[1] तिमीहरूमध्येका मण्डलीका प्रधानलाई, म पनि एक प्रधानको रूपमा, जो ख्रीष्टको दुःखको साक्षी र जो प्रकट हुन लागेको महिमामा सहभागी हुनेछ, तिमीहरूलाई अनुरोध गर्दछु:
[2] तिमीहरूको हेरचाहमा भएका परमेश्वरका भेडाहरूको रखवालाको रूपमा गोठालो होओ। तिमीहरूले गर्नैपर्छ भनेर होइन, तर परमेश्वरले चाहनुभएझैं तिमीहरूको इच्छाले; पैसाको लोभले होइन, तर तिमीहरूको उत्कट इच्छाले सेवा गर।
[3] तिमीहरूको जिम्मामा रहेकाहरूमाथि प्रभुत्व जमाएर होइन, तर बगालको निम्ति नमुनाहरू भएर गर!
[4] अनि जब प्रधान गोठालो देखा पर्नुहुनेछ, तिमीहरूले कहिल्यै नओइलाउने महिमाको मुकुट पाउनेछौ।
[5] हे जवानहरूहो, यसरी नै उमेरमा मण्डलीका प्रधानहरूको अधीनतामा बस! नम्रताको वस्त्र लगाएर एक-अर्काको सेवा गर, किनकि, “परमेश्वरले घमण्डीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।”
[6] यसकारण परमेश्वरको शक्तिशाली हातमुनि आफूलाई नम्र बनाओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ।
[7] तिमीहरूका सबै चिन्ता उहाँमाथि राख, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।
[8] संयमी र चनाखो होओ। तिमीहरूको शत्रु शैतान कसलाई भेट्टाऊँ र खाइहालूँ भनी गर्जने सिंहझैं यताउति घुमिहिँड्छ।
[9] विश्वासमा स्थिर भएर त्यसको प्रतिरोध गर, किनकि तिमीहरू जान्दछौ संसारभरि नै तिमीहरूका दाजुभाइहरूले त्यस्तै किसिमको कष्ट भोगिरहेका छन्।
[10] सबै अनुग्रहका परमेश्वर, जसले तिमीहरूलाई ख्रीष्टमा आफ्नो अनन्त महिमामा बोलाउनुभएको छ, तिमीहरूले केही समयसम्म कष्ट भोगेपछि, उहाँले नै तिमीहरूलाई पुनर्स्थापन गर्नुहुनेछ र तिमीहरूलाई बलिया, स्थिर र शक्तिशाली बनाउनुहुनेछ।
[11] उहाँलाई नै पराक्रम सदा-सर्वदा भइरहोस्! आमेन!
[12] सिलासको सहायताले, जसलाई म एक विश्वासयोग्य भाइ ठान्दछु, मैले तिमीहरूलाई उत्साह दिँदै र यही नै परमेश्वरको सत्य अनुग्रह भनी छोटकरीमा लेखेको छु। यसमा अटल रहो।
[13] तिमीहरूसँगै छानिएकी बेबिलोनमा तिमीहरूकी बहिनीले तिमीहरूलाई अभिवादन पठाएकी छिन्, साथै मेरा छोरा मर्कूसले पनि।
[14] एक-अर्कालाई ख्रीष्टिय प्रेमले अभिवादन गर। ख्रीष्टमा भएका तिमीहरू सबैलाई शान्ति!