[1] येशू ख्रीष्टको सेवक र प्रेरित सिमोन पत्रुसबाट, तिनीहरूलाई जसले हाम्रा परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको धार्मिकताद्वारा हाम्रो जस्तै बहुमूल्य विश्वास पाएका छन्:
[2] परमेश्वर र येशू हाम्रा प्रभुको ज्ञानद्वारा तिमीहरूलाई अनुग्रह र शान्ति प्रशस्त मात्रामा होऊन्!
[3] उहाँको ईश्वरीय शक्तिले उहाँ सम्बन्धी हाम्रो ज्ञान, जसले आफ्नै महिमा र भलाइमा हामीलाई बोलाउनुभएको छ; हामीलाई हाम्रा जीवन र धार्मिकताका निम्ति चाहिने सबै आवश्यकता दिनुभएको छ।
[4] जसद्वारा उहाँले हामीलाई आफ्ना महान् र बहुमूल्य प्रतिज्ञाहरू दिनुभएको छ, यसरी ती प्रतिज्ञाहरूद्वारा तिमीहरू ईश्वरीय स्वभावमा सहभागी बन, र दुष्ट इच्छाहरूले ल्याउने संसारको भ्रष्टचारदेखि भाग्नसक्छौ।
[5] यसैको निम्ति नै आफ्नो विश्वासमा सद्गुण, र सद्गुणमा ज्ञान,
[6] ज्ञानमा आत्मसंयम, आत्मसंयममा धैर्य, धैर्यमा भक्ति,
[7] भक्तिमा भातृ-स्नेह, र भातृ-स्नेहमा प्रेम थप्नलाई अथक परिश्रम गर!
[8] किनकि यी गुणहरू तिमीहरूमा प्रशस्त मात्रामा छन् भने, हाम्रा प्रभु येशू ख्रीष्टको ज्ञानमा यी गुणहरूले तिमीहरूलाई बेकम्मा र फलरहित हुनदेखि बचाउनेछन्।
[9] तर कसैमा ती छैनन् भने, ऊ नजिकै मात्र देख्ने र दृष्टिविहीन हो, र उसका पुराना पापहरू सफा गरिएका छन् भन्ने कुरा भूलेको हुन्छ।
[10] यसकारण हे मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरू आफ्नो बोलावट र छनौटलाई निश्चित गर्न उत्सुक बन; किनकि तिमीहरूले यी कुरा गर्यौ भने तिमीहरू कहिल्यै पापमा पर्नेछैनौ,
[11] र तिमीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनन्त राज्यमा भव्य स्वागत पाउनेछौ।
[12] यसर्थ तिमीहरूले यी कुराहरू जानेर अहिले तिमीहरूसित भएको सत्यतामा स्थिरतापूर्वक स्थापित भएका भए तापनि तिमीहरूलाई यी कुराहरू सधैं स्मरण गराउनेछु।
[13] म यो शरीररूपी पालमा होउन्जेल, तिमीहरूको सम्झनालाई ताजा गरिराख्न उचित ठान्दछु;
[14] किनकि हाम्रा प्रभु येशू ख्रीष्टले मलाई स्पष्ट पार्नुभएझैं, म चाँडै नै यसलाई पन्छाउनेछु भनी जान्दछु।
[15] अनि मेरो विदापछि पनि तिमीहरूले यी कुराहरू सम्झिराख्न सक्ने तुल्याउनलाई म सकेसम्म प्रयास गर्नेछु।
[16] हाम्रा प्रभु येशू ख्रीष्टको शक्ति र आगमनको सम्बन्धमा तिमीहरूलाई बताउँदा हामीहरू कुनै धूर्त दन्त्यकथाहरूको पछि लागेनौं, तर हामी त उहाँका वैभव देख्ने साक्षीहरू थियौं।
[17] किनकि उहाँले परमेश्वर पिताबाट इज्जत र महिमा प्राप्त गर्नुभयो, जुन बेला महिमामय गौरवबाट यसो भन्ने आवाज उहाँकहाँ आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनीसित म अति प्रसन्न छु।”
[18] त्यो पवित्र डाँडामा जब हामी उहाँसित हुँदा स्वर्गबाट आएको त्यो आवाज हामी आफूले सुन्यौं।
[19] अनि हामीसित भएका अगमवक्ताका शब्दहरू अझ निश्चित भएका छन्, र दिनको उदय भएर बिहानीको तारा तिमीहरूको हृदयमा उदय नभएसम्म अन्धकार स्थानमा ज्योति चम्केझैं तिमीहरूले यस कुरामाथि ध्यान दिनु असलै हुनेछ।
[20] मुख्य कुरो, तिमीहरूले यो बुझ्नुपर्दछ कि, पवित्र धर्मशास्त्रमा भएका अगमवाणीहरू अगमवक्ताहरूका आफ्नै व्याख्याबाट आएका होइनन्;
[21] किनकि अगमवाणीको सुरु मानिसको इच्छाबाट भएको होइन, तर पवित्र आत्माले अगुवाइ गर्नुभएर मानिसहरूले परमेश्वरका तर्फबाट बोलेका हुन्।