[1] यसकारण जब हामी यो सहन नसक्ने भयौं, हामीले एथेन्समै बस्ने निर्णय गर्यौं।
[2] हामीले तिमोथीलाई पठायौं, जो हाम्रा भाइ अथवा परमेश्वरको सेवामा ख्रीष्टको सुसमाचार प्रचार गर्न हाम्रा सहकर्मी हुन्। तिनलाई तिमीहरूका विश्वास बलियो बनाउन र उत्साह दिनलाई पठायौं,
[3] ताकि यी कष्टहरूद्वारा तिमीहरू कोही पनि नडगमगाओस्। तिमीहरूलाई राम्रोसँग थाहा नै छ, यसैको निम्ति हामी खटाइएका हौं।
[4] वास्तवमा तिमीहरूसँग हुँदा हामी खेदोमा पर्नेछौं भनेर हामीले तिमीहरूलाई भनिरह्यौं। अनि हामीले जे भनेका थियौं, त्यही नै भयो भन्ने कुरा तिमीहरूलाई राम्ररी थाहा छ।
[5] यसकारण तिम्रो बारेमा जानकारी नपाउँदा मैले सहन सकिनँ; तिमीहरूलाई परीक्षा गर्नेले कुनै रूपले परीक्षामा नपारोस् र हाम्रा परिश्रमहरू व्यर्थै नहोस् भन्ने डरले तिमीहरूको विश्वासको वास्तविक अवस्था बुझ्नलाई मैले तिमोथीलाई पठाएको थिएँ।
[6] तर तिमोथी तिमीहरूलाई भेटेर भर्खरै हामीकहाँ आइपुगेका छन्। तिमीहरूको विश्वास र प्रेमको विषयमा असल खबर ल्याएका छन्। तिमीहरूले सधैं हाम्रो मिठो सम्झना गर्दछौ र जसरी हामीले तिमीहरूसँग भेट्ने उत्कट इच्छा राखेका छौं; त्यसरी नै तिमीहरूले पनि हामीसँग भेट्न उत्कट इच्छा राखेका छौ भन्ने खबर तिनले दिएका छन्।
[7] यसकारण दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरूको विश्वासको कारणले हाम्रा सारा पीडा र खेदोहरूमा पनि हामीले तिमीहरूका विषयमा उत्साह पाएका छौं।
[8] तिमीहरू प्रभुमा स्थिर रहेका खबरले हामीलाई जीवन दिँदछ।
[9] तिमीहरूका कारण हाम्रा प्रभुको उपस्थितिमा हाम्रा सबै आनन्दहरूको सट्टामा तिमीहरूको निम्ति हामी परमेश्वरलाई कसरी पर्याप्त रूपमा धन्यवाद चढाउन सक्छौं र?
[10] हामीले तिमीहरूलाई फेरि भेट्न सकौं र तिमीहरूका विश्वासमा कमी भएको कुरा पूरा गर्न सकौं भनेर हामीले उत्सुक्ताका साथ रातदिन प्रार्थना गरिरहेका छौं।
[11] हाम्रा परमेश्वर र पिता स्वयम् तथा हाम्रा प्रभु येशूले हामीलाई तिमीहरूकहाँ आउने बाटो खोलिदिऊन्।
[12] जसरी हामी तिमीहरूलाई प्रेम गर्दछौं, त्यसरी नै प्रभुले तिमीहरूलाई एक-अर्कामा र अरू सबैसँग प्रेममा बढाइदिऊन् र प्रशस्त पारून्।
[13] हाम्रा प्रभु येशू आफ्ना पवित्र जनहरूको साथमा आउनुहुँदा, हाम्रा परमेश्वरको पिता उपस्थितिमा निष्खोट र पवित्र हुनालाई उहाँले तिमीहरूका हृदय साहसिलो बनाऊन्।