[1] दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरूसँगको हाम्रो भेटघाट भएको व्यर्थ भएन भनी तिमीहरू आफै जान्दछौ।
[2] तिमीहरूलाई थाहै छ, कि हामीले फिलिप्पीमा कष्ट भोगेर नराम्रोसँग अपमानित हुनुपरेको थियो, तर परमेश्वरको सहायताले घोर विरोध हुँदाहुदै पनि हामीले तिमीहरूलाई सुसमाचार साहससाथ प्रचार गर्यौं।
[3] किनकि हाम्रो अर्तीउपदेश छल वा अशुद्ध विचारबाट उब्जिएका होइनन्, न त हामीले तिमीहरूलाई धोका दिने कोसिस नै गरिरहेका छौं।
[4] तर परमेश्वरले सुसमाचार सुम्पिन योग्य ठहराउनुभएका मानिसहरूझैं हामी बोल्दछौं। हामी मानिसहरूलाई प्रसन्न पार्न होइन, तर हाम्रा हृदय जाँच गर्नुहुने परमेश्वरलाई प्रसन्न पार्न कोसिस गर्दछौं।
[5] तिमीहरूलाई थाहै छ, कि हामीले कहिल्यै चापलूसी गरेनौं। परमेश्वर हाम्रो साक्षी हुनुहुन्छ—हामीले तिमीहरूका रकम पाउनका लागि तिमीहरूसँग मित्रताको छल गरेका होइनौं।
[6] हामीले न त मानिसहरूबाट, न त तिमीहरू अथवा अरू कसैबाट प्रशंसा पाउने आशा गर्यौं। त्यसो त हामी ख्रीष्टका प्रेरितहरू भएको कारणले आफ्ना अधिकार प्रयोग गर्न सक्थ्यौं।
[7] तर आफ्ना साना बालबालिकाहरूको हेरचाह गर्ने आमाझैं, तिमीहरूका बीचमा हामी कोमल भयौं।
[8] यसरी हामी तिमीहरूलाई वास्ता गर्छौं; किनकि हामीले तिमीहरूलाई धेरै प्रेम गर्यौं; यसैले तिमीहरूसँग परमेश्वरको सुसमाचार मात्र होइन, तर आफ्नै जीवन समेत बाँड्न खुशी भएका थियौं।
[9] किनकि दाजुभाइ-दिदीबहिनीहरूहो, परमेश्वरको सुसमाचार तिमीहरूलाई प्रचार गरिँदा कसैलाई पनि भार नहोस् भनेर हामीले दिनरात कडा परिश्रम गर्यौं भन्ने कुरा निश्चय नै तिमीहरूलाई थाहा छ।
[10] तिमीहरू र परमेश्वर स्वयम् साक्षी हुनुहुन्छ, कि तिमी विश्वासीहरूका बीचमा हाम्रो व्यवहार पवित्र, धार्मिक र निर्दोष थियो।
[11] किनकि तिमीहरूलाई थाहा छ, तिमीहरू हरेकसँग बुबाले आफ्ना छोराछोरीहरूलाई गरेझैं हामीले तिमीहरूसँग व्यवहार गर्यौं;
[12] ताकि उत्साह, सान्त्वना र आग्रहसित तिमीहरूले परमेश्वरको योग्य चाल चलेको होस्; जसले तिमीहरूलाई उहाँको आफ्नै राज्य र महिमामा बोलाउनुहुन्छ।
[13] अनि यस कुराको निम्ति पनि हामी परमेश्वरलाई निरन्तर धन्यवाद चढाउँछौं कि, तिमीहरूले हामीबाट सुनेका परमेश्वरको वचनलाई मानिसको वचनजस्तो होइन, तर परमेश्वरकै वचनको रूपमा स्वीकार गर्यौ; जुनचाहिँ वास्तवमा नै परमेश्वरको वचन हो, अनि जुन वचनले तिमी विश्वास गर्नेहरूमा काम पनि गरिरहेको छ।
[14] किनकि दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरू ख्रीष्ट येशूमा यहूदियामा भएका परमेश्वरका मण्डलीहरूका अनुकरण गर्नेहरू भयौ; तिमीहरूले आफ्नै मानिसहरूबाट जे कष्ट भोग्यौ, त्यही ती मण्डलीहरूले यहूदीहरूबाट कष्ट भोगे।
[15] ती यहूदीहरूले नै प्रभु येशूलाई र अगमवक्ताहरूलाई मारे, अनि हामीलाई पनि लखेटे। तिनीहरूले परमेश्वरलाई अप्रसन्न तुल्याउँछन्, र सबै मानिसहरूका विरोधी हुन्।
[16] गैरयहूदीहरूको उद्धार नहोस् भनेर तिनीहरूले हामीलाई अरू जातिका मानिसहरूकहाँ मुक्तिको कुरा प्रचार गर्न दिएनन्। यसरी तिनीहरूले सधैं आफ्ना पापहरूको थुप्रो लगाउँछन्। यसको परिणाम स्वरूप परमेश्वरको क्रोध तिनीहरूमाथि आइपरेको छ।
[17] तर दाजुभाइ-दिदीबहिनीहरूहो, हामी छोटो समयको लागि तिमीहरूबाट छुट्टिएका थियौ (शरीरमा, सोचाइमा होइन)। हाम्रो उत्कट इच्छाको कारण तिमीहरूलाई भेट्ने कोसिस गर्यौं।
[18] हामी तिमीहरूकहाँ आउन खोजेका थियौं। म पावल, आफैले अनेक पटक प्रयास गरें, तर शैतानले हामीलाई बाधा गर्यो।
[19] किनकि हाम्रा प्रभु येशू ख्रीष्टको पुनरागमन हुँदा उहाँको उपस्थितिमा हाम्रो आशा, हाम्रो आनन्द अथवा त्यो मुकुट जसमा हामी गौरव गर्नेछौं, के तिमीहरू नै होइनौ र?
[20] निश्चय तिमीहरू नै हाम्रा गौरव र आनन्द हौ।