[1] अब दाजुभाइ-दिदीबहिनीहरूहो, दिन र समयको विषयमा हामीले तिमीहरूलाई लेख्नुपर्ने आवश्यकता छैन।
[2] किनकि प्रभुको दिन रातमा चोर आएझैं आउनेछ भन्ने कुरा तिमीहरूलाई राम्रोसँग थाहा छ।
[3] जब मानिसहरूले “शान्ति र सुरक्षा” भनिरहेका हुनेछन्, तब गर्भवती स्त्रीलाई व्यथा लागेझैं, अचानक तिनीहरूमाथि विनाश आइपर्नेछ, र तिनीहरू उम्कन सक्नेछैनन्।
[4] तर हे दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरू अन्धकारमा छैनौ, कि यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पारोस्।
[5] तिमीहरू त ज्योतिका सन्तान र दिनका सन्तानहरू हौ। हामी रातका अथवा अन्धकारका होइनौं।
[6] यसकारण हामी अरूजस्ता नहौं, जो सुतेका छन्, तर सचेत र आत्मा संयम बनौं।
[7] किनकि सुत्नेहरू राती सुत्छन्, र मद्य पिउनेहरू पनि राती नै पिउँछन्।
[8] तर हामीचाहिँ दिनका भएकाले आत्मा संयम बनौं, विश्वास र प्रेमलाई छाती-पाताझैं, अनि मुक्तिको आशाको टोपझैं पहिरौं।
[9] किनकि परमेश्वरले हामीलाई उहाँको क्रोध सहनलाई होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति प्राप्त गर्नलाई नियुक्त गर्नुभएको हो।
[10] उहाँ हाम्रो निम्ति मर्नुभयो, ताकि हामी जागौं वा सुतौं, हामी उहाँसितै जिउन सकौं।
[11] यसकारण एक-अर्कालाई उत्साह देओ र एकले अर्कोलाई निर्माण गर्दै जाओ, जसरी तिमीहरूले गरिरहेका पनि छौ।
[12] अब दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरूमध्ये कठोर परिश्रम गर्नेहरू, प्रभुमा तिमीहरूलाई अगुवाइ गर्नेहरू र तिमीहरूलाई उत्साह दिनेहरूलाई आदर गर।
[13] अनि तिनीहरूका कामको निम्ति तिनीहरूलाई प्रेमसाथ अति उच्च आदर देओ। तिमीहरू एक-आपससँग मेलमिलापमा बस।
[14] दाजुभाइ-दिदीबहिनीहरूहो, हामी तिमीहरूलाई आग्रह गर्दछौं, कि अल्छेहरूलाई चेतावनी देओ, डराएकाहरूलाई उत्साह देओ, कमजोरहरूलाई सहायता गर, र सबैसँग सहनशील होओ।
[15] यस विषयमा ध्यान देओ, कि कसैले पनि खराबीको बदला खराबी नगरोस्, तर एक-आपसमा साथै अरू सबैसँग सधैं भलाइ गर्ने प्रयास गर।
[16] सधैं आनन्दित रहो।
[17] निरन्तर प्रार्थना गरिरहो।
[18] हरेक परिस्थितिमा धन्यवाद देओ; किनकि ख्रीष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो।
[19] पवित्र आत्मालाई ननिभाओ।
[20] अगमवाणीलाई तुच्छ नठान।
[21] हरेक कुरालाई जाँच गर; जे कुरा असल छ त्यसलाई पक्रिराख।
[22] हरेक किसिमका दुष्टतालाई इन्कार गर।
[23] तिमीहरूलाई शान्तिका परमेश्वर आफैले, सम्पूर्ण रूपले शुद्ध बनाऊन्। हाम्रा प्रभु येशू ख्रीष्टको दोस्रो आगमनसम्म तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर निष्कलङ्क राखून्।
[24] तिमीहरूलाई बोलाउनुहुने परमेश्वर विश्वासयोग्य हुनुहुन्छ र उहाँले नै यो गर्नुहुनेछ।
[25] दाजुभाइ-दिदीबहिनीहरूहो, हाम्रा निम्ति प्रार्थना गरिदेओ।
[26] परमेश्वरका सबै जनहरूलाई ख्रीष्टिय प्रेमसाथ अभिवादन गर।
[27] यो पत्र सबै दाजुभाइ-दिदीबहिनीहरूलाई पढेर सुनाइदेओ भनी प्रभुको नाउँमा म तिमीहरूलाई आग्रह गर्दछु।
[28] हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस्।