Skip to content
Opens in a new window
Listen to this chapter • 2:53

[1] पावल, सिलास र तिमोथीबाट, हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूका मण्डलीलाई:

[2] परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति।

[3] हे दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरूको विश्‍वास लगातार बढ्दै गएको र तिमीहरूको एक-आपसको प्रेम बढ्दै गएको कारण तिमीहरूको लागि हामीले परमेश्‍वरलाई सधैं धन्यवाद दिनैपर्छ।

[4] यसकारण तिमीहरूका सबै सतावट र तिमीहरूले सहिरहेका परीक्षाहरूका बीचमा तिमीहरूका धैर्य धारण र विश्‍वासको निम्ति परमेश्‍वरका मण्डलीहरूका माझमा हामी गर्व गर्दछौं।

[5] जुनचाहिँ परमेश्‍वरको राज्यको निम्ति तिमीहरूले कष्‍ट भोगिरहेका छौ; तिमीहरू त्यसको निम्ति योग्य ठहराइनेछौ। परमेश्‍वरको न्याय सही छ भन्‍ने प्रमाण यही नै हो।

[6] परमेश्‍वर न्यायी हुनुहुन्छ। तिमीहरूलाई दुःख दिनेहरूलाई उहाँले दुःख दिनुहुन्छ।

[7] अनि तिमी दुःख पाइरहेकाहरूलाई र हामीलाई पनि त्यसबाट छुटकारा दिनुहुनेछ। योचाहिँ तब हुनेछ, जब प्रभु येशू आफ्ना शक्‍तिशाली स्वर्गदूतहरूसित दन्किरहेको आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ।

[8] उहाँले परमेश्‍वरलाई नचिन्‍नेहरू र हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूलाई सजाय दिनुहुनेछ।

[9] तिनीहरूका सजाय अनन्तको विनाश हुनेछ; अनि तिनीहरू प्रभुको उपस्थिति र उहाँको शक्‍तिको महिमाबाट अलग गरिनेछन्।

[10] यो त्यस दिन हुनेछ, जब उहाँ आफ्ना पवित्र जनहरूका बीचमा महिमित हुन र उहाँमाथि विश्‍वास गरेका सबैलाई चकित पार्न आउनुहुनेछ। यसमा तिमीहरू पनि सामेल छौ; किनकि तिमीहरूमध्येमा हाम्रा गवाहीलाई विश्‍वास गरियो।

[11] यसलाई मनमा राखेर हामी निरन्तर तिमीहरूको लागि प्रार्थना गर्दर्छौं, कि हाम्रा परमेश्‍वरले तिमीहरूलाई उहाँको बोलावटको योग्य बनाऊन्; अनि आफ्नो शक्‍तिद्वारा तिमीहरूका असल कामको हरेक चाहनालाई र विश्‍वासद्वारा गरिएका हरेक कामलाई पूरा गरून्।

[12] हामी प्रार्थना गर्दर्छौं, ताकि हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रहअनुसार तिमीहरूमा हाम्रा प्रभु येशूको नाउँ महिमित होस्, र तिमीहरूले पनि उहाँमा तिमीहरूको महिमा होस्।

2 थेसलोनिकी — Chapters