[1] हे पत्नीहरूहो, यसरी नै तिमीहरू आफ्ना पतिहरूका अधीनमा बस, र यदि तिनीहरूमध्ये कसैले वचनमाथि विश्वास गर्दैन भने पनि, तिनीहरूका पत्नीहरूको आचरणले गर्दा वचनविना नै
[2] तिमीहरूको जीवनको शुद्धता र आदर देखेर तिनीहरूलाई जितियोस्।
[3] तिमीहरू केशका सिँगार, सुनका गहना तथा महङ्गा कपडाहरू जस्ता बाहिरी सिँगारले नहोस्।
[4] तर तिमीहरूको आन्तरिक व्यक्तित्वमा नम्र र शान्त आत्माको अविनाशी सौन्दर्य होस्, जो परमेश्वरको दृष्टिमा अति मूल्यवान् छ।
[5] किनकि परमेश्वरमाथि आशा राख्ने प्राचीन कालका पवित्र महिलाहरूले यसैगरी आफूलाई सुन्दर बनाउँथे। तिनीहरू आफ्ना पतिहरूका अधीनतामा रहन्थे,
[6] साराजस्तै, जसले अब्राहामको आज्ञा पालन गर्थिन्, र तिनलाई आफ्नो “मालिक” भन्थिन्। यदि तिमीहरू असल काम गर्छौ र डराउँदैनौ भने तिमीहरू यिनैका छोरीहरू हौ।
[7] हे पतिहरूहो, त्यसै गरी आफ्ना पत्नीहरूलाई कमजोर पात्र र तिमीसँगै जीवनका अनुग्रहका साझा उत्तराधिकारी सम्झी उनीहरूलाई आदर गर्दै बुद्धिमानीसाथ उनीहरूसँग बस, र तिमीहरूका प्रार्थना नरोकियोस्।
[8] अन्त्यमा, तिमीहरू सबै एकै मनका होओ, सहानुभूति देखाओ, आपसमा प्रेम गर, टिठालु र नम्र होओ।
[9] दुष्टताको सट्टा दुष्टता नगर, अथवा अपमानको सट्टा अपमान, तर आशीर्वाद देओ; किनकि आशिषको हकदार हुनालाई तिमीहरू यसैको निम्ति बोलाइएका हौ।
[10] किनकि पवित्र धर्मशास्त्रमा लेखिएको छ: “जसले जीवनलाई प्रेम गर्न र असल दिन देख्न चाहन्छ, तिनले आफ्ना जिब्रोलाई खराबीबाट र आफ्ना ओठहरूलाई छलका बोलीबाट बचाउनुपर्दछ।
[11] तिनले खराबीबाट फर्केर असल गर्नुपर्दछ तिनले शान्तिको खोजी गर्नुपर्दछ, र त्यसलाई पछ्याउनुपर्दछ।
[12] किनकि प्रभुका आँखा धर्मीहरूमाथि रहन्छन्; र उहाँका कानहरूले तिनीहरूका प्रार्थनातिर ध्यान दिन्छन्, तर परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ।”
[13] त्यसैले तिमीहरू असल गर्न उत्सुक हुन्छौ भने, कसले तिमीहरूलाई हानि गर्छ र?
[14] तर ठीक कुराको लागि तिमीहरूले दुःख भोग्नुपर्ने भए तापनि तिमीहरू धन्यका हौ। “तिनीहरूका धम्कीदेखि नडराओ, न त भयभीत होओ!”
[15] तर तिमीहरूका हृदयमा ख्रीष्टलाई प्रभु मानेर उहाँको श्रद्धा गर। तिमीहरूसँग भएका आशाको कारण सोध्ने हरेकलाई उत्तर दिन सधैं तयार रहो, तर यो नम्रता र इज्जतसाथ गर।
[16] तिमीहरूमा सफा विवेक होस्, यसरी ख्रीष्टमा तिमीहरूको असल व्यवहारको विरुद्ध द्वेषपूर्ण रूपले बोल्नेहरू आफूले गरेको निन्दाबाट लजाऊन्।
[17] परमेश्वरको इच्छा यस्तै छ भने खराबी गरेर दुःख भोग्नुभन्दा असल गरेर दुःख भोग्नु असल हो।
[18] किनकि अधर्मीहरूलाई परमेश्वरकहाँ ल्याउन ख्रीष्ट जो धर्मी हुनुहुन्छ, उहाँले हाम्रा पापका निम्ति दुःख भोग्नुभयो; उहाँ शरीरमा मारिनुभयो, तर आत्मामा जीवित पारिनुभयो।
[19] उहाँ आत्मामा जानुभयो, र कैदमा भएका आत्माहरूलाई प्रचार गर्नुभयो,
[20] जसले धेरै अघि आज्ञा उलङ्घन गरेका थिए, जुन बेला नूहको समयमा जहाज बनिदै गर्दा परमेश्वरले धैर्यसाथ पर्खनुभएको थियो। जसमा केही मानिसहरू, अर्थात् जम्मा आठजना मानिसहरू पानीबाट बाँचेका थिए,
[21] अनि यो पानीले बप्तिस्मालाई सङ्केत गर्दछ, जसले तिमीहरूलाई पनि अहिले बचाएको छ; यसले शरीरबाट मैलो निकाल्ने होइन, तर यो परमेश्वरप्रतिको स्पष्ट विवेकको प्रतिज्ञा हो। यसले तिमीहरूलाई येशू ख्रीष्टको पुनर्जीवनद्वारा बचाउँदछ,
[22] ख्रीष्ट, जो स्वर्गमा जानुभएको छ, र परमेश्वरको दाहिने हाततिर बस्नुभएको छ। स्वर्गदूतहरू, अधिकारहरू तथा शक्तिहरू उहाँकै अधीनतामा राखिएका छन्।