[29] त्यस समय मानवीय इच्छाअनुसार जन्मेको पुत्रले प्रतिज्ञाको प्रतिफलद्वारा जन्मेको पुत्रलाई जसरी खेदो गर्दथ्यो, अहिले पनि त्यस्तै छ।

[30] तर धर्मशास्त्रले के भन्छ? “त्यस सेविका स्त्री र त्यसको छोरालाई हटाओ, किनकि सेविकाको छोरा कहिल्यै पनि स्वतन्त्र स्त्रीको छोरासँग उत्तराधिकारी हुन सक्दैन।”

[31] यसकारण प्रिय दाजुभाइ-दिदीबहिनीहरूहो, हामी सेविका स्त्रीका सन्तानहरू होइनौ, तर स्वतन्त्र स्त्रीका सन्तानहरू हौं।

गलाती — Chapters