[1] अन्त्यमा हे दाजुभाइ-दिदीबहिनीहरूहो, परमेश्वरलाई प्रसन्न तुल्याउनलाई तिमीहरूले कसरी जिउनुपर्छ भनी हामीले निर्देशन दियौं; जसअनुसार तिमीहरू जिइरहेका पनि छौ। अब अझ बढी त्यस्तै गर्ने गर भनी हाम्रा प्रभु येशूमा हामी तिमीहरूलाई आग्रह गर्दछौं।
[2] किनकि हामीले प्रभु येशूको अधिकारद्वारा तिमीहरूलाई जुन निर्देशन दियौं, सो तिमीहरू जान्दछौं।
[3] परमेश्वरको इच्छा यही हो, कि तिमीहरू पवित्र होओ, हरेक जन पवित्र र आदरणीय भएर आफ्नो शरीरलाई नियन्त्रणमा राख्न सिक। तिमीहरू अनैतिक यौन सम्बन्धबाट अलग बस।
[5] तिमीहरू परमेश्वरलाई नचिन्नेहरूजस्ता कामुकताको कामवासनामा नबस।
[6] यस विषयमा कसैले पनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खराबी नगरोस्, न त कुनै फाइदा उठाओस्। यस्ता पाप गर्ने सबैलाई हामीले पहिल्यै तिमीहरूलाई भनेझैं, र चेतावनी दिएझैं, प्रभुले सजाय दिनुहुनेछ।
[7] किनकि परमेश्वरले हामीलाई अशुद्धताको लागि होइन, तर पवित्र जीवन जिउनको लागि बोलाउनुभएको हो।
[8] यसकारण जसले यो निर्देशनलाई इन्कार गर्छ, त्यसले मानिसलाई होइन, तर तिमीहरूलाई पवित्र आत्मा दिनुहुने परमेश्वरलाई नै इन्कार गर्छ।
[9] अब दाजुभाइ-दिदीबहिनीहरू प्रतिको प्रेमको विषयमा हामीले तिमीहरूलाई लेख्नु खाँचो छैन, किनकि एक-आपसमा प्रेम गर्नुपर्छ भनी तिमीहरू आफैले परमेश्वरबाट सिकेका छौ।
[10] वास्तवमै तिमीहरू म्यासिडोनियाभरि भएका परमेश्वरका जनहरूलाई प्रेम गर्दछौ; तापनि दाजुभाइ-दिदीबहिनीहरूहो, त्यो प्रेममा अझ बढ्दै जाओ भनी हामी तिमीहरूलाई आग्रह गर्दर्छौं।
[11] तिमीहरूले शान्तिपूर्ण जीवन जिउने लक्ष्य बनाओ। हामीले तिमीहरूलाई आदेश दिएझैं, आफ्नै कामधन्धामा मन लगाउने र आफ्नै हातले काम गर्ने गर,
[12] ताकि तिमीहरूको दैनिक जीवनको कारण तिमीहरूले बाहिरका मानिसहरूबाट आदर पाउन सक, र तिमीहरू कसैमाथि आफ्ना आवश्यकताका लागि निर्भर हुन नपरोस्।
[13] हे दाजुभाइ-दिदीबहिनीहरूहो, मरेका विश्वासीहरूका विषयमा तिमीहरू अजान बस भन्ने हामी चाहँदैनौं, किनकि अरू आशा नभएका मनिसहरूझैं शोक गर भन्न पनि चाहँदैनौं।
[14] किनकि हामी विश्वास गर्दछौं, कि येशू मर्नुभयो र फेरि जीवित हुनुभयो। त्यसरी नै परमेश्वरले उहाँमा मरेकाहरूलाई पनि येशूद्वारा जीवित पार्नुहुनेछ।
[15] प्रभुको वचनअनुसार हामी तिमीहरूलाई भन्दछौं कि, हामी जो अझ जीवित छौं, अनि प्रभुको आगमनसम्म बाँचिरहन्छौं, हामीले ती मरेकाहरूलाई कुनै रीतिले पनि उछिन्नेछैनौं।
[16] किनकि प्रभु स्वयम् चर्को आज्ञा, प्रधान स्वर्गदूत र परमेश्वरको तुरहीको स्वरसँगै स्वर्गबाट तल ओर्लि आउनुहुनेछ, अनि ख्रीष्टमा मरेकाहरू पहिले जीवित हुनेछन्।
[17] त्यसपछि हामी जो जीवित र बाँकी रहेकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूसित एकसाथ बादलमा उठाइलगिनेछौं। यसरी हामी प्रभुसँग सदा-सर्वदा रहनेछौं।
[18] यसकारण एक-अर्कालाई यी वचनहरूले उत्साह देओ।